दलीय सहमतिमा मात्र कदम चाल्छु : राष्ट्रपति

काठमाडौं, २७ पुस। राष्ट्रपति डा. रामवरण यादवले सबै दलको सहमतिमा मात्र अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएका छन्। संसद् नभएको समयमा दलीय सहमतिबिना कामचलाउ सरकारले ल्याउने अध्यादेश जारी गर्न नसकिने उनले स्पष्ट पारे।

विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग भएको भेटमा राष्ट्रपति यादवले दलीय सहमतिबेगरका अध्यादेश जारी गर्न आफूलाई बाध्य नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रपतिको भनाइ उद्दृत गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने-’तपाईंलाई जुन/जुन अध्यादेश आवस्यक पर्छ त्यो जारी गर्न सक्दिन।’ राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८ को १ अनुसार सहमतीय सरकार गठनका लागि आह्वान गर्नेबाहेक आफूसँग अन्य विकल्प नभएको भन्दै सहमति कायम गर्न राष्ट्रपतिले जोड दिए।

दलीय सहमतिमा आउने जुनसुकै विषयलाई आफूले बाधा अड्काउ फुकाउमार्फत कार्यान्वयन गर्ने प्रतिबद्धता पनि राष्ट्रपतिले जनाएका थिए। राष्ट्रपतिसँगको भेटमा अधिकांश दलले सहमतीय सरकार गठन गरी निर्वाचनमा गएर मात्र निकास खोज्नुपर्ने बताएका थिए।

दलहरूले पूर्ववत् अडान दोहोर्‍याएपछि दलहरूबीच कुनै सहमति भएन। बैठकपछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादीको हठका कारण सहमति नभएको आरोप लगाए। तत्काल सहमति हुने सम्भावना नरहेको भन्दै उनले सहमतिका लागि माओवादी लचिलो हुनुपर्ने बताए। यद्यपि सहमतिको प्रयास जारी राख्ने विषयमा छलफल भएको खनालले जानकारी दिए।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने दलहरूबीच छलफल तीव्र रहेको भन्दै चाँडै सहमतिमा पुग्ने विश्वास व्यक्त गरे। उनले राष्ट्रपतिद्वारा तोकिएको पछिल्लो समयभित्र सहमति कायम गर्न आफूहरू तत्पर रहेको राष्ट्रपतिलाई जानकारी गराएको बताए।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले काङ्ग्रेस नेतृत्वमा सहमतीय सरकार निर्माण गरे तत्काल सहमति हुने भन्दै अब बन्ने सरकारको नेतृत्व काङ्ग्रेस सभापति सुशील कोइरालाले नै गर्न पाउनुपर्ने बताए।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने प्रमुख भनिएका दलबाट सहमति हुने सम्भावना नरहेको भन्दै सहमतीय सरकारको निर्माणका लागि राष्ट्रपतिले नै पहलकदमी लिनुपर्ने राष्ट्रपतिसमक्ष बताएका थिए।

एमाओवादीले पुनस्र्थापनाको मागसहित आन्दोलन गर्ने

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा पुनस्र्थापनाको मागसहित आन्दोलन गर्ने प्रस्ताव केन्द्रीय समितिमा राखेका छन्। विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा आसन्न महाधिवेशनको तयारीबारे छलफल गर्न बसेको माओवादी महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष दाहालले वैशाखमा निर्वाचन हुने सम्भावना टरेको भन्दै संविधानसभा पुनस्र्थापनाको माग पार्टीमा राखेका हुन्।

पार्टीकेन्द्रीय कार्यालय कोटेश्वरमा शुक्रबार दोस्रो दिन बसेको बैठकमा अध्यक्ष दाहालले माघ १ गतेदेखि संविधानसभा पुनस्र्थापनाको विषयलाई लिएर आन्दोलन सुरु गर्ने बताएका हुन्। बैठकमा अध्यक्ष दाहालले राजनीतिक दलहरूबीच भइरहेका सहमतिका प्रयास तथा महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराएका थिए। राजनीतिक गतिरोध हुने लक्षण नदेखिएकाले संविधानसभा पुनस्र्थापनाको विकल्पमा छलफल सुरु गरिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता