गार्डेन एफसी र होटल प्रतिनिधि समाज लिग फुटबलको सेमिफाइनलमा

पोखरा, १९ पुस।गार्डेन एफसी, र होटल प्रतिनिधि समाज पोखरा रङ्गशालामा जारी बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा डिफेण्डिङ च्याम्पियन संगम एफसीलाई ३-० ले पराजित गर्दै होटल प्रतिनिधि समाज सेमिफाइनल प्रवेश गर्ने पहिलो टीम बन्न पुग्यो।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गएिपछि दोस्रो हाफमा होटल प्रतिनिधि समाजले लगातार तीन गोल फर्काउँदै सेमिफाइनलको बाटो तय गर्‍यो। होटल प्रतिनिधि समाजको लागि सुवास गुरुङले ४८ मिनेट, टीम क्याप्टेन अनिल अधिकारीले ५७ र अनुज गुरुङले ७३ मिनेटमा एक-एक गोल गरेका थिए। गत वर्ष राष्ट्रिय लिग फुटबलमा सहभागी हुन सफल डिफेण्डिङ च्याम्पियन संगमले बिहीबारको खेलमा स्तरीय खेल प्रदर्शन गर्न सकेन।

सो खेलमा होटल प्रतिनिधि समाजका नितेश गुरुङ र संगमका विवेक गुरुङलाई रेफ्री अर्जुन गुरुङले एलोकार्ड देखाएका थिए।

दोस्रो खेलमा भने गार्डेनले आदर्श युवा क्लब भण्डारढिकविरुद्ध २-१ को कठिन जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टीम बन्न पुग्यो।

गार्डेनको जीतमा खेमबहादुर (कुमार) गुरुङले अतिरित्तल समयको १५ मिनेटमा फ्रिकिकमार्फत निर्णायक गोल गरेका थिए। यसअघि निर्धारित ४०-४० मिनटको खेल एक-एक गोलको बराबरीमा सकिएपछि खेल १०-१० मिनेटको अतिरिक्त समयमा गएर टुङ्गएिको थियो।गार्डेनका लागि ३९ मिनेटमा विधान कार्कीले गोल गर्दै टीमलाई अग्रता दिलाए पनि दोस्रो हाफको सात मिनेटमा आदर्श युवा क्लबका विष्णु गुरुङले बराबरी गोल फर्काएका थिए।

होटल प्रतिनिधि समाजले शुक्रबार हुने शुक्रबार हुने सहारा क्लब र फूलबारी क्लबबीचको विजेतासँग तथा गार्डेनले विष्णुपादुका क्लब हेमजा र डेभिजफल क्लबबीचको विजेतासँग फाइनलको लागि शनिबार प्रतिस्पर्धा गर्नेछन्।

- अादर्श समाज सम्वाददाता