अपराधीलाई कारबाहीको माग गर्दै पत्रकारहरूद्वारा प्रदर्शन

पोखरा, २ माघ। क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले पत्रकार कृष्ण सेन लगायत द्वन्द्वका क्रममा मारिएका तथा वेपत्ता परिएका पत्रकारका अपराधीलाई कारबहीको माग गर्दै पोखरामा प्रदर्शन गरेको छ।

प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय कास्कीको मुल गेटमा समेत झण्डै एक घण्टा धर्ना दिइएको थियो।

पोखराको सृजनाचोकबाट सुरु भएको प्रदर्शन रत्नचोक, राष्ट्रबैड्ढ चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की पुगेको थियो। र्‍यालीमा द्वन्द्वको नाममा डलर खेती गर्नेहरू होसियार, सत्य निरूपण तथा बेपत्तासम्बन्धी अध्यादेश जारी गर, पत्रकार महेश पहारीका हत्यारालाई कारबाही गर, पत्रकार सुरक्षाको ग्यारेन्टी गर लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो। जिल्ला प्रशासन कार्यालय कास्कीको मुल गेट अगाडि गरिएको धर्नासँगै आयोजित कोण सभामा बोल्दै पत्रकारले कुनै पनि वहानामा पत्रकारको हत्या गर्ने र बपत्ता पार्नेहरूलाई उन्मु नदिन माग गरेका थिए। साथै उनीहरूले द्वन्द्वका सबै मुद्दा सत्य निरूपण आयोगबाट टुङ्गो लगाउनुपर्नेमा जोड दिएका थिए।

सभामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रुद्र भट्टले पत्रकारहरूको हत्या गर्नेमाथि समयमा नै कारबही नहुँदा हत्याको शृङ्खला दोहोरिरहेको बताए।

उनले पत्रकार हत्यामा संलग्नहरू राजनीतिक दलहरूको संरक्षणमा नै उम्कने गरेको भन्दै निन्दा गरे।

प्रेस काउन्सिलका सदस्य माधव शर्माले पत्रकारमाथिको आक्रमण, धम्की र हत्यामा संलग्नहरूलाई कारबही नगरेसम्म आन्दोलनलाई जारी राख्नुपर्नेमा जोड दिए।

स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले जोसुकै पत्रकारको हत्या गरिए पनि घटनाका विरुद्ध सबै पत्रकार एक हुनुपर्ने बताए। नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतीकले पत्रकारको सुरक्षाका लागि फुटेर नभई जुटेर पत्रकारहरू अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा क्रान्तिकारी पत्रकार सङ्घ तमुवान राज्य समितिका उपाध्यक्ष राज शर्मा, क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज सापकोटा, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, क्रान्तिकारी पत्रकार सङ्घ गण्डकी सञ्चार गृहका शाखा अध्यक्ष दीपक परियार, प्रेस युनियन कास्कीका सहसचिव ऋषिकान्त पौडेल, अखिल नेपाल सञ्चार तथा छापाखाना मजदुर सङ्घ कास्कीका अध्यक्ष लीलाबहादुर र्घर्ती, मानवअधिकारकर्मी बासुदेव बराललगायतले बोलेका थिए।

क्रान्तिकारी पत्रकार सङ्घ कास्कीका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रतन गुरुङले स्वागत र सचिव विभु भुषालले कार्यक्रम सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता