एपीएफ, पुलिस र न्यू डायमण्ड अन्तराष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा

पोखरा, २६ पुस। काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलको १२ औं खेलमा सरस्वती क्लबसँग ३-० ले पराजित भएको दिन सशस्त्र प्रहरी बलको एपीएफ क्लब भने ३-१ को सेटमा जीत हात पार्दै पोखरामा जारी नोङसिम शिन राम्योन दोस्रो अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

ढोरपाटन कपको विजेता एपीएफ बिहीबार भएको नकआउट चरणको खेलमा भारतको वर्षात एकेडेमी कोलकातालाई ३-१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।पहिलो सेट २५-१९ ले सजिलै आफ्नो कब्जामा पारेको एपीएफले दोस्रो सेट भने सुपरओभरमा प्रवेश गर्दै २७-२५ ले हात पार्‍यो।

खेलाडीबीच आपसी तालमेलको अभाव देखिएको तेस्रो सेट भने २३-२५ ले वर्षात एकेडेमीलाई सुम्पियो तर सम्हालिँदै खेलेपछि चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा अर्को विभागीय टीम नेपाल पुलिसँग भेट पक्का गर्‍यो।

लिगचरणका दुवै खेलमा पराजय बेहोरे पनि सेमिफाइनलको ढोका उघार्ने अवसरलाई भने सदुपयोग गर्न सकेन।सो खेलमा वर्षात एकेडेमी कोलकाताको तर्फाट उत्कृष्ट प्रदर्शन गरेकी वसन्ती उराव वुमन अफ दी म्याच घोषित भइन्।

यसअघि भएको अर्को खेलमा नेपाल पुलिस क्लबले पोखराको फिस्टेल उमाविलाई ३-१ को सेटमै पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो।लिगचरणका तीनवटै खेलमा पराजय भोगे पनि पोखरामा पहिलो पटक लागू गरिएको नियमअनुसार सेमिफाइनल प्रवेश गर्ने अवसर पाएको फिस्टेलले पुलिसविरुद्ध एक सेटमा मात्र आफ्नो पक्षमा पार्न सफल भयो।

पहिलो सेट २५-१४ ले सजिलै जितेको पुलिस दोस्रो सेट २५-१९ ले पुनः जित्यो तर पोखरेली दर्शकको पूर्ण समर्थन र स्पाइकर सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनको अगाडि उसको केही लागेन र तेस्रो सेट २३-२५ ले फिस्टेललाई सुम्पिन बाध्य भयो।

सरस्वती चौधरीको मात्र एकल प्रयासले सम्हालिन नसकेपछि फिस्टेलले अन्तिम सेट २५-१५ ले पुलिसलाई सुम्पिँदै हार स्वीकार्न बाध्य भयो। फिस्टेलविरुद्धको खेलमा उच्च प्रदर्शन गरेकी पुलिसकी कप्तान नीताकुमारी शाह वुमन अफ दी म्याच घोषित भइन्।

बिहीबारको अन्तिम खेलमा जुनियर तर प्रदर्शनमा अत्यन्तै खारिएको काठमडौंको न्यू डायमण्ड एकेडेमीले भारतको वरिशा सबुज सङ्घ कोलकाताविरुद्ध ३-२ को कठिन जीत हात पार्दै सेमिफाइनलमा डिफेण्डिङ च्याम्पियन  ज्ञानुबाबा उमाविसँगको भेट निश्चित गर्‍यो।

अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको पहिलो सेट २२-२५ ले गुमाएको न्यू डायमण्डले लय समात्दै दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१५ ले लगातार दुर्इ सेट आफ्नो पक्षमा  पार्‍यो। पोखरेली दर्शकको पूर्ण समर्थन पाउँदा पाउँदै पनि चौथो सेट २३-२५ ले वरिशालाई सुम्पियो र पाँचौं सेटलाई निम्ता दियो।

अन्तमा पोखरेली दर्शकको समर्थनलाई आत्मसात गर्दै पाँचौं सेट २५-७ ले आफ्नो कब्जामा लिँदै पहिलो सहभागितामै सेमिफाइनलको यात्रा तय गर्न सफल भयो।उसको समर्थनमा पोखरेली दर्शक झण्डा बोकेर पोखरा रङ्गशाला आएका थिए। सो खेलमा स्तरीय प्रदर्शन गर्न सफल न्यू डायमण्डकी प्रतिभा माली वुमन अफ दी म्याच घोषित भइन्।

यसअघि लिगचरणको अन्तिम खेलमा एपीएफले वरिशा सबुज सङ्घलाई २५-१८, २५-२३ र २५-८ को सोझो सेटमा पराजित गरेको थियो। सो खेलमा एपीएफकी विनिता बूढाथोकी वुमन अफ दी म्याच घोषित भएकी थिइन्।

यसपटक भारतबाट आएका दुवै टीमले स्तरीय खेल प्रदर्शन गर्दै पोखरेली दर्शकको माया बटुल्न सफल भए।गत वर्षआएका टीमको खराब प्रदर्शनले गर्दा निराश भएका पोखरेली दर्शकमा वर्षात एकेडेमी र वरिशा सबुज सङ्घको प्रदर्शनले निक्कै उत्साह थपिदिएको थियो।

शुक्रबार सेमिफाइनलका खेल हुनेछन्।जसअनुसार ज्ञानुबाबा उमावि र न्यू डायमण्ड एकेडेमीबीच पहिलो तथा एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच दोस्रो सेमिफाइनल खेल हुने क्षेत्रीय भलिबल सङ्घका सचिव डीबी नेपालीले जानकारी दिए।

- प्रेमनारायण न्यौपाने