लेखनाथ महोत्सवमा कृषिका स्थानीय उत्पादन प्रदर्शन हुने

लेखनाथ, ४ माघ। यही माघ २६ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने नवौं लेखनाथ महोत्सव २०६९ अन्तर्गत गठित कृषि प्रदर्शनी उपसमितिको बैठक बुधबार सम्पन्न भयो।

बैठकमा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सवका मूल संयोजक सुमन भट्टराईले स्थानीय उत्पादनलाई प्राथमिकता दिइने र लेखनाथ महोत्सवको प्राथमिकताको रूपमा रहेको कृषि प्रदर्शनीलाई प्रभावकारी र व्यवस्थित बनाउन सबैलाई आग्रह गरे।

सङ्घका द्वितीय उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक लक्ष्मीप्रसाद त्रिपाठी, महासचिव बाबुराम गिरी, कोषाध्यक्ष बलराम ढकाल, कार्यसमिति सदस्य सुरजंग राणालगायतले महोत्सवको सुरूवात नै कृषिको सुन्तला प्रदर्शनीबाट गरिएको भन्दै महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको कृषि प्रदर्शनीलाई सफल बनाउन आग्रह गरे।

कृषि प्रदर्शनी उपसमितिका संयोजक दयाराम तिवारीको अध्यक्षतामा भएको बैठकमा मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख जयदेव बिष्ट, वरिष्ठ अधिकृत रामकुमार श्रेष्ठ, पशु सेवा केन्द्र शिशुवाका ठगेन्द्रप्रसाद अर्याल, कृषि सेवा केन्द्रका प्रमुख शर्मिला मिश्र, चक्रदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमराज खनाल, नौविसे दुग्ध उत्पादक सहकारी संस्थाका पदमप्रसाद अधिकारी, समितिका सदस्यहरू विश्वगोपाल श्रेष्ठ, कृष्णप्रसाद तिवारी, ज्ञानेन्द्र बजगाई, चिरञ्जीवी तिवारी, कृषकहरू धर्मराज न्यौपाने, सूर्यप्रसाद लामिछाने, अर्जुन लम्साल, विश्व भण्डारी, बुद्धिसागर पोख्रेललगायतले कृषि प्रदर्शनीलाई प्रभावकारी, व्यवस्थित, आकर्षक र सबैलाई सहभागी बनाउन सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए।

- अादर्श समाज सम्वाददाता