११ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा के.सी.द्वारा पत्रकार डेकेन्द्र थापाको परिवारलाई ५१ हजार सहयोगको घोषणा

पोखरा, ६ माघ। सहारा क्लब पोखराको आयोजनामा यही माघ ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने ११ औं आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०६९ को तयारी पूरा भएको छ।

पोखरा र·शालामा सञ्चालन हुने सो प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, थ्री स्टार क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, आरसीटी, त्रिभुवन आर्मी क्लब, फ्रेण्डस् क्लब, धरान फुटबल क्लब, गोर्खा ब्रिगेड फुटबल टीम, भारत, साउदर्न समिति एफसी, कोलकाता र आयोजक सहारा क्लब पोखरा गरी १२ टीमको सहभागिता रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

मनाङ डिफेण्डिङ च्याम्पियन हो भने जावालखेल उपविजेता टीम हो।उद्घाटन खेल गत वर्षको उपविजेता जावलाखेल युथ क्लब र धरान फुटबल क्लबबीच हुने स्रोतले जनाएको छ।

हिमश्री फूड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने सो प्रतियोगिताको विजेता टीमलाई नगद तीन लाख ५१ हजार तथा उपविजेता टीमलाई नगद दुर्इ लाख एक हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

प्रतियोगिताको लागत रु. ६१ लाख ९२ हजार एक सय अनुमान गरिएको छ। प्रतियोगिता  म्यान अफ दी म्याच ट्रफीको प्रायोजन सहारा युके साथै नगद पुरस्कार प्रायोजन स्वर्गीय रञ्जन थापाको स्मृतिमा उनका पिता शिव थापाले गरेका छन्।

उत्कृष्ट खेलाडीलाई  टिभिएस र सहारा युकेको प्रायोजनमा टि.भि.एस. मोटरसाइकल प्रदान गरिने छ। सर्वाधिक गोलकर्तालाई पुरस्कार नगद १५ हजार प्रदान गरिनेछ। त्यसको पुरस्कार पोखरा उप-महानगरपालिकाले प्रायोजन गरेको छ। यस्तै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकरलाई जनही १० हजार प्रदान गरिने छ।पाँ विधाको नगर कलर्स मोबाइल तथा ट्रफी सहारा युकेले प्रायोजन गरेको छ।फेयर प्ले टीमलाई इमोन क्याफेद्वारा प्रायोजित नगद पाँच हजार पुरस्कार र ट्रफी प्रदान गरिने छ। साथै प्रत्येक क्लबलाई एक खेल खेलेबापत अतिरिक्त रकम प्रिक्वाटर विजेता टीमलाई १० हजार र पराजित टीमलाई पाँच हजार, क्वाटरफाइनल विजेता टीमलाई १५ हजार र पराजित टीमलाई १० हजार तथा सेमिफाइनल विजेता, उपविजेता टीमलाई २० हजार उपलब्ध गराइने क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक वीरभद्र आचार्यले जानकारी दिए।

क्लबले ११ औ संस्करणमा विगतका प्रतियोगितामा झै यस वर्ष पनि एक लाख रुपैयाँ बराबरको रारा चाउचाउ निःशुल्क गेट टिकटमा वितरण गर्नुको साथ साथै गेट टिकटमा पुरस्कारको व्यवस्था गरेको छ।

उक्त पुरस्कार प्रतियोगिता अवधिभरमा काटिएका टिकटलाई गोलाप्रथाबाट छनौट गरी एक जना दर्शकलाई २१ इन्चको एलजी कलर टिभी प्रदान गरिनेछ भने दैनिकरूपमा काटिएका टिकटबाट गोलाप्रथाद्वारा छनौट गरी एक जना दर्शकलाई कलर्स मोबाइल पुरस्कार प्रदान गरिने छ।

प्रतियोगितामा सिजनल टिकट एक हजार, पहिलो चरणका खेलको लागि ५०, दोस्रो चरणको खेलका लागि ७० तथा सेमिफाइनल र फाइनल खेलका लागि एकसय रुपैयाँको टिकट व्यवस्था गरिएको क्लबका महासचिव केशवबहादुर थापाले जानकारी दिए।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजक हिमश्री फूड्स प्रालिका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले आफूले खेलकुदको विकास र विस्तारमा समाजसेवाको हिसाबले सहयोग गर्दै आएको बताए।

उनले सहारा र हिमश्री फूड्स् प्रालिलाई पत्रकारहरूले चिनाएको दाबी गर्दै पत्रकारहरूको हत्यारालाई कुनै पनि बहानामा माफी दिन नहुने बताए।

सो अवसरमा उनले डेकेन्द्र थापाको परिवारको शिक्षादीक्षाको लागि सम्पूर्ण सङ्घसंस्थाले ध्यान दिनुपर्ने भन्दै कम्पनीको तर्फबाट ५१ हजार सहयोग गर्ने घोषणा गरे। कार्यक्रममा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, सहारा युकेका सल्लाहकार महेश गुरुङले पनि प्रतियोगिता सफलताको कामना गरेका थिए।

क्लबका अध्यक्ष विक्रम थकालीले गोर्खा ब्रिगेड भारतीय सेनामा भर्ती भएको नेपाली खेलाडीहरूको टीम हो भने साउदर्न समिति भारतको बी डिभिजन क्लब भएको जानकारी दिए। सो अवसरमा सहारा एकेडेमी निर्माणको लागि सहारा युकेका रमेश बास्तोलाले नगद एक लाख, डा. चन्द्रबहादुर गुरुङले २५ हजार तथा बुद्धिमान गुरुङ धम्पु र भूमाया थापाले जनही १० हजार सहयोग गरेका थिए।यस्तै आयोजक टीमको जर्सीपनि हस्तान्तरण गरिएको थियो।

- अादर्श समाज सम्वाददाता