स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्न नसक्ने काङ्ग्रेस-एमालेको ठहर

काठमाडौं, १८ पुस। नेपाली काङ्ग्रेस र नेकपा एमालेले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकार गठन हुन नसक्ने निष्कर्ष निकालेका छन्।

प्रधानमन्त्री बाबुराम भट्टराईले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने भए सरकार छाड्ने प्रस्ताव अघि सारिरहेका बेला विपक्षी दलहरूले यस्तो निष्कर्ष निकालेका हुन्। दुर्इ दलले सहमतीय सरकारको प्रधानमन्त्रीमा काङ्ग्रेस सभापतिलाई नै अघि सार्नुपर्ने दोहोर्‍याएका छन्।

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयमा बुधबार बसेको दुर्इ दलका शीर्ष नेताहरूको बैठकले प्रतिपक्षी काङ्ग्रेस र एमालेले आगामी वैशाखमा संविधानसभाको निर्वाचन गर्ने गरी अब केही दिनभित्रै सहमतीय सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सत्ता पनि नछाड्ने र निर्वाचन पनि नगराउने गरी स्वेच्छाचारी ढ·ले अघि बढिरहेको ठहर गर्दै विपक्षी दलहरूले सहमतिमा नआउने हो भने आन्दोलन गर्ने निर्णयसमेत गरेका छन्।

यही पुस २० गते सम्म सहमतीय सरकार गठनको प्रयास गर्ने र नभए सरकार विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको बताइएको छ।

बैठकपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी सरकार पनि नछाड्ने र निर्वाचन पनि नगराउने षड्यन्त्रमा लागेको आशड्ढा बढेकोले कसरी अघि बढ्ने भन्नेमा छलफल भएको बताए।

प्रधानमन्त्री बाबुराम भट्टराईसँग बुधबार बिहान छलफल गरेका नेता नेपालले माओवादी सहमतिको पक्षमा नदेखिएको बताएका थिए।

नेता नेपनलले प्रधानमन्त्री भट्टराईसँग बिहान भएको छलफलबारे काङ्ग्रेस नेताहरूलाई जानकारी गराएका थिए। काङ्ग्रेस महामन्त्री कृष्ण सिटौलाले राष्ट्रपतिले दिएको समयसीमाभित्र सहमतीय सरकार बनाउन अधिकतम पहल गरिने बताए। त्यसका लागि बिहीबारदेखि वार्ता र संवादलाई तीव्रता दिने सिटौलाले बताए। बैठकमा काङ्ग्रेस/एमालेका नेताहरूबीच स्वतन्त्र व्यक्तिको नेतृत्वमा भएपनि सरकार बनाएर चुनावमा जानुपर्ने विषयमा छलफल भएको थियो।  एमाले उपाध्यक्ष वामदेव गौतमले सुशील कोइरालाको विकल्प नखोज्ने निर्णय भएको बताए।

स्वतन्त्र आए छाड्छु : प्रम

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्न दलहरू राजी भए सरकार छाड्ने बताएका छन्। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग बुधबार बिहान भएको भेटमा प्रधानमन्त्री भट्टराईले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकार गठनका लागि आफू राजी रहेको बताएका हुन्। नेपाली काङ्ग्रेसले आफ्नो नेतृत्वको सरकारमा सहभागी नहुने बताएका कारण काङ्ग्रेस नेतृत्व पनि आफ्ना लागि स्वीकार्य नभएको प्रधानमन्त्रीले बताएका थिए।

भट्टराईले कोइरालाबाहेकको नेतृत्व स्वीकार्ने बताएको भेटपछि एमाले नेता नेपालले जानकारी दिए। प्रधानमन्त्रीसँगको भेटपछि एमाले नेता नेपालले सहमतीय सरकार गठन गरी निर्वाचन गर्ने विषयमा छलफल भएको बताए। भेटमा प्रधानमन्त्री भट्टराईले समस्याको जड आफूलाई भनेको भन्दै नेता नेपालसँग गुनासो गरेका थिए। नेता नेपालले भने तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि बिना उद्देश्य सरकारमा बसिराख्ने सोच त्याग्न सुझाव दिएका थिए। यसैबीच, प्रमुख सत्तारुढ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी वैशाखभित्रमा निर्वाचन सुनिश्चित भए सरकारको नेतृत्वमा आफ्नो पार्टीलचिलो हुने बताएका छन्। थाइल्याण्डको राजधानी बैड्ढकबाट स्वदेश फर्किने क्रममा बुधबार विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले निर्वाचन सुनिश्चित भए स्वतन्त्र व्यक्ति वा सहमति कायम गर्न सक्ने दलका नेताको नेतृत्वमा सरकार गठन गर्न सकिने बताएका हुन्। गतिरोध लम्बिएकोमा आफू चिन्तित रहेको दाबी गर्दै अध्यक्ष दाहालले तत्काल सहमतिको प्रयासमा जुट्ने बताए।

- अादर्श समाज सम्वाददाता