१० औं कर्णेल जेपिक्रस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा छात्रातर्फ लिगचरणका खेल सम्पन्न

पोखरा, ६ माघ। कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरा र·शालामा जारी १० औं कर्णेल जेपिक्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिताअन्तर्गत छात्रातर्फ लिगचरणका खेल सम्पन्न भएका छन्।

जसअनुसार समूह ए बाट मनकामना बोर्डिङ स्कुल विजेता र टप्स उपविजेता तथा समूह बी बाट माउण्ट अन्नपूर्ण उमावि विजेता र मेरीगोल्ड उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन्।

आइतबार मनकामना र मेरीगोल्ड तथा माउण्ट अन्नपूर्ण र टप्स उमाविबीच सेमिफाइनल खेल हुनेछ।एक खेल पनि नजितेको सरस्वती आदर्श विद्याश्रम लिगचरणबाटै बाहिरिएको छ। छात्रतर्फ समूह ए बाट सरस्वती आदर्श विद्याश्रम र समू बी बाट मनकामना बोर्डिङ स्कुल सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।  शनिबार नौ खेल सम्पन्न भए।छात्रतर्फको पहिलो खेलमा समूह बी को कुमुदिनी होम्सले टप्स उमाविलाई १९-१३ ले पराजित गर्‍यो। कुमुदिनीको जीतमा अनिश शाहीले सर्वाधिक छ स्कोर गरेका थिए। दोस्रो खेलमा समूह ए को सरस्वती आदर्श विद्याश्रम लामाचौरले माउण्ट अन्नपूर्ण उमाविलाई ४३-२१ ले पराजित गर्‍यो।सरस्वतीको जीतमा विश्वास गुरुङले सर्वाधिक २३ स्कोर गरेका थिए।

तेस्रो खेलमा समूह बी को कुमुदिनी होम्सले मेरीगोल्ड स्कुललाई ३२-२४ ले पराजित गर्‍यो। कुमुदिनीको जीतमा अमिर पुनले सर्वाधिक १२ स्कोर गरेका थिए। चौथो खेलमा डिफेण्डिङ च्याम्पियन समूह बी को मनकामना बोर्डिङ स्कुलले टप्स उमाविलाई ५८-१२ ले पराजित गर्‍यो।  मनकामनाको जीतमा गिमेन पुनले सर्वाधिक २३ स्कोर गरेका थिए। पाँचौं खेलमा समूह ए को माउण्ट अन्नपूर्ण उमाविले न्याशनल इन्भेन्टिभलाई ४४-१४ ले पराजित गर्‍यो।

माउण्टको जीतमा तारा पुनले सर्वाधिक २० स्कोर गरेका थिए।छैटौं खेलमा समूह बी को टप्स उमाविले मेरीगोल्ड स्कुललाई २१-२० ले पराजित गर्‍यो। सो खेलमा मेरीगोल्डका नवराज गुरुङले सर्वाधिक आठ स्कोर गरेका थिए।

छात्रातर्फको पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन समूह बी को माउण्ट अन्नपूर्ण उमाविले सरस्वती आदर्श विद्याश्रमलाई १८-५ ले पराजित गर्‍यो।माउण्टको जीतमा दिव्या गुरुङले सर्वाधिक ११ स्कोर गरेकी थिइन्। दोस्रो खेलमा माउण्ट अन्नपूर्ण उमाविले मेरीगोल्ड स्कुललाई ४७-८ ले पराजित गर्‍यो। माउण्ट अन्नपूर्णको जीतमा एलिना पुनले सर्वाधिक १८ स्कोर गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता