पत्रकार थापाका हत्यारालाई कारबाही गर्न माग गर्दै धर्ना

बागलुङ, २७ पुस। दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यारालाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै बागलुङमा शुक्रबार सञ्चारकर्मी मानव अधिकारकर्मी र द्वन्द्वपीडितले विरोध प्रदर्शन गर्दै प्रशासन कार्यालयमा धर्ना दिएका छन्।

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखा क्रान्तिकारी पत्रकार सङ्घ, प्रेस युनियन, प्रेस चौतारी लगायतका पेशागत सङ्घ सङ्गठनले संयुक्त विरोध गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र  बुझाएका हुन्।

दैलेखमा द्वन्द्वको समयमा माओवादी कार्यकर्ताबाट हत्या गरिएका पत्रकार डेकेन्द्र थापाका हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै प्रहरी प्रशासनले गरेको काम कारबाहीलाई प्रभावित पार्न प्रधानमन्त्रीले दिएको अभिव्यक्ति समेत दुखद् भएको ज्ञापनपत्रमा उल्लेख छ।

नेपाल पत्रकार महासङ्घको शाखा कार्यालयबाट सञ्चारकर्मी, मानव अधिकारकर्मी, द्वन्द्वपीडित भेला भएर विभिन्न नारा लेखिएका व्यानरसहित नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगी आधा घण्टा धर्ना दिएका थिए।

- अादर्श समाज सम्वाददाता