एमाओवादी कास्कीको पाँचौँ एकता सम्मेलन सुरु निर्वाचनका लागि तयार नभए विगतका सम्झौता च्यातिदिन्छौ : दाहाल

पोखरा, ६ माघ। एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरू निर्वाचनमा जानका लागि तयार नभए विगतमा भएका सम्झौताहरू च्यातिदिने चेतावनी दिएका छन्।

अझै पनि दुर्इ-तीन दिनभित्र निर्वाचनका लागि सहमति हुन सके जेठ महिनामा निर्वाचन सम्भव हुने बताउँदै उनले सहमति र सम्झौताका लागि माओवादीले देखाएको लचकतालाई कमजोरी ठानिए नयाँ व्रि्रोहको अवस्था सृजना हुने बताए।

उनले एनेकपा माओवादीले निर्वाचनका लागि छिटो सहमति होस् भन्ने चाहिरहेको भए पनि आफूहरूलाई घेराबन्दी गरिएको उनको भनाइ थियो।

एनेकपा माओवादी कास्कीको पाँचौँ जिल्ला एकता सम्मेलनको पोखरामा शनिबार उद्घाटन गर्दै उनले निर्वाचनका लागि राष्ट्रपति, काङ्ग्रेस र एमालेले बाधा सृजना गरिरहेको आरोप लगाए। उनले निर्वाचन सम्वन्धी अध्यायदेश राष्ट्रपतिकहाँ अड्किएको र त्यसलाई स्वीकृत नगर्न काङ्ग्रेस र एमालेले उक्साइरहेको बताए।

अध्यक्ष दाहालले अबको निर्वाचनमा एमाओवादीले दुर्इ तिहाई बहुमत ल्याउने डरका कारण काङ्ग्रेस र एमाले निर्वाचनबाट भागिरहेको आरोप समेत लगाए। उनले माओवादीलाई चौतर्फीरूपमा घेराबन्दी गरी काङ्ग्रेस र एमालेले हलो अड्काएर गोरु चुटेझैं आफूहरूलाई दोष दिएको भन्दै आक्रोश व्यक्त गरे। ‘हलोलाई रुखको टुप्पामा बाँधेर राख्ने र गोरु हिँडेन भन्दै हामीलाई दोष दिइएको छ’-उनले भने-’यदि यस्तै अवस्थाको अन्त्य भएन भने काङ्ग्रेस र एमालेलाई ठेगान लगाउने दिशामा अबको महाधिवेशनले कार्यदिशा लिने छ।’

एमाओवादी अध्यक्ष दाहालले मोहन वैद्यले पार्टीले विभाजन गरी मुलुकभित्र वैदेशिक हस्तक्षेपको वातावरण बनाइदिएको आरोप लगाए। कहिलेकाहीँ पार्टीविभाजन हुनु ठीकै भए पनि अहिलेको अवस्थामा पार्टीविभाजन गरी राम्रो काम नगरेको उनको टिप्पणी थियो।

‘उहाँहरू –नेकपा(माओवादी) प्रति कहिले दया लाग्छ र कहिले आक्रोश बढ्छ’-उनले भने-’मुलुक जटिल अवस्थामा पुगेको समस्याबाट भाग्नु उचित थिएन।’ नेकपा-माओवादीले केही गर्न नसक्ने दाबी गर्दै उनले प्रतिक्रियावादीलाई हसाउन र खुशी पार्न मात्रै मोहन वैद्यले पार्टीविभाजन गरेको भन्दै मोहनविक्रमको भूत सवार भएको टिप्पणी गरे।  उनले जनताको साथबाट मात्र क्रान्ति सम्भव हुने भन्दै किताब पढेर क्रान्ति सफल नहुने कुरालाई मनन गरी पार्टीभत्र नै र्फकन मोहन वैद्यको समूहलाई आÞवान गरे।

