महिला हिंसा अन्त्य र पीडकलाई कारबाहीको माग गर्दै प्रदर्शन प्रधानमन्त्री निवास र गृहमन्त्रालय घेर्ने चेतावनी

पोखरा, १९ पुस। महिलामाथि भइरहेका हिंसा अन्त्य र पीडकलाई कारबाहीको माग गर्दै बिहीबार पोखरामा प्रदर्शन गरिएको छ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की र महिला मानवअधिकार रक्षकको सञ्जाल कास्कीले गरेको प्रदर्शनमा अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बढ्दो महिला हिंसा अन्त्य गर, अपराधीलाई कारबाही गर भन्दै पोखराको सृजनाचोकबाट सुरू भएको जुुलुस रत्नचोक, राष्ट्रबैड्ढचोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेको थियो।

प्रदर्शनका क्रममा महिला हिंसाका दोषीलाई कारबाही गर, अपराधीलाई पैसाले नजोगाऔं, दण्डहीनता अन्त्य गर, महिला हिंसाविरुद्ध एक हौँ, तपाईं हाम्रा कसैका पनि छोरी चेली सुरक्षित छैनन्, मानवअधिकारको रक्षा गर, कानुनी न्याय लागू गर अपराधीलाई पैसाले संरक्षण नगर तथा हत्या, हिंसा बलात्कार अन्त्य गर अपराधीलाई राजनीतिक संरक्षण नगर लेखिएका प्लेकार्ड प्रदन गरिएको थियो।

प्रदर्शनपछि ती संस्थाहरूले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि पठाएका छन्। शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका अध्यक्ष विष्णुप्रसाद बराल र महिला मानवअधिकार रक्षकको सञ्जाल कास्कीका अध्यक्ष नन्दकला नेपालीले संयुक्तरूपमा कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालालाई ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कोइरालाले हिंसा जघन्य अपराध भएको बताए। उनले हिंसा नियन्त्रणका लागि गरिने भाषण र व्यवहारमा एकरूपता आउन नसक्दा हिंसाका घटना बढिरहेको भन्दै चिन्ता व्यक्त गरे।

साथै उनले हिंसाका घटनालाई बाहिर ल्याएर पीडकलाई कानुनी कारवाहिको दायरामा ल्याउनका लागि सहयोग गर्न पनि अधिकारकर्मीलाई आग्रह गरे।

पीडकलाई कानुनी कारबाही गर्नका लागि आफू सदैव सजग र सचेत रहेको भन्दै उनले भने-’हिंसा अन्त्य गर्न र घटनाका पीडकलाई कानुनी दायरामा ल्याउन प्रशासन तपाइँहरूसँग हातेमालो र सहकार्य गर्दै अघि बढ्न तयार छ।’

ज्ञापनपत्रमा महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा करिव तीन हजार सात सय ४९ वटा महिला हिंसाका उजुरी दर्ता भएको र असुरक्षाका कारण कतिपय घटना बाहिर आउन नसको उल्लेख छ।

साथै ज्ञापनपत्रमा घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न सरकार उदासिन बन्दा हिंसाका घटना बढ्दै गएकोभन्दै पीडकलाई कडा कारबाही गर्न र महिला हिंसाका उजुरी सुन्ने निकायलाई छिटो छरितो बनाउन माग गरिएको छ।

ज्ञापनपत्र बुझाएपछि शहीदचोकमा आयोजित सभामा बोल्ने अधिकारकर्मीले महिला हिंसा अन्त्य र दोषीमाथि कारबाही गर्न सरकारले चासो नदिए प्रधानमन्त्री निवास र गृहमन्त्रालय घेराउ गर्न चेतावनी दिए। उनीहरूले हिंसाका घटना अन्त्य नभएसम्म आन्दोलनलाई सशक्त पार्दै लैजाने उद्घोष पनि गरे। सभामा बोल्दै अग्रज मानवअधिकारकर्मी टेकनाथ बरालले सभ्य समाज निर्माणका लागि  आमा, हजुरआमा, दिदी र बहिनीमाथि हुँदै आएका हिंसाका लागि घटनालाई अन्त्य गरिनुपर्ने बताए।

उनले अमानवीय काम गर्ने कोही कसैलाई पनि माया गरिन नहुने र त्यस्ता काम गर्नेलाई दण्डित गरिनुपर्ने आवश्यकता औंल्याए। कानुन व्यवसायी कमल अर्यालले पीडितलाई संरक्षण र पीडकलाई कारबाही गर्ने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिए।

सभामा एनेकपा माओवादीका कृष्णकुमारी घिमिरे, गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य रामप्रसाद सुवेदी, फिडोका चमेली परियार, पत्रकार शुष्मा पौडेल र तनहूँकी मीना रानाभाटले महिला हिंसा अन्त्य गर्न अभियानलाई जारी राख्नुपर्ने बताए।

त्यस अवसरमा जमुना शर्माले कविता वाचन गरेकी थिइन्। शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विष्णुप्रसाद बरालको अध्यक्षतामा सम्पन्न सभामा महिला मानवअधिकार रक्षकको सञ्जाल कास्कीका अध्यक्ष नन्दकला नेपालीले स्वागत र इन्सेक पश्चिमाञ्चल प्रमुख शिव खकुरेलले कार्यक्रम सञ्चालन गरेका थिए।

यसैबीच, नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घ कास्कीले पनि महिला हिंसाको विरोध र दोषीमाथि कारबाहीको माग गर्दै  बिहीबार पोखराको पृथ्वीचोकमा एक घण्टा चक्काजाम गरेको छ।

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरौ,  समृद्ध र मर्यादित मानव समाजको निर्माण गरौं भन्ने मूल नाराका साथ मध्यान्ह १२ देखि एक बजेसम्म चक्काजाम गरिएको हो।

चक्काजाममा अनेमसङ्घका केन्द्री देखि वडा तहसम्मका महिला तथा नेकपा एमालेका नेताहरूको सहभागिता थियो। चक्काजामका क्रममा हत्या हिंसा अत्य गर, हत्यारालाई फाँसी दे लगायतका सरकारविरोधी चर्का नारा लगाइएको थियो। चक्काजामपछि आयोजित कोणसभामा बोल्दै अनेमसङ्घ कास्कीका अध्यक्ष मित्रकुमारी गुरुङले सरकारले दोषीमाथि कारबाही नगरेसम्म दबाबमूलक कार्यक्रम सञ्चालन गरिने बताइन्।

- अादर्श समाज सम्वाददाता