नेपाली काङ्ग्रेसको विरोध सभा

पोखरा, ४ माघ। सरकार निरंकुशता र सर्वसत्तावादतर्फ उन्मुख रहेको, पत्रकार डेकेन्द्र थापाको हत्यारा तथा विभिन्न हिंसाका घटनामा संलग्नलाई संरक्षण गरेको भन्दै नेपाली काङ्ग्रेसले देशभरजस्तै शुक्रबार पोखरामा पनि विरोध सभा सम्पन्न गरेको छ।

नेपाली काङ्ग्रेस कास्कीको व्यवस्थापन तथा तरुण दल, महिला सङ्घ, नेविसङ्घ, दलित सङ्घ, नेपाल किसान सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घलगायतका भ्रातृ स·ठनको संयोजनमा विरोध र्‍याली तथा सभा सम्पन्न गरिएको हो।

जिल्ला पार्टीकार्यालय चिप्लेढुङ्गाबाट सुरु भएको विरोध र्‍याली सरकार विरोधी विभिन्न नारासहित भीमसेनचोक, बीपीचोक हुँदै मानवअधिकारचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो।

नेपाल दलित सङ्घ कास्की सभापति परशुराम बी. पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस कास्कीका पूर्व सभापति शुक्रराज शर्माले एमाओवादीले सहमतीय सरकार गठन र निर्वाचनको सम्भावना टारेर सत्ता लम्ब्याउन खोजेको तथा दण्डहीनतालाई प्रश्रय दिएको बताए।

कास्की जिल्ला सभापति यज्ञबहादुर थापाले सरकार सहमतिको बाधक भएको र सर्वसत्तावादतर्फ उन्मुख भएकाले नेपाली काङ्ग्रेस सडकमा ओर्र्लिएको बताए।

कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति सोभियतबहादुर अधिकारी, नेविसङ्घ केन्द्रीय सदस्यद्वय सरोज केसी र गोविन्द लामिछाने, महिला सङ्घ कास्की उपसभापति कोपिला रानाभाट, नेपाल आदिवासी जनजाति सङ्घ कास्की संयोजक अशोक भट्टचन, तरुण दल कास्की सचिव पदम बस्ताकोटीलगायतले भट्टराई सरकारलाई सडक आन्दोलनबाटै सत्ताच्यूत गराउने बताए।

- अादर्श समाज सम्वाददाता