द्वन्द्वकालका घटना ब्युँताए काङ्ग्रेस र एमालेका सबै नेता जेल पर्छन् : प्रधानमन्त्री

बेसीसहर, २९ पुस। प्रधानमन्त्री डा. बाबुराम भट्टराई जनयुद्धको समयमा भएका घटनालाई ब्युँताउने र एकले अर्कालाई मुद्दा लगाउँदै जाने हो भने काङ्ग्रेस र एमालेका सबै नेता जेल पर्ने बताएका छन्।

आइतबार लमजुङको भलायखर्कस्थित महेन्द्र बाल विकास माध्यामिक विद्यालयको वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले जनयुद्धका समयमा मारिएका १२ हजार र बेपत्ता पारिएका १३ हजार मानिसको जिम्मेवारी काङ्ग्रेस र एमालेले लिनुपर्ने बताए। सबैले प्रतिशोध र बदला लिने हो भने काङ्ग्रेस र एमालेका नेताहरूलाई मुद्दा हाल्न र जेल पठाउन सकिने प्रधानमन्त्रीले चेतावनी दिए।

‘जनयुद्धमा मारिएका १५ हजारमध्ये १२ हजार काङ्ग्रेस, एमालेका पालामा मारिएका हुन्। टाउको काट्नेलाई ५० लाख दिने घोषणा गर्नेहरू अहिलेसम्म शिर ठाडो पारेर हिँडिरहेका छन्, यिनीहरूलाई मुद्दा हाल्यो भने एमाले काङ्ग्रेसका कोही पनि बाँकी रहँदैनन्।’

प्रधानमन्त्रीले भने-’तपाइँहरूले चाहेको त्यही हो ?, सरकारले त्यसै गरोस भन्ने चाहनुहुन्छ -’ माओवादीले गरेको बलिदानलाई विर्सिएर हत्यारा भनिन्छ भने सैह्य नहुने उनको भनाइ थियो।

अहिलेको अवस्थामा एकले अर्काप्रति बदलाको भावना लिने नभई मेलमिलापका आधारमा अघि बढ्नुपर्ने प्रधानमन्त्रीले बताए। सरकारले सत्य निरूपण एवं मेलमिलाप आयोग गठनका लागि साउनमै ऐन बनाउन खोज्दा पनि रोकेर राखिएको भन्दै प्रधानमन्त्रीले केहीलाई मात्रै मुद्दा चलाएर समस्या समाधान नहुने बताए।

‘हामी गरिखाने वर्गलाई ज्यानको डर हुँदैन, हामी हिम्मत हारेर भाग्नेवाला छैनौं, जबसम्म जनताको पूर्ण मुक्ति हुँदैन, हामी सन्तोषको सास फेरेर बस्दैनौं’-प्रधानमन्त्रीले भने-’जुनसुकै पेशा गर्नेहरूलाई पनि आफ्नो ज्यान प्यारो हुन्छ। तर, आफूलाई मन परेकोलाई मात्रै च्यापेर हिँड्नु न्यायसङ्गत हुँदैन। हामी हात जोडेका जोड्यै छौं, सत्य निरूपण तथा मेलमिलाप आयोग बनाउन ऐन बनाऔं र दोषी भेटिए नयाँ कानुनअनुसार कारबाही गरौं।’

संसारमा कही“ पनि मान्छेहरू शहीद नभई लोकतन्त्र र परिवर्तन नआउने प्रधानमन्त्रीले बताए। नेपालमा लोकतन्त्र आए पनि पुरानो संरचनामा परिवर्तन गर्न बाँकी रहेको उनले बताए। आफूहरूले खोजेको शासनसत्ता अझै पनि प्राप्त नभएको भन्दै भट्टराईले क्रान्ति पूरा हुन समय लाग्ने बताए।

विपक्षीहरूले सरकारको आलोचना तीब्र पारिरहेकै बेला लमजुङ आएका प्रधानमन्त्री भट्टराई विपक्षीहरूप्रति पनि उस्तै कडारूपमा प्रस्तुत थिए।  प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गाउँका जाली फटाहाले हिजोआज सहर पसेर दुख दिन थालेकाले उनीहरूबाट सबैले सतर्क बन्नुपर्ने बताए।

सरकार बनेको १६ महिनासम्म बजेट ल्याउन नदिएकाले गाउँको विकास गर्न नसकिएको भन्दै प्रधानमन्त्री भट्टराईले विपक्षी दललाई लक्षति गर्दै भने-’सयौर्ंवर्ष लगाएर यिनीहरू आफैले थुपारेको फोहोर हामीले हटाउन खोज्दा आफै फोहोर थुपार्दै हामीले हटाउन नसकेको आरोप लगाइरहेका छन्।’

नीति तथा कार्यक्रम ल्याउन नदिएको प्रति आक्रोशित हुँदै प्रधानमन्त्रीले भने-’हातखुट्टा बाँध्ने अनि हिँडेन भन्ने, ढोका थुनेर भित्र पसेन भन्ने यी सबै जाली कुरा हुन्।’

प्रधानमन्त्री भट्टराईले विपक्षी दलहरूलाई जसरी सरकारको नेतृत्व चाहियो भनेर जिद्दी नलिन आग्रह गरेका छन्। एमाओवादी पार्टीका विभाजन भए पनि अहिले पनि आफ्नो पार्टीनै सबैभन्दा ठूलो भएकाले चुनावी सरकारको नेतृत्व आफ्नै दलले गर्न पाउनुपर्ने उनले बताए। नेपाली सेनाको हेलिकप्टरमा आएका प्रधानमन्त्री भट्टराई कार्यक्रममा दुर्इ घण्टा बसेर फर्किएका थिए।

कार्यक्रम महेन्द्र बाल विकास माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद रिजालको अध्यक्षतामा भएको थियो।

- अादर्श समाज सम्वाददाता