बन्द रेडियो खुल्यो

तानसेन, १९ पुस। स्वामित्व विवादका कारण बन्द भएकोे पाल्पा जिल्लाको रेडियो पश्चिमाञ्चलको प्रसारण बुधबार साँझदेखि सुरु भएको छ।

एमाओवादीको व्यवस्थापनमा सञ्चालित यो रेडियो दुर्इ समूहबीच  विवाद भई तीन महिनादेखि बन्द रहँदै आएको थियो। जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासङ्घ पाल्पा शाखा र सरोकार राख्नेहरुबीच सहमति भई रेडियो सञ्चालनमा आएको प्रबन्ध निर्देशक कृष्ण भूसालले जानकारी दिए। एमाओवादी फुटेसँगै दुवै पक्षले आफ्नो नियन्त्रणमा राख्न खोज्दा प्रसारण बन्द हुन पुगेको हो। सहमति नहुँदासम्मका लागि भन्दै दुवै पक्षले एक महिनाअघि कार्यालयको ढोकामा ताला लगाएका थिए।

जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच भएको सहमतिअनुसार सेयर सदस्यहरूको बोर्डले नै सञ्चालन गर्ने निर्णय गरेअनुरुप एफएम सञ्चालनमा ल्याइएको पश्चिमाञ्चल एफएम सञ्चालक समितिले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

- रासस