पोखरा उपमहानगरपालिकाको बजेट ४१ करोड ९३ लाख कर्मचारीले मात्रै स्थानीय निकाय थेग्न सक्दैनन् : मुख्य सचिव पौडेल

पोखरा, २९ पुस। पोखरा उम-हानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले १७ औं नगरपरिषद्मा आर्थिक वर्ष २०७०/०७१ का लागि अनुमानित ४१ करोड ९३ लाख २८ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका छन्। प्रस्तुत बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ०.९८ प्रतिशतले बढी हो।

अनुमानित बजेटमध्ये सङ्घसंस्थातर्फ २२ करोड २३ लाख गरी ६४ करोड १६ लाख रुपैयाँ छ।

नगरपालिकाको कुल बजेटमध्ये आन्तरिकतर्फ २३ करोड ९५ लाख तथा बाह्य श्रोततर्फ १७ करोड ९७ लाख रुपैयाँ रहेको छ।

आन्तरिक आम्दानीतर्फ स्थानीयकर सात करोड ४८ लाख, सेवा शुल्क दुर्इ करोड ५५ लाख, दस्तुरहरूबाट छ करोड ६३ लाख, बिक्रीबाट पाँच लाख ५० हजार, अन्य आम्दानी एक करोड २४ लाख रुपैयाँ, लागत र सहभागिता गरी पाँच करोड २० लाख रुपैयाँ, साँवा ब्याजबाट तीन लाख,  मौज्दात ७५ लाख, वैदेशिक सहायता तथा अन्य निकायबाट १७ करोड ९७ लाख रहेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए।

संरचना विकासतर्फ १७ करोड २२ लाख, जनसङ्ख्यातर्फ सामाजिक विकासतर्फ सात करोड एक लाख, कृषि वन तथा वातावरणतर्फ चार करोड ३५ लाख, भूमि तथा जलश्रोतर्फ ६० लाख, प्रशासनिक तथा साङ्गठनिकतर्फ१२ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए।

उनले पोखरामा अहिलेसम्म भएका मेला र महोत्सवहरू करको दायरामा नआएको हुँदा उनीहरूलाई दुर्इ प्रतिशत मनोरञ्जन कर लिएरमात्रै मेला र महोत्सव सञ्चालनका लागि अनुमति दिने बताए।

हामीले तिरेको कर हाम्रै विकासका लागि, आधुनिक समृद्ध नगरपालिका निर्माणका लागि भन्ने नाराका साथ नगरबासीलाई करको दायरामा ल्याउन विभिन्न योजनासमेत बनाइएको छ। नगरपालिकाभित्र हुने अनियमिता रोक्न शून्य सहनशीलताको नीति अवलम्बन गरिने, सेवा प्रवाहमा पारदर्शिता एवं जवाफदेहिता कायम गर्न गुनासो सुनुवाइ, उजुरी व्यवस्थालाई शीघ्र प्रभावकारी बनाउने, नगरक्षेत्रभित्र बढ्दै गएको छाडा चौपायाँलाई छ महिनाभित्र छाडा चौपायाँ निशेषित क्षेत्र बनाउने, पोखराको समग्र पर्यटन गुरुयोजना बनाउने कार्ययोजना सुरु हुने, अनलाइनमार्फत कर तिर्न सक्ने व्यवस्था मिलाउने, पोखराको न्यूरोड क्षेत्रलाई ग्रिन डिभाइडर राख्ने,सडकबत्तीको दीर्घकालीन व्यवस्था गर्न विजयपुरदेखि हल्लनचोकसम्म सौर्यप्रणाली आधारित सडक बत्ती जडान गर्नेलगायतका कार्यक्रम रहेका छन्।

