छत्तिसगढ विरुद्धको टि(ट्वान्टी क्रिकेट शृङ्खलामा माछापुच्छ्रे क्रिकेट क्लब विजयी

पोखरा, ४ माघ। पोखराको माछापुच्छ्रे्र क्रिकेट क्लबसँग मैत्रीपूर्ण क्रिकेट खेल्न आएको भारतको टोली पराजित भएको छ। घरेलु टोली पोखराले आठ खेलको टी-ट्वान्टी क्रिकेट शृङ्खला ६-२ ले कब्जा गरेको हो।

पोखराले पाहुना टोली छत्तिसगढलाई जुनियर, सब-जुनियर र सिनियर गरी तीनवटा इभेन्टमध्ये जुनियरमा २-० ले तथा सिनियर र सव जुनियरमा २-१ ले पराजित गर्दै नतिजा आफ्नो पोल्टामा पारेको हो। प्रतियोगितामा माछापुच्छ्रेका कप्तान दिपेश खत्री बेष्ट ब्याट्स्म्यान र म्यान अफ द सिरिज भए। सोही क्लबका पुजन पाण्डे उत्कृष्ट बलर भए भने सन्देश गौचन र विराट दाहालले उदीयमान खेलाडीको उपाधि जिते। अम्पायर निरज केसीलाई पनि सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो।

प्रतियोगिताका विजयी टोली एवं खेलाडीलाई नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछाने र पत्रकार नवराज बरालले पुरस्कार वितरण गरे।

पुरस्कार वितरण गर्दै मञ्चका अध्यक्ष लामिछानेले भारतबाट बेलाबखत मैत्रीपूर्ण क्रिकेट खेल्न पोखरा आउने टोलीले यहाँको क्रिकेट विकासका साथै खेल पर्यटनमा समेत वृद्धि गरेको बताए।

उनले पटक-पटक भारतको टोली पोखरासम्म ल्याउन समन्वयकारी भूमिका निर्वाह गरेकोमा पोखराका सन्तोषकुमार श्रेष्ठलाई धन्यवाद समेत दिए।

छत्तिसगढ टोलिका प्रतिनिधि मृगंक सिन्हाले नेपाली क्रिकेटले छिट्टै नै प्रगतिको बाटो लिएको भन्दै पोखराका खेलाडीहरूले गरेको जुझारु प्रदर्शनले आफूहरूलाई समेत उर्जा मिलेको बताए।

त्यस्तै, टोली समन्वयकर्ता सन्तोषकुमार श्रेष्ठले यहाँ आएका विदेशी टीम र खेलाडीमाथि प्रतिद्वन्द्वीभन्दा पनि पाहुनाको रूपमा व्यवहार गरिनुपर्ने बताए। उनैको समन्वयमा यहाँ वाषिर्क पाँचदेखि सातवटा भारतीय टोली आउने गरेका छन्। भारतको केरला, आन्द्राप्रदेश, भुपाल,पुने, पञ्जाब, हरियाणा, मुम्बै, छत्तिसगढ लगायतका स्थानबाट वर्षेनी मैत्रीपूर्ण खेल खेल्न उनीहरू पोखरा आउने गरेका हुन्।

- अादर्श समाज सम्वाददाता