एमाओवादी जनआन्दोलनको उपलव्धि समाप्त पार्ने षड्यन्त्रमा : काङ्ग्रेस

काठमाडौं, ७ माघ। नेपाली काङ्ग्रेसले एकीकृत माओवादी जनआन्दोलनबाट प्राप्त उपलव्धिलाई समाप्त पार्ने षड्यन्त्रमा लागेको बताएको छ।

माओवादीको सर्वसत्तावादको’ विरोधमा दलहरूले सुरु गरेको आन्दोलनलाई सशक्त पार्ने निर्णय समेत काङ्ग्रेस ले गरेको छ।

काङ्ग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले माओवादी सत्ता पनि नछाड्ने र चुनावमा पनि नजाने निरड्ढुश, सर्वसत्तावादी बनेको भन्दै उसलाई आन्दोलनको बलबाटै परास्त गर्नुपर्ने बताए।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै काङ्ग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले आन्दोलनको माध्यमबाट व्यापक जनदबाब सिर्जना गरेर नयाँ सहमतिको सरकार गठन गर्ने र संविधानसभाको निर्वाचनमा जानुपर्ने निर्णय काङ्ग्रेसले गरेको बताए। दलहरूले सुरु गरेको आन्दोलनलाई सफल  र सशक्त बनाउन काङ्ग्रेसले आफ्ना सबै नेतालाई जिल्ला पठाउने निर्णयसमेत गरेको छ। बैठकपछि जारी विज्ञप्तिका अनुसार वर्तमान सरकारको सर्वसत्तावादी, निरड्ढुश र स्वेच्छाचारी काम कारबाहीका विरुद्ध विपक्षी राजनीतिक दलहरूले गर्ने विरोध प्रदर्शनका कार्यक्रमलाई सफल बनाउन पार्टीका केन्द्रीय नेताहरू विभिन्न जिल्लामा जाने निर्णय गरिएको उल्लेख छ।

काङ्ग्रेस बैठकले नेपाल महिला सङ्घ र नेपाल तरुण दलका विधान परिमार्जनसहित महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको प्रस्तावलाई सुझाव समेटेर अनुमोदन गरिएको छ।

यस्तै, नेपाल आदिवासी जनजाति सङ्घको विधान परिमार्जनसहित अनुमोदन गरिएको छ।

यसैगरी केन्द्रीय समिति बैठकले नेपाल आदिवासी-जनजाति सङ्घलगायत विभिन्न संस्थाले दिएको ज्ञापनपत्रबारे सम्बोधन गर्न केन्द्रीय कार्यसमितिद्वारा गत असार ७ गते तत्कालीन केन्द्रीय सदस्य भीमबहादुर तामाङको संयोजकत्वमा गठित सुझाव समितिले पेश गरेको प्रतिवेदन पारित गरिएको विज्ञप्तिमा जनाइएको छ। आइतबारको बैठकमा उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, बालकृष्ण खाँण, डा. मीनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, एनपी साउद, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुङ्गाना, सूर्यमान गुरुङ, रामकुमार चौधरी, कमला पन्त, महेन्द्र यादव, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, किशोरसिंह राठौर र मीना सुब्बालगायतले आफ्नो धारणा राखेका थिए।

‘आत्तिएर’ सहमति च्यात्ने चेतावनी

नेपाली काङ्ग्रेसका नेता डा. प्रकाशशरण महतले विपक्षीहरूको आन्दोलनदेखि अत्तालिएर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिलेसम्मका सवै सहमति भाँड्ने चेतावनी दिएको टिप्पणी गरेका छन्। दाहालले शनिबार पोखरामा आयोजित कार्यक्रममा माओवादीलाई घेरा हालेर नयाँ चुनाव हुन नदिए १२ बुँदे सहमतिदेखि अहिलेसम्मका सवै सहमति भाँडिने चेतावनी दिएको भन्दै महतले त्यो चेतावनीलाई नागरिक त्रसित पार्ने भ्रामक हल्ला भएको उल्लेख गरे।

विपक्षीहरूको आन्दोलन नरोकिने र त्यही आन्दोलनको बलमा सरकार छाड्न माओवादी बाध्य हुने दाबी गरेका महतले विपक्षीहरूको आन्दोलनसँगै माओवादी नेतृत्वमा छटपटी सुरु भएको बताए।

दाङको तुल्सीपुरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै महतले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको सत्यनिरुपण आयोगसँग कुनै सम्बन्ध नहुने बताए। केन्द्रीय सदस्य चन्द्र भण्डारीले माओवादी सरकार विदेशीको इसारामा चलेको आरोप लगाए। माओवादी चुनाव गर्ने पक्षमा नभएको भन्दै उनले काङ्ग्रेस नेतृत्वको सरकारले मात्रै संविधानसभाको नयाँ चुनाव गराउने बताए।

- अादर्श समाज सम्वाददाता