पृथ्वीचोक र महेन्द्रपुललाई व्यवस्थित गर्न १९ बुँदे कार्यक्रम

पोखरा, १९ पुस। वडा विकास सङ्र्घर्ष समिति पोखरा-९ कास्कीले पोखराको पृथ्वीचोक र महेन्द्रपुल क्षेत्रलाई व्यवस्थित गर्न १९ बुँदे कार्यक्रम घोषणा गरेको छ।

समितिले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो। समितिका अध्यक्ष नरेन्द्रमान लालचनले महेन्द्रपुलमा रहेको हुलाकघर र महेन्द्रपुलको आडैमा रहेका नगरपालिकाले भाडामा लगाएका सटर हर्टाई सो क्षेत्रलाई पार्किङ क्षेत्र वा पार्क निर्माण गर्नुपर्ने, नयाँबजारस्थित पुरानो कर कार्यालयसँगै रहेको कोल्ड स्टोर सञ्चालनमा ल्याइनुपर्ने, पुरानो बसपार्कलाई व्यवस्थित गर्नुपर्ने, पृथ्वीचोक र महेन्द्रपुल वरिपरि तथा सेतीनदीको वरिपरि रहेको फोहोरमैलालाई व्यवस्थित गर्ने, बाटो फराकिलो बनाउन पहल गर्ने लगायतका विभिन्न १९ बँदे कार्यक्रम सार्वजनिक गरे।

सो अवसरमा ट्राफिक व्यवस्थापनका लागि रामघाट, तुलसीघाटमा रहेको पुरानो पुललाई फराकिलो र अग्लो बनाउने, ट्राफिक लाइटलाई व्यवस्थित गर्नुपर्ने, नयाँबजारको क्षेत्रीय सङ्ग्रहालयलाई आकर्षक बनाइनुपर्ने, शान्ति वनवाटिकामा राष्ट्रियस्तरको चिडियाखाना निर्माण गर्न आवश्यक वहस थालनी गर्नुपर्ने, सुकुम्वासीको पहिचान गरी उनीहरूलाई पानी बत्तिसहित स्थायी बसोवासका लागि पहल गर्ने, चाइना पुलदेखि चोरसाँघु हुँदै भरतपोखरी निर्मलपोखरी जाने बाटोलाई कृषि बाटोको रूपमा विकसित गर्नुपर्ने, रामघाट, महेन्द्रपुल, पृथ्वीचोक, चाइना पुल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको थियो।

घोषित कार्यक्रम बोधार्थका रूपमा जिल्ला विकास समिति, पोखरा उप-महानगरपालिकालगायतका सम्बन्धित निकाय, राजनीतिक दलको कार्यलय, सञ्चारमाध्यम गरी विभिन्न ४० वटा कार्यालयमा पठाइएको समितिका प्रथम उपाध्यक्ष ऋषिराम सापकोटाले जानकारी दिए।

कार्यक्रममा बोल्दै सल्लाहकार हरि कर्माचार्यले सरकारी निकाय र राजनीतिक दलको भरपर्ने स्थिति नदेखिएकाले स्थानीय नागरिक एकजुट भई आफ्नो ठाउँको विकासका लागि सक्रियता देखाएको बताए।

त्यस्तै, वडा नं.९ का सचिव लोकदर्शन कोइरालाले सङ्र्घर्ष समितिले वडामा रहेका सार्वजनिक सम्पत्तिलाई व्यवस्थित गरी अस्तव्यस्त रहेको महेन्द्रपुल र पृथ्वीचोकलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई घचघच्याउने बताए।

समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव असिम बास्तोलाले गरेका थिए।

यही पुस ६ गते सम्पन्न भेलाले ५३ सदस्यीय सङ्र्घर्ष समिति गठन गरेको हो।

- अादर्श समाज सम्वाददाता