१० औं कर्णेल जेपिक्रस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनल आज

पोखरा, ७ माघ। छात्रतर्फ डिफेण्डिङ च्याम्पियन मनकामना बोर्डिङ स्कुल र सरस्वती आदर्श विद्याश्रम लामाचौर तथा छात्रातर्फ डिफेण्डिङ च्याम्पियन माउण्ट अन्नपूर्ण उमावि र मनकामना बोर्डिङ स्कुल कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालामा जारी १० औं कर्णेल जेपिक्रस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। छात्रतर्फ आइतबार भएको पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेता मनकामनाले समूह बी को उपविजेता माउण्ट अन्नपूर्ण उमाविलाई ५३-४१ ले पराजित गर्‍यो। मनकामनाको जीतमा सुदीप पुनले सर्वाधिक २३ स्कोर गरे।

अको खेलमा समूह बी को विजेता सरस्वती आदर्श विद्याश्रमले समूह ए को उपविजेता कुमुदिनी होम्सलाई ६७-१८ ले पराजित गर्‍यो। सरस्वतीको जीतमा विश्वास गुरुङले सर्वाधिक २५ स्कोर गरेका थिए। छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेता मनकामनाले समूह बीको उपविजेता मेरीगोल्ड स्कुललाई ८-२ ले पराजित गर्‍यो। मनकामनाको जीतमा रीता पुनले सर्वाधिक छ स्कोर गरेका थिए।

दोस्रो खेलमा समूह बी को विजेता माउण्ट अन्नपूर्ण उमाविले समूह ए को उपविजेता टप्स उमाविलाई ३५-८ ले पराजित गर्‍यो। माउण्टको जीतमा एलिना पुनले सर्वाधिक २२ स्कोर गरेका थिए।

सोमबार बिहान आठ बजे छात्रातर्फ मेरीगोल्ड र टप्स उमाविबीच तथा नौ बजे छात्रतर्फ माउण्ट अन्नपूर्ण उमावि र कुमुदिनी होम्सबीच तेस्रो स्थानको लागि खेल हुनेछ। यसअघि बिहान भएको छात्रतर्फको लिगचरण खेलमा समूह ए को सरस्वती आदर्श विद्याश्रमले न्याशनल इन्भेन्टिभ उमाविलाई ४९-१३ ले पराजित गर्‍यो।सरस्वतीको जीतमा दीपेश पुनले सर्वाधिक १२ स्कोर गरेका थिए।

दोस्रो खेलमा समूह बी को मनकामनाले कुमुदिनी होम्सलाई ५७-३२ ले पराजित गर्‍यो। मनकामनाको जीतमा सुदीप पुनले सर्वाधिक १७ स्कोर गरेका थिए। तेस्रो खेलमा समूह ए को माउण्ट अन्नपूर्ण उमाविले बालकल्याण उमाविलाई ४७-१९ ले पराजित गर्‍यो। माउण्टको जीतमा तारा पुनले सर्वाधिक १७ स्कोर गरेका थिए।

छात्रातर्फ माउण्ट अन्नपूर्ण उमावि र मनकामनाबीच ११ बजे तथा छात्रतर्फसरस्वती आदर्श विद्याश्रम र मनकामनाबीच एकबजे उपाधिको लागि प्रतिस्पर्धा हुने प्रचार-प्रसार संयोजक धोजकुमार गुरुङले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता