यातायात सेवा व्यवस्थित बनाउन लागू गरिएको टाइमकार्डले यात्रुलाई सास्ती

यात्रुको सुविधा र सवारी साधन समयमै गन्तव्यमा पुग्नका लागि पोखराका माइक्रोबसमा लागू गरिएको टाइमकार्डका कारण यात्रुहरूले झन् सास्ती भोग्नुपरेको छ।

केही सवारी चालकहरूले टाइमकार्डका नाममा मनोमानी गरेपछि दुर्घटनाको जोखिमसमेत बढेको यात्रुहरूले गुनासो गरेका छन्। गाडी छुट्नेबित्तिकै चालकहरूले समयको ख्याल नगर्ने र समय सकिनै लाग्दा तीव्र गतिमा चलाउँदा र भनेको ठाउँमा ओराल्न नमान्दा यात्रुहरूले सास्ती भोग्नुपरेको हो।

अहिले पोखरा बस व्यवसायी समिति र ट्याक्सी व्यवसाय समितिले पोखरामा सञ्चालित माइक्रोबसहरूमा टाइमकार्डको व्यवस्था गरेको छ। यसले यातायात मजदुरबीच द्वन्द्वको अन्त्य र अव्यवस्थित यातायात प्रणालीलाई व्यवस्थित पार्ने प्रयास भएपनि चालक तथा सह-चालकहरू संयमित नहुँदा यात्रुहरू मर्कामा परेका हुन्। कुनै ठाउँमा १० मिनेटभन्दा बढी समयसम्म रोकेर राख्ने र कुनै ठाउँमा चढेका यात्रुहरू ओराल्नसमेत नमान्ने प्रवृत्तिका कारण समस्या भएको यात्रुहरूको गुनासो छ।

विशेषगरी, पोखराको हरिचोक-हस्पिटल चोक रुटमा चल्ने माइक्रोबसका चालकहरूले टाइमकार्डका नाममा तीव्र गतिमा गाडी चलाउने र यात्रुलाई दुःख दिने गरेका छन्। यही रुट भएर चल्ने ग१ज ३३ ९९ नम्बरको माइक्रोबसमा सोमबार बिहान यस्तै भयो।

ट्याक्सी व्यवसायी समितिले हरिचोकबाट पाँच/पाँच मिनेटमा माइक्रोबस छुट्ने गरी टाइमकार्ड लागू गरेपनि पस्र्याङचोकमा १० मिनेटभन्दा लामो समयसम्म कुर्दा पनि यात्रुले गाडी पाएनन्। समितिले ढिलो गरी गन्तव्यमा पुग्ने र अर्को बसले ओभरटेक गरी अघि गएमा जरिवाना तिराउने व्यवस्था गरेको छ। पहिले समयको वास्ता नगरेका चालकले कुदाएको गाडी मालेपाटन पुग्दा अर्को गाडीले पछाडिबाट भेट्नै लागेको थियो।

चालकचाहीँ ओर्लने यात्रुको वास्ता नगर्दै यात्रुले खचाखच भरिएको गाडी तीव्र गतिमा कुदाउँदै थिए। साँघुरो बाटोमा तीव्र गतिमा चलाइएको गाडीमा झुण्डिएर र समातेर बसेका यात्रुचाहिँ गाडीमा ठोक्किँदाको चोट खेप्न बाध्य थिए। चोट मात्रै होइन उनीहरू झर्नुपर्ने ठाउँभन्दा २ देखि ३ सय मिटर टाढासम्म र्झन बाध्य पनि थिए।

तीमध्ये कोही बिरामी थिए त कोही ज्येष्ठ नागरिक अनि कोही भरिया र नानीसँगका आमापनि। तैपनी आफूलाई पायक पर्दा ५० मिटरको फरकमा गाडी रोक्ने चालक, झरेका यात्रु गाडीमा नचढ्दै गाडी गुडाउन छोडेनन्। यो एउटा उदाहरण मात्रै हो। चालकले आफूखुसी अनावश्यकरूपमा गाडी रोक्दा र कुनै ठाउँमा जथाभावी चलाउँदा टाइमकार्डका नाममा यात्रुले सास्ती पाउने नियति चाहीँ कहिले रोकिने हो यसै भन्न सकिँदैन।

माइक्रोबसका चालक तथा सह-चालकहरूले भाडा असुलिसकेपछि यात्रुलाई राम्रो व्यवहार नगर्ने र अपशव्द प्रयोग गर्ने गुनासो आउन थालेपछि ट्राफिक प्रहरीले पनि निगरानी बढाउने भएको छ। ट्राफिक प्रहरीको आँखा छलेर क्षमताभन्दा बढी यात्रु चढाउने, तीव्र गतिमा हाँक्ने र समय छैन भन्दै गन्तव्यमा यात्रु ओराल्न नमान्ने गाडीका चालक तथा सह-चालकहरूलाई निगरानी गरी कारबाही गरिने कास्कीका ट्राफिक प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए। ‘माइक्रोबस रोक्नै नपाइने भन्ने होइन, गाडीको चाप नभएको बेला र विशेष क्षेत्रबाहेक अन्य ठाउँमा छोटो समयका लागि मात्रै यात्रु ओराल्न र चढाउँदा अवरोध गरेका छैनौं-उनले भने-’तर यात्रुले दुःख पाउनु हुँदैन।ु

अहिले पोखरामा पोखरा बस व्यवसायी समिति र ट्याक्सी व्यवसायी समितिका गरी तीन सयभन्दा बढी मिनी तथा माइक्रोबस चल्छन्। तीमध्ये अहिले ट्याक्सी व्यवसायी समितिले मात्रै आफू मातहतका ५४ वटा माइक्रोबसमा अनिवार्य टाइमकार्डको व्यवस्था गरेको छ। समयमा गन्तव्यमा नपुग्ने गाडीलाई यातायात व्यवसायी समितिले जरिवाना पनि तिराउने गरेको छ। पोखरा बस व्यवसायी समितिले चाहिँ पहिले टाइमकार्डको व्यवस्था गरेपनि अहिले चाहिँ हल्लनचोक काँहूखोला रुटबाहेक अन्यमा टाइमकार्ड लागू नगरेको समितिका अध्यक्ष ऐनकुमार साईले बताए।

यातायात सेवा व्यवस्थित बनाउने नाममा लागू गरिएको टाइमकार्ड आफैंमा एउटा नीति भएपनि, सवारी साधनमा कार्यरत चालक र सह-चालकले समयको सन्तुलित प्रयोग नगर्दा यात्रुहरूले चाहिँ सास्ती पाएका छन्। बढ्दो सवारी चापसँगै ट्राफिक जाम टाइमकार्डको प्रमुख चुनौतीका रूपमा देखिएपनि चालक र सह-चालकलाई प्रशिक्षित गर्न सके सार्वजनिक सवारी साधनमा यात्रुहरूमाथि हुने दुर्र्व्यवहार र दुर्घटना न्यूनीकरण हुने थियो।

- नवराज ढुङ्गाना