समाजसेवी क्षत्रीको स्मृतिमा अक्षयकोष स्थापना

पोखरा, २३ पुस। मानव मिलन नारी जागरण नेपालले संस्थाकी संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतीमा अक्षयकोषको स्थापना गर्ने घोषणा गरेको छ।

संस्थाले कोषाध्यक्ष क्षत्रीको निधन भएको १३ औं दिनको पुण्यतिथिमा सोमबार पोखरा-१७ बिरौटामा आयोजित श्रद्धाञ्जली सभामा सो घोषणा गरेको हो।

अक्षयकोषबारे घोषणा गर्दै मानव मिलन नारी जागरण नेपालकी अध्यक्ष सावित्री शर्माले क्षत्रीको स्मृति तथा योगदानको कदर स्वरुप संस्थाको तर्फबाट ७६ हजार एक सय ५१ रुपैयाँको अक्षयकोष खडा गरेको जानकारी गराइन्।

सोही क्रममा श्रद्धाञ्जलीसभाका सहभागीले पनि स्वतस्फुतरूपमा २५ हजार तीन सय रुपैयाँ प्रदान गरेपछि अक्षयकोषको राशि एक लाख तीन हजार एक सय ५१ रुपैयाँ पुगेको छ।

उक्त कोषबाट सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने एक महिलालाई वर्षेनी सम्मान गर्ने अध्यक्ष शर्माले जानकारी दिइन्।

कार्यक्रममा बोल्दै मानव मिलन नेपाल स्याङ्जाका अध्यक्ष नारायणप्रसाद पौडेलले संस्थाले स्व. क्षत्रीको स्मृतिमा वृत्तचित्र बनाउने बताए।

स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले  मानिसको जन्मसँगै मृत्यु निश्चित भएकाले आफूलाई मरेपछि पनि बचाइराख्ने खालको सामाजिक काम गर्न प्रेरित हुनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा मानव विकास मञ्च नेपालका अध्यक्ष सुष्मा पौडेल, अग्रसर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गा आचार्य, टोल विकास संस्था समन्वय समिति पोखरा-१७ का संयोजक टोपराज ढुङ्गाना, मानव अधिकारका लागि एकल महिला समूह पोखरा-१७ का सचिव रत्ना श्रेष्ठ, रामेश्वर टोल विकास संस्थाका अध्यक्ष दुर्गाबहादुर बराल, मानव मिलनका रीता सुवेदी पौडेल र स्वर्गीय क्षत्रीका भाञ्जा गिरमान खड्कालगायतले स्वर्गीय क्षत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका थिए।

मानव मिलन नारी जागरण नेपालका अध्यक्ष सावित्री शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव पार्वती पौडेलले गरेकी थिइन्।

स्याङ्जाको चिलाउनेवास-२ मा जन्मिएकी स्व. क्षत्रीको पुस ११ गते बागलुङस्थित रिघाको फेदीमा जिप दुर्घटनामा परी निधन भएको थियो।

२०४९ सालदेखि सामाजिक क्षेत्रमा क्रियाशील क्षत्री महिला, बालबालिका तथा सामाजिक क्षेत्रमा बढी सक्रिय थिइन्। उनी यूएसएआईडी सुआहारा संस्थामा कार्यरत थिइन् भने मानव मिलन नारी जागरण नेपालका संस्थापक कोषाध्यक्ष, एकल महिला समूह पोखरा-१७ का संस्थापक अध्यक्ष, आमा मिलन संस्थाका आजीवन सदस्य, आमा मिलन सहकारीका शेयर सदस्य, अग्रसर बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य, स्याङ्जाली सर्म्पर्क समाजका आजीवन सदस्य, पञ्चासे सहकारी संस्थाका शेयर सदस्यलगायत विभिन्न सङ्घसंस्थामा आबद्ध थिइन्। नेकपा एमाले स्याङ्जा चिलाउनेवास-२ का पूर्व वडाअध्यक्ष रहेकी क्षत्री स्याङ्जामा स्थापित अन्धाअन्धी सामुदायिक विकास केन्द्रका पूर्व सचिव समेत थिइन्।

उनका १८ वर्ष र १४ वर्षका दुर्इ छोरी छन्। श्रीमानको भने १० वर्षअघि निधन भएको थियो।

- अादर्श समाज सम्वाददाता