एनेकपा माओवादीका उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणप्रति सड्ढेत गर्दै काङ्ग्रेस र एमालेले द्वन्द्वकालमा आफूलाई मन लागेका मुद्दालाई षड्यन्त्रपूर्वक उचालिरहेको आरोप लगाए।

‘दोषीलाई कारबाही गर्नुहुँदैन भन्ने पक्षमा सरकार छैन’-प्रधानमन्त्री भट्टराईले भने-’तर द्वन्द्वकालका घटनाहरूको छिनोफानो सत्य निरूपण तथा मेलमिलाप आयोगबाट लगाउनुपर्छ भन्ने हो।’

उनले द्वन्द्वकालमा काङ्ग्रेस र एमालेले सरकारमा रहँदा राज्यपक्षबाट पनि हत्याको शृङ्खला मच्चाएको भन्दै ती घटनामा काङ्ग्रेस र एमाले जिम्मेवार रहेको बताए। द्वन्द्वकालका घटनालाई उचालेर सिसाको घरमा ढुङ्गा नहान्न उनले काङ्ग्रेस र एमालेलाई चेतावनी दिए। ‘तपाईंहरू-काङ्ग्रेस र एमाले) जिम्मेवार बन्नुपर्छ’-उनले भने-’आफूलाई मन लागेका द्वन्द्वकालका घटनालाई उचालेर हिँड्ने हो भने अवस्था अर्कै बन्छ।’

चिप्लेढु·ामा खचाखच भरिएका कार्यकर्ता र दर्शकको माझमा प्रधानमन्त्री डा. भट्टराईले आफू प्रधानमन्त्री बनेपछि काङ्ग्रेस र एमालेले काम गर्न नदिएका कारण जनताको इच्छा र चाहनालाई पूरा गर्न नसकेको बताए।’ आफूलाई काम गर्न दिए १० वर्षभित्र जनचाहना अनुसारको काम गरी मुलुकमा आमूल परिवर्तन गरी देखाइदिने उनको भनाइ थियो।

‘म प्रधानमन्त्री बनेपछि नयाँ नीति, योजना र बजेट ल्याउन पाइनँ’-उनले भने-’मैले गर्न नचाहेको हैन तर गर्न दिएनन्।’ परिवर्तन देख्न नचाहनेले आफ्नो आलोचना गरी भ्रम सृजना गरिरहेको आरोप लगाउँदै उनले परिवर्तनको योजनालाई भने नछाड्ने बताए।  एमाओवादीका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकले निकास नपाए एमाओवादीको आउँदो महाधिवेशनसँगै मुलुलकलाई नयाँ ढ·बाट निकास दिइने दाबी गरे। यद्यपि उनले महाधिवेशनअगावै मुलुकलाई निकास दिनका लागि एमाओवादी दृढ रहेको बताए। उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले जनचाहनाअनुसार काम गर्न नसकेकोप्रति आत्मालोचना गर्न आफूहरू तयार रहे पनि सरकारमा रहेसम्म जनपक्षीय काम गर्न प्रयास गरिरहेको बताए।

‘एनेकपा माओवादीले क्रान्ति छोड्दैन’-उनले भने-’एमाओवादीले क्रान्ति नछाड्ने र जनताले एमाओवादीलाई साथ दिइरहने अवस्था देखेर केही दलहरू आत्तिएका छन्।’

तमुवान राज्य समितिका संयोजक डिलाराम आचार्यले राष्ट्रपतिले मुलुकको निकासका लागि अभिभावक भएर भन्दा पनि नेता तथा कार्यकर्ताका रूपमा काम गरिरहेको आरोप लगाए।

