जीपीएस प्रविधिबारे जानकारी गराउँदै

काठमाडौँ, १९ पुस। तपाईं कहाँ हुनुहुन्छ? थाहा पाउने प्रविधि जीपीएस ग्लोबल न्याविकेसन स्याटलाइट सिष्टम हो। तर यो प्रविधिबारे नेपालका नीति निर्माताले कम जानकारी लिइराखेका छन्।

जग्गाको नाप नक्सामा बढी प्रयोग भइराखेको जीपीएस प्रविधिबारे पहिलो पटक नीति निर्मातालाई जानकारी गराउन नापी विभागले भोलि विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

विभागद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा विश्वमा जिपिएस प्रविधिबारे भइराखेेका प्रयोग एवम् यसको महत्त्वबारे कार्यक्रममा नीति निर्मातालाई जानकारी दिइने बताइएको छ।

विभागका नापी अधिकृत गणेशप्रसाद भट्टले दिएको जानकारीअनुसार नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको सो कार्यक्रममा जापानका विज्ञहरूले सो प्रविधिबारे जानकारी गराउने छन्। नापनक्सा, वन्यजन्तुको खोजी, खानी तथा भूगर्व, दैवी प्रकोप उद्धार, ठूला आयोजनाका निर्माण, हवाई क्षेत्र, उच्च ओहोदाका व्यक्तित्वहरूको सवारी, हिमाल आरोहणलगायतका क्षेत्रमा विश्वले सो प्रविधि प्रचलनमा ल्याइरहेको छ। नेपालमा पनि नापी विभागले पहिलोपटक सन् १९९१ देखि यो प्रविधि नापनक्सामा सुरु गरेको थियो।

- रासस