स्याङ्जाको स्वरेककोटमा मूर्तिसँगै मन्दिर निर्माणको लागि आर्थिक सहयोग

पोखरा, २ माघ। जिल्लाको स्वरेक गाविसको वडा नं. ५ मा रहेको भैरब कालिका मन्दिरमा पोखराका पर्यटन व्यवसायी एवं समाजसेवी नरेश भट्टराईको परिवारले कालिकाको मूर्तिसँगै आर्थिक सहयोग गरेको छ।

स्याङ्जाको स्वरेककोटमा कालिकाको मूर्ति पदस्थापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पर्यन व्यवसायी नरेश भट्टराईले आफ्नो परिवारले स्याङ्जाको शक्तिपीठको रूपमा चिनिएको स्वरेककोटमा मूर्तिसँगै मन्दिर निर्माणको लागि ५५ हजार पाँच सय, ५० रुपैयाँ सहयोग गर्ने बताए।

स्वरेक पर्यटनको क्षेत्रमा संभावना बोकेको ठाउँ रहेको भन्दै स्वरेकलाई पर्यटन र कृषिको क्षेत्रमा संसारमा चिनाउन सकिने तर त्यहाँका स्थानीयबासीले चासो देखाउनुपर्ने बताए।

स्वरेक गाविसका निवर्तमान अध्यक्ष  छायाँराम खनालले पोखरामा रहेर पनि स्वरेकप्रति पोखरा माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईले गरेको कार्यको प्रशंसा गर्दै भट्टराई परिवारले अहिले गाविसप्रति अभिभावकको भूमिका खेलेको बताए। खनालले कालिका मन्दिर निर्माणको लागि आफूले ११ हजार एक सय, ११ रुपैयाँ आर्थिक सहयोग गर्ने बताए।

पर्यटन व्यवसायी सौमाया भट्टराईले आफूहरूले स्याङ्जाको शक्तिपीठ स्वरेक भैरब कालिका मन्दिरमा  सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताइन्। कार्यक्रममा स्वरेक गाविसका सचिव जीवननाथ पौडेलले कालिका मन्दिर निर्माणको लागि गाविसले सक्दो सहयोग गर्ने बताए।

स्थानीय नवसृजना युवाक्लबका अध्यक्ष घनश्याम पाण्डेले भट्टराई परिवारको सहयोगले स्वरेकवासी उत्साहित भएको भन्दै आगामी वर्षदेखि माघे सङ्क्रान्तिमा स्वरेककोट मेला आयोजना गर्न आफूहरूले पहल गर्ने बताए।

भैरब कालिका आमा समूह स्वरेक-५ का अध्यक्ष शशी सेन, नवसृजना युवा क्लबका संरक्षक कुलबहादुर खाँण, स्थानीय समाजसेवी टीकाराम पराजुली, सुवेदार डिलबहादुर सेनलगायतले बोलेको कार्यक्रम स्थानीय समाजसेवी यामबहादुर मल्लको अध्यक्षतामा भएको थियो।

यसैबीच जिल्लाको स्वरेककोटमा कालिकाको मन्दिर निर्माणको लागि एक समिति गठन भएको छ। स्थानीय डिलबहादुर सेनको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो।

समितिको उपाध्यक्षमा कुलबहादुर खाँण, सचिवमा ध्रुव खाँण, कोषाध्यक्षमा कृष्णबहादुर सिंह तथा सदस्यमा शशी सेन, हुमबहादुर पाण्डे, शोभाकान्त पाण्डे, पदमकुमारी मल्ल, अमृता थापामगर र तिलबहादुर सेन लगायतका रहेका छन्।

समितिले सल्लाहकार समिति पनि गठन गरेको छ। समितिको सल्लाकारमा छायाँराम खनाल, यामबहादुर मल्ल, घनश्याम पाण्डेय, डिलबहादुर सेन, कुशबहादुर थापालगायतलाई चयन गरेको छ।

समितिले कालिका मन्दिर तीन महिनामा निर्माण गर्ने लक्ष्य रहेको जनाएको छ। सेनले मन्दिर निर्माणको लागि तीन लाख बढी रकम लाग्ने बताए।

- अादर्श समाज सम्वाददाता