निवर्तमान सभासद् दुर्गा विकले युद्धकालमा भएका घटनालाई निहूँ बनाउने हो भने शान्ति प्रक्रिया नै धरापमा पर्ने बताइन्। कार्यक्रममा शहीद तथा बेपत्ता परिवारजनलाई सम्मान गरिनुको साथै कास्कीमा माओवादीको अभियानलाई सफल बनाउन योगदान पुर्‍याएको भन्दै कोमल बराल, गोमा पौडेल, देवानसिंह विक र मोहनसिंह आलेलाई सम्मान गरिएको थियो। सोही कार्यक्रममा एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले कास्की लेखनाथ नगरपालिका-४ बरालडाँडा निवासी कोमल बरालद्वारा लिखित प्रचण्डपथीय यात्रा संस्मरणको विमोचन गरेका थिए।  एनेकपा माओवादी कास्की जिल्ला सम्मेलन आयोजक समितिका संयोजक झलकपाणि तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य अमर तमुले स्वागत र निवर्तमान सभासद् राजकाजी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

के होला एमाओवादी कास्कीमा ?

एनेकपा माओवादी कास्कीमा २१ वर्षपछि हुन लागेको पाँचौं एकता जिल्ला सम्मेलनमा के होला भन्नेबारे यतिवेला राजनीति गर्नेदेखि राजनीतिमा चासो राख्नेहरूको ध्यान केन्द्रित भएको छ। भर्खर पार्टीफुटेको अवस्था र सम्मेलनमा हुन सक्ने प्रतिस्पर्धाका कारण ध्यान केन्द्रित हुनु पनि स्वभाविकै हो।

तर २१ वर्षपछि महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि चयन गरिने भए पनि सर्वसम्मत हुने दाबी कास्कीका एक जिम्मेवार नेताले गरेका छन्। उनी भन्छन्-’महाधिवेशन प्रतिनिधि सर्वसम्मतरूपमा नै चयन गरिने छ।’

‘महाधिवेशन प्रतिनिधिका लागि सबैभन्दा पहिले सम्मेलन आयोजक समितिले नाम प्रस्ताव गर्ने छ’-ती जिम्मेवार नेताले भने-’प्रस्ताव गरिएका नामहरूमा सर्वसम्मत हुन नसके वा बढीले महाधिवेशन प्रतिनिधिका लागि इच्छा जनाए छलफल गरिने छ, त्यसो गर्दा पनि सम्भवमा नभए मात्र मतदान गरिने छ।’

‘तर पनि विचार समूहका आधारमा प्रतिनिधिहरू विभाजित हुने छैन’-स्रोत भन्छ-’वैद्य समूहले नयाँ पार्टीगठन गरिसकेपछि पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई नेपाली क्रान्तिलाई कसरी सफल बनाउने भन्ने विषयमा एकमत छन्, त्यसैपनि विचारका आधारमा कुनै लडाइँ हुने छैन।’

पालुङटार बैठकसम्म दाहाल, भट्टराई र वैद्यबीच विचार समूहको लडाइँ रहे पनि वैद्य समूहले पार्टीछाडिसकेपछि विचार समूहबीचको लडाइँ सकिएको बताइएको छ। पालुङटार बैठकमा वैद्यको दस्तावेजमा समर्थन गरेका कास्कीका नेता तथा कार्यकर्ताहरू समेत पार्टीफुट्ने अवस्थामा संस्थापन पक्षमा नै रहेको दाबी गरिएको छ। सम्मेलनमा प्रतिनिधि र पर्यवेक्षक गरी सात सय १० जना सहभागी छन्। सम्मेलनले आइतबार साँझसम्ममा २७ जना महाधिवेशन प्रतिनिधि चयन गर्ने छ। यसअघि २०४८ सालमा चौथौ जिल्ला सम्मेलन भएको थियो। शनिबार साँझदेखि नै सुरु भएको सम्मेलनको बन्द सत्रमा आइतबार बिहानदेखि महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथि छलफल गरिने बताइएको छ। एनेकपा माओवादीको सातौ महाधिवेशन माघ २० देखि २५ गतेसम्म हेटौंडामा हुँदैछ।

- अादर्श समाज सम्वाददाता