प्रजातन्त्र बलियो भए मात्रै शान्ति स्थापना : घर्ती

पोखरा, ६ माघ। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले प्रजातन्त्र बलियो भएमात्रै देशमा शान्ति स्थापना हुने बताएका छन्। नेपाल दलित सङ्घ कास्कीको पाँचौ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै घर्तीले यस्तो बताएका हुन्।

उनले देशमा प्रजातन्त्र कमजोर हुँदै गएकाले शान्ति स्थापना हुन नसकेको उल्लेख गर्दै प्रजातन्त्रलाई बलियो बनाउनका लागि काङ्ग्रेस नै एक मात्र राजनीतिक शक्ति रहेको जिकिर गरे।

‘अहिले एकीकृत नेकपा माओवादीले प्रजातन्त्रलाई कमजोर बनाएको छ’-उनले भने-’प्रजातन्त्रलाई बलियो बनाउनका लागि अब काङ्ग्रेस जुर्मुराउनुपर्दछ।’

उनले सत्यनिरुपण आयोग बनाउनका लागि काङ्ग्रेस बाधक नबनेको स्पष्ट पारे। ‘सत्यनिरुपण आयोग बनाउनका लागि काङ्ग्रेस बाधक बनेको छैन’-उनले भने-’१२ बुँदे समझदारीमा रहेर आयोग बनाउन काङ्ग्रेस सधैँ तयार छ।’

प्रजातन्त्रमा मात्रै दलितहरूको उत्थान हुने भन्दै दलित सङ्घले गाउँगाउँमा गएर प्रजातन्त्रको विगुल फुक्नुपर्ने बताए। अर्का केन्द्रीय सदस्य जीवन परियारले दलितहरूको उत्थान गर्ने एक मात्र पार्टीकाङ्ग्रेस भएको भन्दै सम्पूर्ण दलितलाई काङ्ग्रेसमा आउन आग्रह गरे।

नेपाल दलित सङ्घका अध्यक्ष खड्गबहादुर वस्यालले दलितहरूको अधिकार संरक्षण गर्नका लागि सम्पूर्ण दलित एक हुनुपर्नेमा जोड दिए।

काङ्ग्रेस नेता शुक्रराज शर्माले दलितहरू वर्ग उत्थानका लागि एकजुट हुन आग्रह गरे। कार्यक्रममा नेपाली काङ्ग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, काङ्ग्रेसका नेता खेमराज शर्मा, दलित सङ्घका कार्यबाहक महासचिव प्रकार स्नेही, केन्द्रीय प्रतिनिधि इश्वर परियार, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य आनन्ददेवी राणा, निवर्तमान सचिव शारदा पौडेल, महासमिति सदस्य सोभियतबहादुर अधिकारी, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दोबाटे विश्वकर्मा, दलित विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष अम्मर विश्वकर्मा, महाधिवेशन प्रतिनिधि हरिबहादुर परियार, दलित सङ्घ कास्कीका सल्लाहकार दुर्गाबहादुर सुनार, दलित सङ्घ क्षेत्र नं. ४ का सभापति उदय नेपाली, क्षेत्र नं. ३ का सभापति देवीराम छन्त्याल, क्षेत्र नं. २ का सभापति दुर्गा सुनार, क्षेत्र नं.१ का सभपाति तिलबहादुर सुनारले बोलेका थिए।

नेपाल दलित सङ्घ कास्कीका सभापति परशुराम बी. पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक भवे सार्कीले स्वागत र सचिव विष्णुकुमार दर्जीले कार्यक्रम सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता