महिला हिंसाविरुद्ध महिला सञ्चारकर्मी

पोखरा, २६ पुस। पोखरामा सञ्चालित माछापुच्छे्र एफएम महिला सञ्चारकर्मी युनिटले महिलामाथि भइरहेका हिंसा अन्त्य र पीडकलाई कारबाहीको माग गर्दै पोखरामा बिहीबार प्रदर्शन गरेको छ। ‘के छोरी भएर जन्मनु अपराध हो त -’ भन्ने प्रश्न लेखिएको मूल ब्यानर प्रदर्शन गर्दै र्‍याली निकालिएको हो।

पोखराको चिप्लेढुङ्गा मानव अधिकारचोकबाट सुरु भएको र्‍याली चिप्लेढुङ्गा बीपीचोक, महेन्द्रपुल भिमसेनचोक परीक्रमा पछि बीपीचोकमा आएर सभामा परिणत भएको थियो।

र्‍यालीमा तमु प्ये ल्हु सङ्घ केन्द्रीय आमा समिति, अन्नपूर्ण आमा समूह, अन्तरदृष्टि नेपाल, मानवअधिकारका लागि महिला एकल महिला समूह कास्की, महिला क्षत्री समाज नेपाल वैदाम, शान्त तमु समाज, लामाचौर, घारीपाटन आमा समूह, जाल्पादेवी महिला उद्धार समिति, नागरिक समाज कास्की, पदममार्ग आमा समूह, कम्युनिटी सपोर्ट ग्रुपले पनि ऐक्यबद्धता जनाएका थिए।

सभामा सहभागिले मैनबत्ति प्रज्ज्वलन गर्दै महिला हिंसा अन्त्यको कामना समेत गरेका थिए। र्‍यालीका  सहभागीले महिला हिंसाविरुद्ध नाराबाजी पनि गरेका थिए। र्‍यालीमा हामीलाई पीडा दिन बन्द गर, म ढुक्क भएर बाँच्न चाहन्छु, महिलालाई सम्मान गर, मौनतालाई तोडौं, हाम्रो आवाज महिला हिंसाविरुद्धको समाज लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो।

सभामा बोल्दै स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले छोरा र छोरीबीच गरिने विभेदले समाजमा विकृति निम्त्याएको बताए। उनले छोरीलाई पनि परिवार र राज्यले समान सेवा र सुविधा दिनुपर्नेमा जोड दिए।

अध्यक्ष बास्तोलाले राज्यका  हरेक निकायमा महिला सहभागिता बढाउन सके महिला हिंसा अन्त्यका लागि टेवा पुग्ने बताए। सहकार्य नेपालकी अध्यक्ष शुलोचना शर्माले हिंस्रक प्रवृत्तिका मानसिकता भएका व्यक्तिहरूले महिलामाथि हिंसा गर्दै आएको बताए। उनले महिला हिंसा अन्त्यका लागि सबै क्षेत्रलाई सचेत बनाउनुपर्ने आवश्यकता औंल्याइन्। त्यस अवसरमा क्षत्री महिला समाज कास्कीकी सचिव दुर्गा रायमाझीले महिला हिंसाविरुद्धको कविता वाचन गरेकी थिइन्।

सभामा संयोजक दुर्गा राना मगरले स्वागत र समाचार वाचिका लक्ष्मी केसीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता