राष्ट्रपतिद्वारा समयसीमाबिनै सरकारमा सहमति गर्न आह्वान

काठमाडौं, २ माघ ।राष्ट्रपति डा. रामवरण यादवले निश्चित समयसीमा नतोकी सहमतीय सरकार गठनकालागि आह्वान गरेका छन्।

नवौंपटकको समय सीमामा समेत सहमतीय सरकार गठनगर्न दलहरू असफल भएपछि राष्ट्रपतिले समय नतोकी अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतिको सरकार गठनका लागि आह्वान गरेका हुन्।

राष्ट्रपतिले निश्चित समयसीमा बेगर सहमतीय सरकार गठनका लागि आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन्।

त्यसअघि सहमतीय सरकार गठनमा दलहरूले पूर्ववत् अडान दोहोर्‍याएपछि सहमतीय सरकार गठनका लागि राष्ट्रपपति यादवले आह्वान गरेको सर्वदलीय बैठक म·लबार पनि निष्कर्षहीन बनेको थियो।

सहमतीय सरकार गठनका लागि नवौं पटकसम्म दिएको समयमा समेत सहमति जुट्न नसकेपछि राष्ट्र्रपति यादवले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने १९ दलका ख नेतालाई छलफलका लागि बोलाए पनि दलहरू पूर्ववत् अडानमा रहेका कारण सहमति जुट्न नसकेको हो।

राष्ट्रपतिले दलहरूबीच हुने जस्तोसुकै सहमति कार्यान्वयन गर्न तयार रहेको भन्दै ताजा जनादेशमा जानेगरी सहमतिमा पुग्न आग्रह गरेका छन्।

बैठकपछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रतिपक्षी दलहरू सहमति गर्न चाहे पनि सत्तारूढ दलको अडानका कारण तत्काल सहमतिमा पुग्ने सम्भावना नभएको बताऐ। तर एकीकृत माओवादीका नेता अमिक शेरचनले जेठको दोस्रो हप्तासम्ममा चुनाव गराउन सरकारले विकल्प खुल्ला राखेको बताए।

बैठकमा राष्ट्र्रपतिले छिटोभन्दा छिटो सहमति खोज्ने शर्तमा मात्रै आफू समय थप्न तयार रहेको राष्ट्र्रपतिले बताएको काङग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए।

मिति तोकेर समय थप गर्नुभन्दा अब दलहरूलाई सहमतिका लागि आह्वान मात्रै गर्ने राष्ट्रपतिले भनेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताए।

अविलम्ब सहमति कायम गरी निर्वाचित सुनिश्चित गर्न राष्ट्रपतिले ध्यानाकर्षण गराएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री बाबुराम भट्टराइले दलहरूबीच सहमति भए आफू बाधक नबन्ने पूर्ववत् अडान दोहोर्‍याएका थिए। नेता केसीले भने स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने कुरा समय वर्वाद गर्ने माओवादी चालमात्र भएको बताएका थिए।

- अादर्श समाज सम्वाददाता