बार अध्यक्षमा प्रगतिशील समूहका कार्की विजयी, परिणाम मिश्रति

काठमाडौं, ४ माघ। कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका हरिकृष्ण कार्की विजयी भएका छन्।

गत शनिबार भएको मतदानको विहीबार सकिएको मत गणनामा निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक समूहका शेरबहादुर केसीलाई ७५ मतले पछि पार्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन्।

कार्कीले तीन हजार दुर्इ सय ५७ मत पाए भने केसीले तीन हजार एक सय ८२ मत प्राप्त गरे। सङ्घीयतावादी समूहका सुरेन्द्र थापा मगरले दुर्इ सय ४९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

१७ सदस्यीय कार्यसमितिको पाँच उपाध्यक्षमध्ये पूर्वाञ्चलबाट प्रजातान्त्रिक समूहका जनक पाण्डे निर्वाचित भएका छन् भने प्रगतिशील समूहका तर्फबाट मध्यमाञ्चलबाट टीकाराम भट्टराई, पश्चिमाञ्चल अनिता गुरुङ, मध्यपश्चिम पदमप्रसाद वैदिक र सुदूरपरिश्चम राजेन्द्रबहादुर साउद विजयी भएका छन्।

महासचिवमा प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेल विजयी भएका छन्। पोखरलेले तीन हजार पाँच सय पाँच र प्रगतिशील समूहका दिनमणि पोखरेलले दुर्इ हजार सात सय २२ मत प्राप्त गरेका छन्।

त्यस्तै, कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका मोहन इङनामले प्रगतिशील समूहका हरिन्द्रप्रसाद राईलाई पराजित गरे। इङनामले तीन हजार दुर्इ सय ४१ र राईले दुर्इ हजार नौ सय १८ मत प्राप्त गरे।

बारको सदस्यमा राजेन्द्र शंकर तिमिला, गणेशप्रसाद अधिकारी, सागर विष्ट, प्रसन्नकृष दास, विनिता कार्की, लक्ष्मीदेवी दाहाल रावल, केदारप्रसाद कोइराला, सरस्वती श्रेष्ठ र राज्यलक्ष्मी बज्राचार्य विजयी भएका छन्। तिमिला, अधिकारी, विष्ट, दास, कार्की र रावल लोकतान्त्रिक तथा कोइराला, श्रेष्ठ र बज्राचार्य प्रगतिशील समूहका छन्।

एमाले र एकीकृत नेकपा माओवादी निकट कानुन व्यवसायी मिलेर चुनाव लडे पनि प्रगतिशील समूहका महासचिवका उम्मेदवार माओवादी निकट कानुन व्यवसायी दिनमणि पोखरेल पराजित भए।

अध्यक्षमा निर्वाचित भएपछि कार्कीले संवैधानिक पदपूति, स्वतन्त्र न्याय सम्पादनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।१७ सदस्यीय केन्द्रीय समितिका लागि प्रजातन्त्रवादी, प्रगतिशील-गणतान्त्रिक र आदिवासी जनजाति समूहबाट ४५ जनाले उम्मेदवारी दिएका थिए।

निर्वाचनमा आठ हजार २९५ मतदातामध्ये छ हजार ९४८ मतदाता अर्थात् ८३ दशमलव ७६ प्रतिशतले मतदान गरेका थिए।

- अादर्श समाज सम्वाददाता