फिर्के खोलको अतिक्रमणलाई यसै वर्षदेखि हटाउने कार्य सुरु गर्ने, सरसफाई शुल्क कम्प्युटाइज्ड प्रणालीमार्फत् सुरु गर्ने, पोखरा उप-महानगरपालिकामा रहेका भाडाका सटरको पुनरावलोकन गरिने, नगरपालिकाको स्वामित्वमा रहनुपर्ने प्राकृतिक सम्पदाहरू जस्तै महेन्द्रगुफा, डेभिडफललगायतलाई नगरपालिकाको दायरामा ल्याउने  लगायतका कार्यक्रम छन्।

कार्यकारी अधिकृत अधिकारीले यहाँ साधनश्रोत र संस्थागत संरचनाको अभाव रहेको भन्दै कर्मचारीमा काम गर्ने इच्छाशक्ति, क्षमता, नगरबासीप्रतिको दायित्वबोध र शासनगर्ने क्षमतामा थप जोड दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै सरकारका मुख्य सचिव लीलामणि पौडेलले स्थानीय निकाय कर्मचारीले मात्रै थेग्न नसक्ने बताएका छन्।

११ वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा नगरपालिकामा विकृति फैलिएको बताउँदै त्यस्तो अवस्थामा कर्मचारीले मात्रै स्थानीय निकाय थेग्न नसक्ने स्पष्ट पारे।

‘स्थानीय निकाय कर्मचारीद्वारा सञ्चालित हुँदा धेरै विकृति फैलिएका छन् यसलाई नियन्त्रण गर्न चुनावको आवश्यकता छ’-उनले भने-’स्थानीय निकायको निर्वाचनको लागि जिल्लास्थित नेताहरू आफ्नो नेतृत्वलाई चुनावका लागि झक्झक्याउनुपर्दछ।’

स्थानीय निकायको निर्वाचनका लागि कानुनमा कुनै बाधा र ब्यवधान नभएको विज्ञहरूले बताएको उल्लेख गर्दै उनले यसका लागि राजनीतिक दलहरू आफ्नो दललाई घाटा नाफा हुनेभन्दा पनि स्थानीय निकायको चुनावमा ध्यान दिनुपर्ने बताए।

उनले अभिलेख प्रणाली राम्रोसँग नराख्दा विकृति फैलिएको भन्दै यसलाई रोक्न अभिलेख प्रणाली बलियो बनाउनुपर्ने सुझाव दिए।

कार्यक्रममा उपभोक्ता समितितर्फ रामेश्वर मार्ग पिच तथा ढल निर्माण समिति, टोल विकास संस्थातर्फ मसिना टोल विकास संस्था वडातर्फ वडा नं.९ र करदाता तर्फ भृकुटी सुपर मार्केट, स्रि्रदी प्रालि, पूणिर्मा चलचित्र प्रालि, तारा राणा र शैलेशकुमार राणालाई सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्वसभासद रवीन्द्र अधिकारी, एकीकृत नेकपा माओवादी तमुवान राज्य समितिका सदस्य रामजी बराल, नेपाली काङ्ग्रेसका जिल्ला अध्यक्ष यज्ञबहादुर थापा, एमाले अध्यक्ष मानबहादुर जिसी, नेकपा-माओवादीका राज्य समिति सदस्य डिल्लीराम अधिकारी, राप्रपाका नरहरि तिमिल्सिना, नेकपा एकिकृत कास्कीका सचिव रामजी थापा, राप्रपा नेपाल कास्कीका सहअध्यक्ष वरुणविक्रम राणा, नगरपालिकाका पूर्वमेयर कृष्ण थापा, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष जीतबहादुर गुरुङ, जिल्ला विकास समिति कास्कीका स्थानीय विकास अधिकारी इश्वरराज पौडेल, वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले, व्यवसायी ऋषि सापकोटा, टोलविकास संस्था वडा समन्वय समितिका टोपराज ढु·ाना, जिल्ला बालमञ्च कास्कीका अध्यक्ष कुञ्जनी प्यासीले बोलेका थिए।

पोखरा उप-महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले स्वागत र कार्यक्रम अधिकृत दुर्गा न्यौपानेले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता