माओवादीद्वारा तेस्रो व्यक्तिमा सहमति खोज्न प्रस्ताव, काङ्ग्रेस-एमालेद्वारा अस्वीकार

काठमाडौं, १९ पुस। एकीकृत नेकपा माओवादीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाएर मध्य जेठसम्म नयाँ निर्वाचन गर्न नेकपा एमालेसँग प्रस्ताव गरेको छ।

काङ्ग्रेस सभापति सुशील कोइरालको नेतृत्वमा सरकार गठन गर्ने सम्भावना नरहेको भन्दै माओवादीले अन्य विकल्पमा जान प्रस्ताव गरेको हो। राजधानीको बबरमहल स्थित शान्ति कोषको सचिवालयमा भएको दुर्इ दलका शीर्ष नेताको बैठकमा माओवादीले तेस्रो विकल्पमा जान एमालेसँग प्रस्ताव गरेको हो।

माओवादी प्रस्तावप्रति एमालेले पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएको छ। बैठकपछि अध्यक्ष झलनाथ खनालले माओवादी प्रस्ताव आफूहरूले सुनेको बताए। ‘हामीले धेरै थरी प्रस्ताव सुनेका छौँ’-उनले भने।

खनालले पुस २५ गतेभित्रमा कुनै सहमतिमा पुगिने विश्वास व्यक्त गरे।

काङ्ग्रेसको नेतृत्व स्वीकार नगर्ने भए आफ्नो पार्टीलाई सरकारको नेतृत्व दिन एमालेले प्रस्ताव गरेको स्रोतले बतायो।

माओवादी नेता अमिक शेरचनले पनि काङ्ग्रेस सभापति कोइरालाको नेतृत्वमा सहमति जुटने सम्भावना नभएपछि तेस्रो विकल्प्मा छलफल गर्न प्रस्ताव गरिएको बताए। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता शेरचन तथा एमाले अध्यक्ष खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी थिए।

यता, काङ्ग्रेस र एमालेले भने स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने एमाओवादीको प्रस्ताव अस्वीकार्य हुने बताएका छन्। स्वतन्त्र व्यक्तिको नेतृत्वमा बन्ने सरकारले निर्वाचन गर्न नसक्ने दुर्इ दलको ठहर छ। एमाओवादीको नयाँ प्रस्ताब आएपछि बिहीबार दुवै दलको छुट्टाछुट्टै बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

एमाले स्थायी समितिको बैठकले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठनको कुरा माओवादीको सत्ता लम्ब्याउने प्रपञ्च भएको आरोप लगाएको हो। काङ्ग्रेस नेतृत्वमा सहमतिय सरकार गठर गरेर निर्वाचन सुनिश्चित गर्नुपर्ने पूर्ववत् धारणामा कायम रहेको एमालेले जनाएको छ।

यस्तै काङ्ग्रेसको केन्द्रीय समितिको अनौपचारिक बैठकले पनि एमाओवादीको नयाँ प्रस्ताव वैशाखभित्र चुनाव नगर्ने र आफ्नो सत्ता लम्ब्याई राख्ने षड्यन्त्रको रूपमा आएको ठहर गरेको बैठकपछि नेताहरूले बताए।

संविधानभित्रैबाट सहमति : राष्ट्रपति

राष्ट्रपति डा. रामवरण यादवले जुनसुकै धाराको प्रयोग गरेर भएर पनि संविधान अन्तर्गत नै रहेर सहमति निकालिने बताउनु भएको छ।

काभ्रेपलाञ्चोकको होक्सेस्थित जनता उच्च माध्यमिक विद्यालयको हीरक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले निकासका लागि आफूले संविधानको चुरो पक्रेर बसेको र कुनै हालतमा संविधानअन्तर्गत नै रहेर सहमति निकालिने बताए। संविधानको धारा ३८(१) अनुरूप सरकार गठनका लागि दलहरूलाई समयसीमा दिएर आफू नफसेको बताउँदै राष्ट्रपति यादवले संविधानअन्तर्गत नै अघि बढ्ने स्पष्ट पारे।

राष्ट्रपतिले दलहरूलाई सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याएर सहमति निकालिने बताए। उनले भनेे-’सत्ता अघि तथा शान्ति र संविधान पछि परेको छ, मूल कानुन ल्याउन नसक्नामा दलहरूबाट त्रुटि भएको छ।’

राष्ट्रपति यादवले नयाँ संविधानको निर्वाचनबाटै मुलुकले निकास पाउने भन्दै संविधान ल्याउनका लागि अहिलेका सत्तारूढ दलहरूमात्र नभएर सत्ता बाहिर रहेका काङ्ग्रेस एमाले राप्रपालगायतका दलहरूलाई सहमतिमा ल्याएर मात्र संविधान संभव रहेको बताए। यसका लागि आफूले एकीकृत माओवादी र अन्य दललाई लगातार सहमतिका लागि पहल गरिरहेको बताए। यसैबीच, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बिहीबारै राष्ट्रपति यावदसँग भेट गरेका छन्। शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले काङ्ग्रेस नेतृत्वमा सहमतिको सरकार गठन गर्न नसकिएकोले स्वतन्त्र व्यक्तिको नितृत्वमा सरकार गठन गरिनुपर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष राखेको स्रोतले बताएको छ। राष्ट्रपति यादवले भने सातौपटकको समयसीमाभित्रै दलहरू सहमतिमा पुग्न दबाब दिएको बुझिएको छ।

- अादर्श समाज सम्वाददाता