वैद्यलाई अध्यक्षमा चयन गर्दै माओवादी महाधिवेशन सम्पन्न

काठमाडौं, २ माघ। ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै नेकपा-माओवादीको सातौं महाधिवेशन सम्पन्न भएको छ। महाविधेशनले मोहन वैद्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति समेत चयन गरेको हो।

माओवादीले पाँच सदस्यीय स्थायी समिति, १३ सदस्यीय पोलिट्ब्यूरो र ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो। प्रवक्ताको जिम्मेवारी भने पम्फा भुसाललाई नै दिइएको छ।

मोहन वैद्यलाई संरक्षक बनाएर रामबहादुर थापालाई पार्टीअध्यक्षको जिम्मेवारी दिने कुरा चर्चामा आए पनि सहमति जुट्न नसकेपछि एक कार्यकालका लागि वैद्य नै अध्यक्ष बन्ने सहमति भएको हो।

महाधिवेशनको समापन सभालाई सम्बोधन गर्दै अध्यक्ष मोहन वैद्यले अधुरो क्रान्ति पूरा गर्ने दिशामा लाग्न आग्रह गरेका छन्।

उनले नवसंशोधनवादविरुद्ध अबको आन्दोलन केन्द्रित रहने भन्दै आन्दोलनले विदेशी हस्तक्षेपलाइ समाप्त पार्ने जिकिर गरे। माओवादीको महाधिवेशनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई समेत उचाईंमा पुर्‍याएको दाबी गर्दै वैद्यले पार्टीभत्र कुनै विवाद नरहेको उल्लेख गरे।

अध्यक्ष पुष्पकमल दाहाल नवसंशोधनवादी बाटोमा लागेको आरोपसहित वैद्यको नेतृत्वमा माओवादी विभाजन भएको थियो। महाधिवेशनले गरेका निर्णय बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिने प्रवक्ता पम्फा भुसालले जानकारी दिइने।

- अादर्श समाज सम्वाददाता