छ महिने निशुल्क ब्युटीसियन तालिम सुरु

पोखरा, २३ पुस। पोखरामा सोमबारदेखि छ महिने निशुल्क ब्युटीसियन तालिम सुरु भएको छ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकको आयोजना तथा गुरुङ ब्युटीपार्लर एण्ड एकेडेमी पोखराको प्राविधिक सहयोगमा उक्त तालिम सुरु भएको हो।

न्यून आर्थिकस्तर भएका  महिलाहरूका लागि सञ्चालित उक्त तालिममा पोखराका विभिन्न स्थानका १५ जना महिलाहरूको सहभागिता छ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख शैलेश थापा क्षत्रीले महिला हिंसा अन्त्यका लागि महिलाहरू स्वयं स्वावलम्वी हुनुपर्ने औंल्याए।

तालिमले महिलालाई स्वावलम्वी बनाउँदै महिला हिंसा न्यूनीकरणमा सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरे।

शारीरिक सुन्दरता क्षणिक हुने भन्दै उनले मरणोपरान्त रहिरहने मानसिक सुन्दरता नै दिगो सुन्दरता भएको बताए।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठले महिलाहरूका लागि यो एउटा अवसर भएको भन्दै सफलतापूर्वक तालिम लिन अनुरोध गरे।

त्यस्तै, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, पत्रकार सुष्मा पौडेल, तिव्वतीयन क्याम्प व्यापारिक एशोसिएसनका अध्यक्ष सुरेन्द्र श्रेष्ठले महिला हिंसा अन्त्य र महिला सशक्तीकरणका लागि आर्थिक सशक्तीकरण महत्त्वपूर्ण हुने भन्दै तालिम सिकेर व्यवहारमा उतार्न सके महिला सशक्तीकरणमा सघाउ पुग्ने धारणा व्यक्त गरे।

कार्यक्रम संयोजक तथा गुरुङ ब्युटी एकेडेमीका प्रबन्धक ब्युटीसियन चिनु गुरुङले तीन महिनाको लागि आयोजना गरिएको उक्त तालिम तीन महिना पर्याप्त नहुने भन्दै सोही मञ्चबाट पाँच महिनाका लागि तालिम उपलव्ध गराउने घोषणा गरेकी हुन्।

साथै, अर्को छ महिना भोलिन्टियर सेवा प्रदान गरिने भन्दै तालिम पूरा भएपछि व्यवसायिक विकासका लागि समेत विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनीलगायत अन्य दुर्इजना प्रशिक्षकले निशुल्क प्रशिक्षण दिने जनाइएको छ। केन्द्रका अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव एकबहादुर कार्कीले गरेका थिए। साथै उद्घाटन कार्यक्रमपश्चात कार्यक्रमका सहभागीले गुरुङ ब्युटी एकेडेमीद्वारा सञ्चालित पृथ्वीचोकको ब्युटीपार्लर, भाटभटेनी सुपरमार्केटमा सञ्चालित गुरुङ ब्युटी पार्लर र गुरुङ ह्याण्डसम सैलुन, न्यूरोडमा रहेको ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टर र ह्याण्डसम पार्लरको अवलोकन भ्रमण गरेका थिए।

- अादर्श समाज सम्वाददाता