महिला सशक्तीकरण कार्यक्रम

पोखरा, २३ पुस। वडास्तरीय महिला समन्वय समिति पोखरा-१८ को आयोजनामा पोखरामा सञ्चालित उद्घोषण तालिम तथा सशक्तीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ। महिलाहरूमा बोल्ने कलाको विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वडा नं. १८ का ५५ जना महिला सहभागी थिए।

तालिम समापन समारोहमा बोल्ने प्रशिक्षार्थीहरूले कार्यक्रम आफ्नाका लागि फलदायी भएको र सिकेको कुरालाई व्यवहारमा लागू गर्ने बताएका थिए।

प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले महिलाहरूको सक्षरता अभिवृद्धिका लागि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

उनले नगरपालिकाले महिला सशक्तीकरणका लागि प्रदान गर्दै आएको आर्थिक सहयोगको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा  समितिका सल्लाहकार पुरुष संयोजक एवं समाजसेवी बोधराज कार्की, पोखरा-१८ का वडा सचिव हर्कबहादुर कुँवर, आदर्श समाज राष्ट्रिय दैनिकका प्रमुख समाचारदाता नवीन सिग्देल, समितिका सल्लाहकार महिला संयोजक यशोदा भट्टराई, सल्लाहकार एवं कार्यक्रम संयोजक सविता कार्की, सल्लाहकारहरू रोमबहादुर कार्की, जगन्नाथ तिमिल्सिना, ललित बानियाँ, एनेकपा माओवादीका खड्क विक, प्रमुख प्रशिक्षक रीता गुरुङ, शुक्रराज बलभद्र उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष बयनबहादुर गुरुङ, मनकामना मन्दिर संरक्षण समितिका अध्यक्ष बासुदेव बानियाँ, टोल समन्वय समिति पोखरा-१८ का अध्यक्ष तोरणबहादुर खड्का, प्रशिक्षार्थीहरू पुष्पा भण्डारी, सृजना केसी, सकुन्तला गुरुङ, विन्दु बराल र सविता चापागाईंले बोलेका थिए।

वडास्तरीय महिला समन्वय समिति पोखरा-१८ का अध्यक्ष इन्द्रमाया बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष काशीमाया गुरुङले स्वागत र सचिव लक्ष्मी भट्टराईले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता