पत्रकारका हत्यारालाई कारबाहीको माग गर्दै युवा सङ्घद्वारा चक्काजाम

पोखरा, २ माघ। पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा पक्राउ परेका अभियुक्तलाई कारबाही र अनुसन्धानमा प्रधानमन्त्री बाबुराम भट्टराईले सार्वजनिक अभिव्यक्तिमार्फत प्रभावित पारेको विरोधमा युवा सङ्घकास्कीले म·लबार पोखरामा आधा घण्टा चक्काजाम गरी विरोध गरेको छ।

अपरान्ह साढे तीन बजेदेखि आयोजित चक्काजाम कार्यक्रममा बोल्दै सङ्घकास्कीका अध्यक्ष दर्शन लामाले सरकार अपराधीलाई जोगाउँने प्रपञ्चमा लागेको भन्दै रोष प्रकट गरे। ‘सरकार अपराधीको संरक्षणमा लागेको छ’-अध्यक्ष लामाले भन-’लोकतान्त्रिक सरकारको यस्तो कार्यले कानुनी व्यवस्थाकै खिल्ली उडाएको छ।’

पत्रकार थापाको हत्या लगायत एमाओवादीद्वारा नौ सय बढी अपराधका घटनामा संलग्न दोषिलाई आममाफी दिने सरकारको निर्णयलार्ई सङ्घले विरोध गरेको उनले जनाए।

एमाओवादी सरकारमा रहेको बेला राष्ट्र्रपतिले सत्य निरूपण तथा मेलमिलाप आयोग गठनमा चासो नदिएको आरोप लगाउँदै सरकार स्वयं दण्डहीनतातर्फ उन्मुख भएको आरोप लगाउँदै लामाले सरकार हाल सत्ता टिकाउने बहानामा विभिन्न प्रपञ्च गर्न उन्मुख भएको उनको आरोप थियो।

राज्यको चौथो अङ्गप्रति सरकार निर्लज्ज ढंगले पेश आउनु लोकतन्त्रको संस्थागत विकासविरुद्ध जान खोजेको युवा सङ्घको आरोप छ। पत्रकार हत्याको आरोपमा पक्राउ परेका अभियुक्तलाई कारबाही नगरिए सङ्घले थप आन्दोलनको कार्यक्रम ल्याउने अध्यक्ष लामाले जनाए।

गत पुस २१ गतेदेखि कास्कीलाई भ्रष्टाचारमूक्त जिल्ला निर्माण गर्ने उद्देश्यले कार्यक्रम अघि बढाएकोसमेत सङ्घले जनाएको छ। गत २१ गते सङ्घले कार्यक्रमअनुरूप सार्वजनिक बिदाको दिनमा चलाइएका सरकारी गाडीलाई नियन्त्रणमा लिई चेतावनीस्वरूप कारबाही गरेको थियो। आगामी दिनमा पनि बिदाका दिन सरकारी गाडी सञ्चालनमा ल्याए कडा कारबाही गरिने बताएको छ। त्यस्तै, अनेरास्ववियु कास्कीले पनि पत्रकार हत्याका अभियुक्तलाई कानुनतः कारबाही गर्न माग गरेको छ। अनेरास्ववियुका जिल्ला अध्यक्ष हरिबोल गौतमले सत्य निरूपण आयोग तत्काल गठन गर्नसमेत माग गरेका छन्।

- अादर्श समाज सम्वाददाता