नवौं पटक समय थप, बिहीबार सर्वदलीय बैठक आह्वान

काठमाडौं, २६ पुस । सहमतीय सरकार गठनका लागि राष्ट्रपति डा.रामवरण यादवले नवौं पटक पाँच दिनको समय थप गरेका छन्। प्रमुख चार दलका शीर्ष नेतासँगको भेटपछि राष्ट्रपतिले माघ १ गतेसम्मको समय थप गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फ जनाएको छ।

यसअघि आठौं पटक थपिएको समय बुधबार सकिएको थियो। राष्ट्रपतिले थपिएको समयमा दलहरू सहमतीय सरकार गठन गर्न सफल हुने विश्वास लिएका छन्। यसअघि राष्ट्रपति यादवले मङ्सिर ८ गते पहिलो पटक एक हप्ताको समय दिएर सहमतीय सरकार गठनका लागि आÞवान गरेका थिए।

त्यसअघि प्रमुख चार दल एकीकृत माओवादी, नेपाली काङ्गे्रस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मोर्चाले सहमतीय प्रयास जारी रहेको भन्दै पुस मसान्तसम्म कुनै निकाशमा पुग्न प्रयत्न गर्ने बताएका थिए।

राष्ट्रपति डा. रामवरण यादवसँग भएको भेटमा प्रमुख दलका नेताहरूले सहमतीय प्रयास जारी रहेको भन्दै पुस मसान्तसम्म सहमतिको प्रयास गर्ने बताएका हुन्।

बैठकपछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिको प्रयास जारी रहेकोले राष्ट्रपतिले आवश्यक ठानेमा पुस मसान्तसम्मको समय थप गर्न सक्ने बताए।

भेटवार्तामा राष्ट्रपतिले आठ पटकका समय सीमामा समेत निकाश दिन नसकेको भन्दै दलका नेताहरूसँग असन्तुष्टि जनाएका थिए। राष्ट्रपतिले संविधानसभा पुनर्स्थापनाको विकल्पमा जानुभन्दा अझै पनि सहमतिको प्रयास गरेर मध्यजेठसम्म निर्वाचन गर्न दलहरूलाई सुझाव दिएका थिए।

भेटपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले गतिरोध तोड्न माओवादी अध्यक्षसँग आग्रह गरिएको बताए। स्रोतका अनुसार नेपालले काङ्ग्रेस सभापति सुशील कोइराला बाहेकको विकल्पमा गएर भए पनि निर्वाचन सुनिश्चित गर्न आग्रह गरेका थिए।

नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने राष्ट्रपतिसँगको भेटमा खासै गम्भीर कुरा हुन नपाएको बताए।

आठ पटकसम्म दिएको समयमा समेत सहमतीय सरकार गठन गर्न प्रमुख दल विफल भएपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न राष्ट्रपति यादवले बिहीबार प्रमुख चार दलका शीर्ष नेताहरूसँग परामर्श गरेका हुन्।

राष्ट्रपतिसँगको परामर्शका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहाल, काङ्ग्रेस सभापति कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारलगायत कार्यालय शीतल निवास पुगेका थिए।

सहमतीय सरकार गठन र निर्वाचन सुनिश्चित गर्नेबारे राष्ट्रपति यादवले शुक्रबार विघटित संविधानसभा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलका लागि बोलाएका छन्। राष्ट्रपति यादवले सहमतीय सरकार गठनका लागि मङ्सिर ८ गते पहिलो पटक आÞवान गरेका थिए।

- अादर्श समाज सम्वाददाता