अन्तर्राष्ट्रिय महिला भलिबलको उद्घाटन खेलमा ज्ञानुबाबा विजयी

पोखरा, २३ पुस। डिफेण्डिङ च्याम्पियन पोखराको ज्ञानुबाबा आवासीय उच्च मावि सोमबारदेखि पोखरामा सुरु भएको नोङसिम शिन राम्योन अन्तर्राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ।

पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घको आयोजनामा सोमबार भएको खेलमा ज्ञानुबाबाले पोखराको फिस्टेल उच्च माविलाई २५-१५, २५-१२, १६-२५ र २५-१० को सेटमा पराजित गर्दै विजय हासिल गरेको हो। खेलमा ज्ञानुबाबाकी अन्तर्राष्ट्रिय खेलाडी मञ्जु गुरुङ वुम्यान अफ दी म्याच घोषित भइन्। अन्तर्राष्ट्रिय खेलाडी सिपोरा गुरुङबिना मैदानमा उत्रिएको फिस्टेलको कप्तानी शारीरिकरूपमा उच्च कद भएकी सरस्वती चौधरीले सम्हालेकी थिइन्। ज्ञानुबाबाले यसपाली टप्स उच्च माविबाट तीन खेलाडी  ल्याएको छ। टप्सका ऋषिसरा थापा, मनिसा चौधरी र विमला चौधरी ज्ञानुबाबाबाट खेल्दैछन्। आफ्नो टीममा केही खेलाडीहरू नभएकाले टप्सबाट तीन खेलाडी लिएर विगत १५ देखि प्रशिक्षण गराउँदै आएको म्यानेजर शुभकन्या गुरुङले बताइन्।

सोमबार भएको दोस्रो खेलमा ढोरपाटन कप विजेता विभागीय टोली नेपाल पुलिसले काठमाडौंको न्यू डायमण्ड एकेडेमीलाई ३-१ को सेटमा पराजित गरेको छ। पुलिसले पल्सर वर्ष खेलाडी रमिला तण्डुकारको कप्तानीमा उत्रिएको न्यू डायमण्डलाई २५-१६, २५-११, ८-२५ र २५-१९ को सेटमा पराजित गरेको हो। खेलमा वुम्यान अफ दी म्याच पुलिसकी कोपिला उप्रेती घोषित भइन्। पुस २८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन गर्दै नेपाल भलिबलका केन्द्रीय अध्यक्ष दानबहादुर तामाङले पश्चिमाञ्चलमा डेढ वर्षदेखि महिला भलिबल खस्किदै गएकोमा चिन्ता व्यक्त गरे। खेलाडीहरू हरेक खेलमा अनुशासनपूर्वक सहभागी हुनुपर्नेमा उनले जोड दिए। छ वर्षमा साउथ एसियाबाट पुरुष भलिबलको पदक तथा चार वर्षमा महिला भलिबलबाट पदक ल्याउने उद्देश्य सङ्घले राखेको बताउँदै अध्यक्ष तामाङले खेलाडीले अनुशासित भएर खेल्न नसके बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई समेत निष्काशन गर्ने चेतावनी दिए।

प्रतियोगितामा भारतको वर्षात एकेडेमी कोलकत्ता, वरिसा सवुज सङ्घ कोलकत्ता, विभागीय नेपाल पुलिस, सशस्त्र प्रहरी बल (एपीएफ), डिफेण्ङि च्याम्पियन ज्ञानुबाबा आवासीय उच्च मावि पोखरा, फिस्टेल उच्च मावि पोखरा र न्यू डायमण्ड एकेडेमी काठमाडौं सहभागी रहेको प्रतियोगिता संयोजक छ्यामबहादुर थापाले बताए। प्रतियोगिताको विजेता टीमलाई एक लाख एक हजार एक सय ११, उपविजेतालाई ५० हजार पाँच सय ५५, तेस्रो हुनेलाई २० हजार दुर्इ सय २२, सान्त्वना हुनेलाई १० हजार एक सय ११ साथमा ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने संयोजक थापाले जानकारी दिए।

पोखरा र·शालामा व्यवस्थित भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सङ्घले जनाएको छ। यस पटक पनि भलिबल खेल म्याटमा खेलाइएको सचिव डीबी नेपालीले बताए।

लिग कम नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, बेष्ट स्पाइक, बेष्ट सेटर, बेष्ट ब्लकर, बेष्ट डिफेन्स र बेष्ट क्वीकरलाई आकर्षक पुरस्कार प्रदान गरिने छ। राष्ट्रिय खेलकुद परिषद्, नेपाल भलिबल सङ्घ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला भलिबल सङ्घले उक्त प्रतियोगिताका लागि विशेष सहयोग गरेका छन्।

प्रतियोगिता सम्पन्न गर्न १६ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको सङ्घका कोषाध्यक्ष एवं आर्थिक संयोजक प्रदीप गौचनले बताए। मुख्य प्रायोजक शिन राम्योन चाउचाउले प्रतियोगिता सम्पन्न गर्न चार लाख सहयोग गरेको छ। प्रतियोगिता संयोजक छ्यामबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सङ्घका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङ, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालालगायतले बोलेका थिए।

म·लबार ज्ञानुबाबाविरुद्ध भारतको वरिसा सवुज सङ्घ कोलकत्ता र अर्को खेलमा न्यू डायमण्डले भारतको वर्षात एकेडेमी कोलकत्तासँग सामना गर्ने भएको अफिसियल नारायण भण्डारीले बताए।

म·लबार बिहान जापान कोमागाने स्कुलको टोली र ज्ञानुबाबासँग मैत्रीपूर्ण खेल हुने सङ्घले जनाएको छ।

- अादर्श समाज सम्वाददाता