निजामती कर्मचारी सङ्घको चौथो महाधिवेशन सुरु राजनीतिक शून्यता छाएको बेलामा कर्मचारीहरू बढी जिम्मेवार बन्नुपर्छ : महत

पोखरा, २७ पुस। पुनर्गठित नेपाल निजामती कर्मचारी सङ्घको चौथो केन्द्रीय महाधिवेशन शुक्रबारदेखि पोखराको सभागृहचोकमा सुरु भएको छ।

कर्मचारी सङ्घको अभियान सेवासँगै मुस्कान भन्ने मूल नाराका साथ हुने महाधिवेशन शनिबारसम्म चल्ने छ। सङ्घले भ्रष्टाचाररहित जनमुखी निजामती प्रशासन र महिलामैत्री निजामती सेवाको नारालाई पनि अघि सारेको छ।

महाधिवेशनमा प्रतिनिधि, पर्यवेक्षक र शुभेक्षुक गरी करिब एक हजार चार सय जनाको सहभागिता रहेको छ। हाल सङ्घमा देशभरका १५ हजार कर्मचारी आबद्ध रहेको सङ्घका केन्द्रीय अध्यक्ष शोभाखर रेग्मीले जानकारी दिए।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै निजामती कर्मचारीको समस्याका बारेमा छलफल र पोखरा घोषणपत्र पनि जारी गर्ने जनाइएको छ।

निजामती कर्मचारी युनियन प्रजातान्त्रिक हुन नसकेको तथा युनियनमा अनियमितता, अराजकता निरड्ढुश शैली र भ्रष्टाचार बढ्दै गएकोले शुद्ध प्रजातान्त्रिक कर्मचारीको हकहित अभिवृद्धि गर्नका लागि कर्मचारी सङ्घ पुनर्गठन गरेको केन्द्रीय अध्यक्ष रेग्मीले जानकारी दिए। उद्घाटनपूर्व बिहान पोखराको मानवअधिकारचोकबाट निस्िकएको प्रभातफेरी र्‍याली बीपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल नयाँबजार पृथ्वीचोक हुँदै सभागृहहलमा गएर सभामा परिणत भएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने संस्था नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था भएको ठोकुवा गरे।

‘नेपाली काङ्ग्रेसको विचार बोक्ने संस्थालाई शुभेच्छुक संस्था होइन भन्न मिल्दैन’-उनले भने-’नेपाल निजामती कर्मचारी सङ्घले काङ्ग्रेसको विचार बोक्ने भएकोले नै सङ्घ पनि काङ्ग्रेसको शुभेच्छुक संस्था हो।’

उनले नेपाल निजामती कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी सङ्घबीच के कारणले विमति भएको हो त्यो पत्ता लगाएर एक बनाउन आफूले केन्द्रमा पहल गर्ने प्रतिबद्धता जनाए।

‘युनियन र सङ्घमा के कति कारणले विमति आएको हो त्योबारेमा पार्टीले मिलाउनुपर्दछ’-उनले भने-’एउटै विचार राख्ने कसैलाई पार्टीले काखा र पाखा गर्न मिल्दैन।’ काङ्ग्रेसका ब्राण्ड लोगो नै सङ्घ भएकोले पार्टीको केन्द्रीय नेतृत्वले सङ्घलाई बहिस्कार गर्न नहुने उनको भनाइ थियो। काङ्ग्रेसले सधैँ विधिको पक्षमा वकालत गर्ने बताउँदै उनले विधिको शासनलाई सुनिश्चित गर्न कर्मचारीहरूले आवाज उठाउनुपर्ने धारणा राखे। उनले पछिल्लो समयमा देशमा राजनीतिक शून्यता छाएको भन्दै यस्तो अवस्थामा कर्मचारीहरू बढी जिम्मेवार बन्नुपर्ने बताए।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले सङ्घलाई पार्टीले बाहिर राख्न नमिल्ने बताइन्। ‘पार्टीले आधिकारिक दियो दिएन भन्दा पनि लोकतान्त्रिक विचारलाई सम्मान गर्नुपर्दछ’-उनले भनिन्-’सङ्घले लोकतान्त्रिक विचारलाई आत्मसात गरेकोले काङ्ग्रेसले सङ्घलाई पाखा लगाउनुहुँदैन।’

उनले सङ्घका जस्तासुकै समस्याहरू मिलाउनका लागि आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाइन्। कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेस स्वतन्त्रका उपाध्यक्ष प्रेमसिंह बोहोरा, नेपाल निजामती कर्मचारी सङ्घका पूर्व अध्यक्षद्वय भानुभक्त ढकाल र भवानीप्रसाद थानी, नेपाली काङ्ग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङ, नेविसङ्घका पूर्व महामन्त्री जीतबहादुर बस्नेत, नेपाल निजामती कर्मचारी स·ठनका अध्यक्ष भोला पोख्रेल, राष्ट्रिय कर्मचारी स·ठनका वरिष्ठ उपाध्यक्ष मधुसुदन अधिकारी, मधेशी कर्मचारी मञ्चका अध्यक्ष विनोदकुमार सिंह, नेपाल सरकारका पूर्व सचिव मोदराज डोटेल, नेपाल प्रेस युनियनका उपाध्यक्ष गंगाधर पराजुली, नेपाली काङ्ग्रेस महासमिति सदस्य सोभियतबहादुर अधिकारी, नेपाली काङ्ग्रेस सुर्खेतका कोषाध्यक्ष गोविन्द कोइरालाले बोलेका थिए।

नेपाल निजामती कर्मचारी सङ्घका अध्यक्ष शोभाखर रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्कीका अध्यक्ष डार्विन लम्सालले स्वागत र केन्द्रीय महासचिव सरदकुमार अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

- अादर्श समाज सम्वाददाता