पोउवासङ्घमा सल्लाहकार र कार्यसमिति सदस्य मनोनीत

पोखरा, २६ पुस। पोखरा उद्योग वाणिज्य सङ्घको कार्यसमिति सदस्यमा तीन जना मनोनीत भएका छन्। मनोनीत हुनेमा आइरन एलिगेन्सका रामबहादुर बसेल, ओपन हर्ट ट्राभल एण्ड टुर्स प्रालिका पोमनारायण श्रेष्ठ र फेवा लेक रेष्टुरेण्टका बलराम पहारी रहेका छन्।

सङ्घको बिहीबार सम्पन्न कार्यसमितिको पाँचौ बैठकले उनीहरूलाई कार्यसमिति सदस्य पदमा मनोनीत गरेको सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले जनाए।

सङ्घको विधान २०५० को परिच्छेद ६ (कार्यसमिति) को ६.१.१ -ङ) ले दिएको अधिकार प्रयोग गरी अध्यक्ष कोइरालाले कार्यसमितिको सल्लाहमा उनीहरूलाई कार्यसमिति सदस्य पदमा मनोनीत गरेका हुन्।

कार्यसमितिमा चारजना मनोनीत गर्ने अधिकार भएकोमा यसअघि नै अध्यक्षले हालका प्रथम उपाध्यक्ष विन्दुकुमार थापालाई सदस्यमा मनोनीत गरिसकेका छन्।

यसैगरी सङ्घको कार्यसमितिलाई आवश्यक राय, सल्लाह र सुझाव प्रदान गर्नको लागि पूर्व अध्यक्षहरू अशोक पालिखे, आजाद श्रेष्ठ, रमेश कर्माचार्य, राजेन्द्रकुमार लालचन, दीपक श्रेष्ठ र मानकाजी माकाजूलाई सल्लाहकारमा मनोनयन गरिएको सङ्घका महासचिव नारायण कोइरालाले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता