सप्तरङगीको स्थापना दिवसमा तारादेवीको सम्झना

पोखरा, २ माघ। सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान पोखराले आफ्नो सातौं स्थापना दिवस स्वर्गीय स्वर किन्नरी तारादेवीको सम्झना गर्दै मनाएको छ।

स्वर किन्नरी तारादेवीको ६८ औं जन्मजयन्तीको सर्न्दर्भसमेत जोडेर आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरूले स्वर किन्नरी तारादेवीका गीत तथा आफ्ना गीतहरू गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए।

कार्यक्रममा कलाकारहरू नवराज बराल, पद्मराज ढकाल, अभिमन्युविक्रम राणा, सविना सुनाम, गोरे गुरुङ, लक्ष्मी भट्टराई, जूना क्षत्री, सुकु हिराचन, शुभेच्छा अधिकारी, प्रेक्षा बराल, सुरना हिराचन, अनुपम रिसाललगायतले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा सुनिल बराल र निर्मल श्रेष्ठले वाद्यवादनमा सहयोग पुर्‍याएका थिए।

प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रम ग्लोबल कलिजियट उच्च मावि रानीपौवाको सभाकक्षमा सञ्चालन गरिएको थियो।

सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको  स्थापना २०६३ माघ २ गते भएको हो। प्रतिष्ठानले प्रत्येक वर्ष नियमित रूपमा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यसैगरी प्रतिष्ठानले कलाकार उपचार तथा सम्मान कोषको समेत स्थापना गरेको छ।

- अादर्श समाज सम्वाददाता