ज्ञानुबाबा र एपीएफ अन्तर्राष्ट्रिय महिला भलिबलको फाइनलमा

पोखरा, २७ पुस। डिफेण्डिङ च्याम्पियन ज्ञानुबाबा उमावि र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पोखरामा जारी नोङसिम शिन राम्योन दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू डायमण्ड एकेडेमी काठमाडौंलाई सोझो तीन सेटमा पराजित गर्दै डिफेण्डिङ च्याम्पियन ज्ञानुबाबा दोस्रोपटक फाइनलमा प्रवेश गरेको हो।सोझो सेटमा खेल जिते पनि डिफेण्डिङ च्याम्पियन न्यू डायमण्डको पूरै समय दबाबमा खेल्नुपरेको थियो।

सधैँ पोखरेलीको समर्थन पाएको ज्ञानुबाबाका समर्थक यसपटक कम देखिन्थे भने न्यू डायमण्डका समर्थक बढी देखिन्थे।अन्तरसम्म समर्थन पाए पनि न्यू डायमण्डले त्यसको सदुपयोग गर्न सकेन।

पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको ज्ञानुबाबाले दोस्रो सेट हात पार्न थप दबाबमा आउँदै २५-२३ को नतिजा पर्खनुपर्‍यो। दबाबै दबाबमा खेलेको उसले अन्तिम सेट पनि २५-२२ ले आफ्नो कब्जामा पार्दै दोस्रोपटक उपाधिको ढोका ढक्ढक्याउन सफल भयो।

मञ्जु गुरुङको कप्तानीमा खेलिरहेको ज्ञानुबाबाका खेलाडीहरूअत्यन्तै संयमित भएर खेलेका कारण जीत हात परेको हो।खेल जिते पनि कुनै पनि सेट विपक्षीलाई नदिने उनीहरूको चलाखी प्रशंसा गर्न लायक थियो।

विपक्षीका हरेक प्रहारलाई डिफेन्स गर्ने न्यू डायमण्डकी ल्रि्रो सलिना श्रेष्ठ वुमन अफ दी म्याच घोषित भइन्।कप्तान रमिला तण्डुकारले भने यसअघिका खेलमा जस्तो स्तरीय प्रदर्शन दोहोर्‍याउन सकिनन्। उनीलगायत टीमको खेलकौशल हेरेर न्यू डायमण्डको पक्षमा दर्शक पोखरा रङ्गशालामा उर्लिएका थिए।

नतिजा गुमाए पनि रमिला तण्डुकार र ल्रि्रो सलिना श्रेष्ठलाई खेलबाट प्रभावित भएका दर्शकले नगद तथा अन्य उपहार दिएका थिए। साथै एकेडेमीले पोखराको जनप्रिय टोलको तर्फबाट नगद तीन हजार पाँच सय प्राप्त गर्‍यो।यस्तै सलिना श्रेष्ठले सुनिता श्रेष्ठबाट भलिबलका सामग्री पनि प्राप्त गरिन्।

जीतपछि ज्ञानुबाबाकी प्रशिक्षक कौशिला खत्रीले आफ्नो टीममा अनुभवी खेलाडी र डिफेन्स लाइन राम्रो भएकोले जीत हात पारेको बताइन्।उनले पावर गेम पनि आफ्नो टीमको निर्णायक पक्ष रहेको दाबी गरिन्।

हारपछि न्यू डायमण्ड एकेडेमीका प्रशिक्षक कुमार राईले बेलाबेलामा सर्भिस बिगार्नु र विपक्षीको सर्भिस पनि राम्ररी रिसिभ गर्न नसक्नु हारको कमजोरी भएको बताए।

दोस्रो खेलमा ढोरपाटन कपको विजेता एपीएफले ढोरपाटन कपको फाइनल खेलमा बेहोरेको हारको बदला राम्रैसँग लिन सफल भयो।

अन्तिम खेलमा ३-२ को सेटमा पराजित भए पनि पहिलो खेलमा जीत हात पारेकोले अन्तिम खेलमा दुर्इ सेट जित्दै एपीएफ च्याम्पियन बनेको थियो।त्यसको बदला भने पोखरामा लियो। अन्तिम सेटमा पुलिसका स्पाइकर राम्ररी चल्न नसक्दा मुखैमा पुगेर पनि पुलिस फाइनल खेल्नबाट बञ्चित हुनुपरेको थियो।

पुलिसलाई पहिलो गाँसमै ढुङ्गा लागेको थियो। उसले पहिलो सेट २५-२२ ले एपीएफलाई सुम्पियो। दोस्रो सेट भने २५-२० ले सजिलै हात पार्न सफल भयो। तर तेस्रो सेटमा पुलिसका खेलाडीको विसर्नलायक गल्ती दोहोर्‍याए।

सुपर ओभरमा प्रवेश गरेको तेस्रो सेट ३२-३० ले एपीएफले कब्जा गर्‍यो।तर पनि चौथो सेट पुलिसले एपीएफबाट २५-१७ ले सजिलै खोस्न सफल भयो। अन्तिम सेटमा लगातार आक्रमण नगरी डिफेन्स गर्न खोज्दा १६-१४ ले गुमाउँदै एपीएफका सामु हार स्वीकार्न बाध्य भयो।सो खेलमा एपीएफका टीम कप्तान निमा श्रेष्ठ वुमन अफ दी म्याच घोषित भइन्।

खेलपछि एपीएफका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले डिफेन्स कमजोर भए पनि स्पाइकरका कारण नै खेल जित्न सकेको दाबी गरे। उनको भनाइ थियो-’अन्तिम सेटको अन्तिममा मेरो केही लाग्ने थिएन जे गर्छन् खेलाडीले नै गर्छन् भनेर छोडेको थिएँ तर स्पाइकरले लगातार स्पाइक गरेपछि जीत हात पर्‍यो।’ उनले फाइनलमा पनि आफ्नो टीमको खेल यस्तै हुने बताए।

पुलिसका प्रशिक्षक भरत शाह भने टीममा सबै पक्ष राम्रो भए पनि अन्तिममा किप्लेयर चल्न नसकेपछि नतिजा विपरीततर्फ गएको प्रतिक्रिया दिए।उनको भनाइ थियो-’अन्तिममा रेगुलर स्पाइक गर्नुपर्नेमा खेलाडीले त्यसो गरेनन् डिफेन्स गर्नतिर लागे, त्यसको ठीक विपरीत विपक्षीले गरे।’

शनिबार ज्ञानुबाबा र एपीएफ क्लबबीच दिउँसो दुर्इ बजे फाइनल खेल हुनेछ भने त्यसअिघ ११ बजे  नेपाल पुलिस क्लब र न्यू डायमण्ड एकेडेमीबीच तेस्रो स्थानको लागि खेल हुने क्षेत्रीय भलिबल सङ्घका सचिव डीबी नेपालीले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने टीमले नगद एकलाख एकहजार एकसय ११, द्वितीय हुने टीमले नगद ५० हजार पाँच सय ५५, तृतीय हुने टीमले नगद २० हजार दुर्इ सय २२ र चौथो हुने टीमले नगद १० हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै बेस्ट प्लयेर, बेस्ट स्पाइकर, सटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्डर र बेस्ट क्वीकरलाई पनि आकर्षक पुरस्कार दिइने प्रतियोगिताका संयोजक छ्यामबहादुर थापाले जानकारी दिए।

- प्रेमनारायण न्यौपाने