अन्तर्राष्ट्रिय सहकारी वर्ष-२०१२ को समापन सहकारीबीचको एकीकरणका लागि कार्यविधि तयार गरिँदै : न्यौपाने

पोखरा, १८ पुस। सहकारी विभागका रजिष्टार केदार न्यौपानेले एउटै उद्देश्यले सञ्चालित सहकारी संस्थाहरूबीचको एकीकरणका लागि सरकारले कार्यविधि तयार गर्न लागेको बताएका छन्।

सहकारी संस्थाहरूले एकीकरणको आवश्यकता महसुस गरेकाले सरकारले एकीकरण (मर्ज) प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यविधि तयार गर्न लागेको उनको भनाइ थियो। ‘कार्यविधि तयार हुनुपर्व नै पूर्व र राजधानीमा गरी झण्डै ५० वटा संस्थाहरू एकीकरण भइसकेका छन्-उनले भने-’कार्यविधि तयार गरी एकीकरण अघि गर्दा सजिलो होला भनेर कार्यविधि तयार गर्न लागेका हौँ।’ उनले कार्यविधिमा एकीकरणको उद्देश्य र कार्यक्षेत्रलगायतका कुराहरूलाई स्पष्ट उल्लेख हुने बताए।  सहकारी संस्थालाई नियन्त्रण वा हस्तक्षेप गर्न कुनै नियत सरकारको नभएको भन्दै उनले सरकारले सहकारी संस्थाहरूलाई सघाउन सहजीकरण मात्रै गर्ने पनि स्पष्ट पारे। पोखरामा बुधबार आयोजित अन्तर्राष्ट्रिय सहकारी वर्ष-२०१२ को समापन कार्यक्रममा बोल्दै उनले सहकारीसम्बन्धी सरकारको स्पष्ट धारणा बनाउनका लागि  मन्त्रिपरिषद्मा सहकारी नीति पेश गरिएको जानकारी दिए। उनले सदस्य, कार्यक्षेत्र र उद्देश्य केन्द्रित भएर सहकारी सञ्चालन गर्न सहकारीकर्मीहरूलाई आग्रह गरे।

‘सहकारीका मूल्य र मान्यता अनुसार काम गर्ने सहकारीहरू डराउनु पर्दैनु-उनले भने-’सहकारीको मूल्य र मान्यताविपरीत काम गर्ने तथा विकृति र विस·ति निम्त्याउनेलाई भने कारबाही गर्न बाध्य हुने छौँ।’ यद्यपि मुलुकका सवै क्षेत्रमा विकृति र विसङ्गति रहेपनि सहकारी अन्य क्षेत्रको तुलनामा अनुशासित र मर्यादीत रहेको उनको भनाइ थियो। जनताबाट बचत सड्ढलन गरी रातारात धनी बन्ने सपना नदेख्न आग्रह गर्दै उनले सहकारीलाई व्यवस्थित गर्न सके सवै सदस्य नै धनी बन्न सक्ने बताए।

रजिष्टार न्यौपानेले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी बढाउनपर्ने, गरिबी हटाउन सहयोग पुर्‍याउनपर्ने र रोजगारी सृजना गर्नतर्फ विशेष ध्यान दिनपर्ने आवश्यकता औंल्याए। उनले देशभर २६ हजार सहकारी संस्था र तिनमा आबद्ध ४६ लाख सहकारीकर्मी रहेको जानकारी दिए।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी सङ्घ कास्कीका अध्यक्ष प्रभा कोइरालाले अन्तर्राष्ट्रिय सहकारी वर्ष-२०१२ ले नेपालमा सरकार र सहकारीबीचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग पुर्‍याएको बताइन्। कास्की बचत तथा ऋण सहकारी सङ्घ कास्कीका अध्यक्ष भीम गुरुङले सहकारीहरूमा बचत भएको रकमलाई पाँचवटै विकास क्षेत्रमा क्षेत्रीयस्तरमा मेगा प्रोजेक्ट सञ्चालन गरी लगानी गर्ने वातावरण निर्माण बनाउन सरकारलाई आग्रह गरे। उपभोक्ता सहकारी सङ्घ कास्कीका अध्यक्ष युवराज पहारीले सहकारी संस्थाहरूबीच अन्तर सहकारी सञ्जाल निर्माण गर्नुपर्नेमा जोड दिए। कृषि सहकारी सङ्घका अध्यक्ष शिवजी कोइरालाले मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउन सहकारीहरूलाई सशक्त बनाउनपर्ने बताए। अग्रज पत्रकार नारायण कार्कीले सहकारीभित्र विकृति र विस·ति बढ्न नदिन सञ्चारकर्मीहरूले खवरदारी गर्नुपर्ने बताए।

त्यस अवसरमा अन्तराष्ट्रिय सहकारी वर्षको अवसरमा आयोजित उच्च माविस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने एसओएस बालग्रामका प्रशान्त पराजुली, द्वितीय हुने पोखरा उच्च माविका इन्द्रमणि ढु·ाना र तृतीय हुने मदरल्याण्ड उच्च माविका सन्देश गिरीलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको थियो भने र्‍यालीमा उत्कृष्ट र्‍याली प्रदर्शन गर्ने शुभ सौगात बचत तथा ऋण सहकारी संस्था, प्राइम बचत तथा ऋण सहकारी संस्था, हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्था र वाटिका बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो। अन्तर्राष्ट्रिय सहकारी वर्ष-१२ जिल्ला कार्यन्वय समितिका संयोजक एवं कास्कीका स्थानीय विकास अधिकारी इश्वरराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य नारायणप्रसाद अर्यालले स्वागत र बालकृष्ण सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा सृजना महिला बचत तथा सहकारीका नीता बरालले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन्। अन्तर्राष्ट्रिय सहकारी वर्ष-२०१२ को अवसरमा कास्कीमा गत चैत महिनादेखि विविध कार्यक्रमहरू सञ्चालन गरिँदै आएको थियो।

यसैबीच, जिल्ला सहकारी सङ्घको परिषरमा अन्तर्राष्ट्रिय सहकारी वर्ष-२०१२ को स्मारक निर्माण कार्य सुरू गरिएको छ। सहकारी विभागका रजिष्टार केदार न्यौपानेले बुधबार स्मारकको शिलान्यास गरेका छन्।

- अादर्श समाज सम्वाददाता