डेकेन्द्र हत्याको अनुसन्धानका लागि १२ दिन म्याद थप

काठमाडौं, ४ माघ। पत्रकार डेकेन्द्रराज थापाको हत्याको अनुसन्धानका लागि १२ दिनको म्याद थप भएको छ। दैलेख जिल्ला अदालतले बिहीबार थापाको हत्या अभियोगमा पक्राउ परेका पाँच अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गर्न १२ दिनको म्याद थप गरेको हो।

यसअघि दुर्इ पटक म्याद थप गरिएपनि महान्यायाधिवक्ता मुक्ति प्रधानले अनुसन्धान रोक्न आदेश दिँदै पत्र लेखेपछि अभियुक्तको बयान हुन सकेको थिएन।

सर्वोच्च अदालले अनुसन्धान नरोक्न आदेश दिएपछि अभियुक्तको व्यान लगायत अनुसन्धानका लागि प्रहरीले १२ दिनको समय माग गरेको डीएसपी शरदाप्रसाद चौधरीले जानकारी दिए। पत्रकार थापाको द्वन्द्वकालमा २०६१ साउन २७ गते माओवादीबाट हत्या भएको थियो।

यसैबीच, युरोपेली युनियनले महिला हिंसा वा अन्य अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउन नेपाल सरकारको ध्यानकर्षण गराएको छ।

युरोपली युनियनका सदस्य राष्ट्रहरू बेलायत, फ्रान्स, डेनमार्क फिनल्याण्ड जर्मनी नर्वे स्वीजरल्याण्डका नेपालस्थित राजदूतहरूको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै अपराधीलाई संरक्षण नभई कारबाही गरी मानवअधिकारको रक्षा गर्न सरकारलाई आग्रह गरेका हुन्।

विज्ञप्तिमा जुनसकै नाममा हुने अपराध र हिंसालाई स्वीकार्न नसकिने भन्दै त्यसलाई अपराधलाई कानुनबमोजिम कारबाही गरेर नगरिकमा सुरक्षाको प्रत्याभूति दिनुपर्ने जनाएको छ। यसैगरी प्रस्तावित सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगलाई तत्काल मूतरूप दिन पनि इयूले आग्रह गरेको छ। यसैबीच, पत्रकार डेकेन्द्र थापाको हत्यारालाई कारबाहीको माग गर्दै प्रेस चौतारी नेपालले बिहीबार राजधानीमा साङ्ले जुलुस प्रदर्शन गरेको छ।

राजधानीको भृकुटी मण्डपबाट पत्रकारहरूले आँखामा कालोपट्टी बाँधेर साङ्लो बनाएर निस्किएको जुलुस शहीद गेट हुँदै शान्ति वाटिमा कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले पत्रकार डेकेन्द्र थापाका हत्याका आरोपिहरूमाथिको कारबाही सुनिश्चित भए पनि अझै त्यस क्षेत्रका पत्रकारहरू असुरक्षित रहेको उल्लेख गर्दै पत्रकारको सुरक्षाको माग गरे।

उनले महासङ्घले डेकेन्द्रको मात्रै मुद्दा नउठाइ सबै पत्रकारले न्याय र सुरक्षा पाउनुपर्ने पक्षमा रहेको भन्दै जारी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रेस चौतारीका अध्यक्ष गगन विष्टले डेकेन्द्र थापाका हत्याराका आरोपीलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने उद्घोष गर्दै सबै पत्रकार हत्याको छानबिन र बेपत्ताको खोजी गर्नुपर्ने माग गरे।

- अादर्श समाज सम्वाददाता