‘श्रमजीवी पत्रकारका समस्यामा केन्द्रित होऊ’

पोखरा, ५ माघ। कास्कीका पत्रकारहरूले नेपाल पत्रकार महासङ्घ कास्कीलाई श्रमजीवी पत्रकारहरूको समस्या समाधान र व्यवसायिक पत्रकारिताको विकासमा केन्द्रित हुन सुझाव दिएका छन्।

शुक्रबार सम्पन्न शाखाको नवौ साधारणसभामा बोल्ने अधिकांश पत्रकारहरूले नेपाल पत्रकार महासङ्घले पत्रकारहरूको साझा संस्थाको रूपमा सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिएका थिए। साधारणसभामा पत्रकारहरूले सञ्चार प्रतिष्ठान सञ्चालन गर्ने पत्रकारहरूले नै श्रमजीवी पत्रकार ऐन लागू नगरेको गुनासो गरे।

साथै उनीहरुले महासंघ कास्कीको योजनाअनुसारको तीन तला भवन पूरा गर्नुपर्ने र पत्रकार महासंघको विधानमा केन्द्रीय समितिको प्रत्यक्ष निर्वाचन प्रणाली हुनुपर्ने सुझाव पेश गरेका थिए।

स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारिता राजनीतिक हतियारको रूपमा प्रयोग हुन नहुने विचार व्यक्त गरे। उनले पत्रकारहरूको व्यवसायिक सुरक्षा र पेशागत मर्यादालाई एकसाथ सम्बोधन गर्नुपर्ने राय राखेका थिए।

नेपाल ज्योतिष पत्रकार सङ्घका अध्यक्ष डा. बलराम उपाध्याय रेग्मीले ज्योतिषलगायत सबै क्षेत्रका पत्रकारलाई तालिमलगायतका सुविधा र अवसर समानुपातिक रूपमा उपलब्ध गराउन माग गरे।

पत्रकार प्रेमनारायण न्यौपानेले कार्यक्रममा शाखाका सचिवको प्रतिवेदनमा श्रमजीवी शब्दसम्म समावेश हुन नसक्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका थिए।

कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, भवन निमार्णसमितिका संयोजक गंगाधर पराजुली, पत्रकारहरू दीपेन्द्र श्रेष्ठ, हिमनिधि लौडारी, भरत कोइराला,र्र् इश्वरी न्यौपाने, गोविन्द सुवेदी, फडिन्द्र अकिञ्चनलगायतले बोलेका थिए।

साधारणसभाले कास्की शाखाका सचिव त्रिभुवन पौडेलले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र कोषाध्यक्ष डि. आर. शर्माले प्रस्तुत गरेको कोषाध्यक्षको सुझावसहित प्रतिवेदन पारित गरेको छ।

कास्की शाखामा हाल दुर्इ सय ६० सदस्य रहेका छन्। यसअघि गत माघ २८ गते  आयोजना गरिएको शाखाको साधारणसभा गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको थियो।

- अादर्श समाज सम्वाददाता