औद्योगिक क्षेत्र सुरक्षा सवलीकरणका चुनौती र समाधानबारे अन्तरक्रिया

पोखरा, १ माघ। यूएसआईपीको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा भएको नेपालमा सुरक्षा र कानुनी शासनको सवलीकरण कार्यक्रम अन्तर्गत ‘औद्योगिक क्षेत्र सुरक्षा सवलीकरणका चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम आइतबार लेखनाथ उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भयो।

सो अवसरमा बोल्दै लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमन भट्टराईले उद्योग सञ्चालनका लागि प्रभावकारी कानुन कार्यन्वयन नहुँदा र नयाँ औद्योगिक नीति नबन्दा समस्या देखिएको बताए। उनले समयानुकुल मजदुरको पारिश्रमिक पुनः मूल्याड्ढन हुनुपर्ने पनि बताए।

अध्यक्ष भट्टराईले लेखनाथ उद्योग वाणिज्य सङ्घ मजदुर तथा श्रमिकको समस्या समाधानका लागि प्रतिबद्ध रहेको जनाउँदै मजदुरलाई न्यूनतम पारिश्रमिक -ज्याला) पनि दिन नसक्ने उद्योगी व्यवसायीले उद्योग सञ्जालन गर्न नहुने बताए। उनले उद्योगमा मजदुरको पनि सेयरको व्यवस्था हुने वातावरण बनाउन आवश्यक रहेको जनाए।

राजनीतिक विभाजन मजदुरमा मात्र नभएर उद्योगीमा पनि भएकाले कतिपय अवस्थामा उद्योग व्यवसायमा त्यसले प्रभाव पारेको भन्दै उनले दुखेसो गरे। कार्यक्रमका वक्ताहरूले औद्योगिक सुरक्षाका लागि प्रभावकारी कानुन कार्यान्वयनमा जोड दिएका छन्। उद्योगले श्रम ऐनको कार्यान्वयन नगर्ने तथा मजदुरले पनि उद्योगको नीति नियम पालना नगर्नाले उद्योगधन्दामा समस्या बढ्दै गएको बताएका थिए। यसैगरी, कार्यक्रमका सहभागी श्रमिकहरूले अहिलेको बढ्दो महङ्गीमा १५ वर्षभन्दा पहिलेको श्रम नीतिले काम नगर्ने भन्दै श्रमिकको पारिश्रमिक कम रहेको औँल्याएका थिए। उनीहरूले रोजगारका लागि उद्योगधन्दाको स्थापना नहुँदा श्रम गर्न सक्ने युवा शक्ति विदेश पलायन भइरहेकोमा चिन्ता व्यक्त गरे।

आफ्नै देशमा रोजगारीको वातावरण तयार गर्न औद्योगिक क्षेत्रको विकास र उद्योगीहरूको लगानीको सुरक्षा र मजदुरको रोजिरोटीको सुरक्षा आवश्यक रहेको बताए। उनीहरूले मजदुर एकतालाई जोड दिँदै फुटेर हैन एकजुट भएर मजदुरका हकहितका लागि लाग्नुपर्ने बताए। कार्यक्रममा जिफन्टका केन्द्रीय सदस्य युवराज पौडेलले ‘औद्योगिक क्षेत्र सुरक्षा सवलीकरणका चुनौती र समाधानका उपाय’ कार्यपत्र प्रस्तुत गर्दै औद्योगिक क्षेत्र सक्षम भएमात्र श्रमिकको हकअधिकार प्रत्याभूति हुने बताए।

डाँडाकोनाक प्रहरी चौकीका सइ मोहनबहादुर रानाले उद्योगीहरूले असुरक्षाको कारण महिला श्रमिक नराख्नुभन्दा महिला श्रमिकको सङ्ख्या बढाउन सके उनीहरू आफै सुरक्षाको अनुभूति गर्न सक्छन् भन्दै लोडसेडिङका कारण राति सञ्चालन हुने उद्योगहरू खुल्ने र बन्द हुने समयमा सुरक्षाको लागि प्रहरीले आवश्यकता परे गस्ती गर्न सक्ने बताए।

कार्यक्रमका सभाध्यक्ष तथा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलले समग्र औद्योगिक क्षेत्रको सुरक्षा सवलीकरणले मजदुरको आर्थिक र भौतिक सुरक्षाको सुनिश्चिता हुने बताए। शान्तिका लागि नागरिक समाजको सञ्जाल, कास्कीका संयोजक विष्णु बरालले नागरिक तथा राजनीतिक अधिकारका लागि लाग्दा आर्थिक समाजिक र सांस्कृतिक अधिकार कमजोर भएको बताए। यसका कारण युवा शक्ति विदेशिन बाध्य भएको भन्दै राजनीतिक दलले नै गरिखाने वर्गलाई कमजोर बनाएको र मजदुरलाई फुटाएको उनले आरोप लगाए।

कार्यक्रममा एकीकृत माओवादीको लेखनाथ नगरकमिटी अध्यक्ष विनय थापाले औद्योगिक सुरक्षाको लागि दुवै पक्षको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै लगानी बिना उद्योग हुँदैन, उद्योग बिना श्रमिक हुँदैन र श्रमको कारण उद्योगहरूले नाफा कमाउने गर्दछन् भन्दै लागानीमैत्री भन्दा पनि मजदुरमैत्री नीति निर्माणमा विशेष जोड दिनुपर्ने बताए।

लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव बाबुराम गिरीले नेपालमा लोकतान्त्रिक परिवर्तन भए पनि गरिबी हटाएर समृद्ध नेपाल निर्माणको लागि औद्योगिक विकासले मद्दत गर्ने बताए। उनले श्रमसँगै दण्डहीनताको कारण उद्योग सञ्चालनमा समस्या आएको कारण लगानीकर्ता हतोस्साही हुनुका साथै पलायन पनि भएको धारणा राखे। उनले यसमा श्रमिक बाहेकका धेरै कारण रहेको भन्दै रोजगारदाता र श्रमिक भित्रका मतभेद आफै मिलाउने सकिने अवस्था रहेको बताए। इन्सेक पोखराका प्रलेख अधिकृत गणेश भण्डारीले स्वागत मन्तव्य राख्दै उद्योगी तथा लगानीकर्ताको पूँजीको संरक्षण, मजदुरको रोजोरोटीको सुरक्षालगायत भौतिक सुरक्षाको सुनिश्चितता आजको आवश्यकता रहेको बताए। यसका लागि लगानीमैत्री नीति र मजदुरमैत्री श्रम ऐनको आवश्यकता रहेको उनले औंल्याए।

कार्यक्रममा ट्रेड युनियन कास्कीका उपाध्यक्ष कुलदेवी बराल, जिफन्ट कास्कीका लिलाबहादुर कार्की, मजदुर नेता लीला सुवेदी, ज्ञानबहादुर पुन, जीतबहादुर गुरुङ, टेकनाथ पन्थी, नेपाली काङ्ग्रेसका राजेन्द्रमणि लामिछाने, ज्ञानबहादुर पुन, विजया पौडेललगायतले आ-आफ्नो भनाइ राखेका थिए। इन्सेकका कार्यक्रम संयोजक गणेश श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, मजदुर युनियनका प्रतिनिधि, सुरक्षाकर्मी, अधिकारकर्मी, सञ्चारकर्मीको सहभागिता थियो।

- अादर्श समाज सम्वाददाता