मानवअधिकार वर्ष पुस्तकसम्बन्धी पूर्व समीक्षा

पोखरा, १८ पुस। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पोखराले बुधबार नेपाल मानवअधिकार वर्ष पुस्तक-२०१३ का लागि कास्की जिल्लामा सड्ढलित मानवअधिकार उल्लङ्घनका घटनाहरूको वाषिर्क पूर्व समीक्षा कार्यक्रमको आयोजना गर्‍यो।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक यज्ञप्रसाद अधिकारीले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तकले मानवअधिकार संरक्षणको लागि राज्यलाई जिम्मेवार बनाएर टेवा पुर्‍याएको बताए।

राष्ट्रिय मानवअधिकार आयोगले गरेका सिफारिसहरू सरकारले कार्यान्वयन नगर्दा दण्डहीनता बढेको उनको भनाइ थियो। जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले मानवअधिकार उल्लङ्घनकर्तालाई कारबाही र पीडितलाई न्याय दिलाउनको लागि प्रशासन र अन्य सरोकारवालाले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।

समीक्षा कार्यक्रममा जिल्ला अदालतका श्रेष्तेदार बासुदेव न्यौपानेले मानवअधिकार उल्लङ्घनकर्तालाई भएको कारबाही पनि वर्ष पुस्तकमा समेट्न सके अझ उपयोगी हुनेमा जोड दिए।

एनेकपा माओवादीका तमुवान राज्य समिति सदस्य मनहरि तिमिल्सिनाले मानवअधिकार वर्ष पुस्तकले मुलुकमा भएका मानवअधिकार उल्लङ्घनका घटनालाई उजागर गरी राजनीतिक दल, सरकार र सरोकारवाला निकायलाई जिम्मेवारीबोध गराउने धारणा राखेका थिए।

नेपाली काङ्ग्रेसका कास्की जिल्ला सदस्य गिरिराज गौतमले वर्ष पुस्तक राज्य र राजनीतिक दलको आँखा भएको बताए। कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि दामोदर वैरागीले राज्य र गैरराज्यले गरेको ज्यादतीका बारेमा राजनीतिक दलले नबोल्ने अवस्थामा इन्सेकले बोल्ने गरेको बताए।

अग्रज मानवअधिकारकर्मी टेकनाथ बरालले संवैधानिक निकाय स्वायत्त नहुँदा मानवअधिकार उल्लङ्घनका दोषीले उन्मुक्ति पाएको भन्दै इन्सेकको मानवअधिकार वर्षपुस्तकले मानवअधिकारको अवस्थाका बारेमा सुसूचित गराएको बताए। कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णुप्रसाद बराल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष शंकर बराल, नेकपा एकीकृत कास्की सचिव रामजी थापा, जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष कमल अर्याल, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष नन्दकला नेपाली, स्थानीय शान्ति समितिका सचिवालय सदस्य खगराज आचार्य, अनेरास्ववियु क्रान्तिकारी कास्की अध्यक्ष कृष्णराज दाहाल, स्वतन्त्र पत्रकार सङ्घका महासचिव कमल पौडेल अथकलगायतले बोलेका थिए।

यसैगरी सञ्चारिका समूह पश्चिमाञ्चल सचिव कृपा भण्डारी, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, अनिज कास्कीका अध्यक्ष हुम तमु, एड्भोकेसी फोरम नेपाल पोखराका संयोजक सरलाकुमारी पाण्डे, जनआन्दोलन शहीद परिवार तथा घाइते समन्वय समितिका अध्यक्ष ढाकाराम पौडेल, अधिवक्ता शिव सुनार, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक विमलाकुमारी शर्मालगायतले नेपालको मानवअधिकारको अवस्थाको बारेमा आ-आफ्ना धारणा राखेका थिए।

सो अवसरमा इन्सेक जिल्ला प्रतिनिधि सनबहादुर थापाले कास्की जिल्लाको मानवअधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदनमा सन् २०१२ मा कास्कीमा ५४ मानवअधिकार उलङघनका घटना भएको उल्लेख छ। प्रतिवेदनले यो वर्ष महिला अधिकारको क्षेत्रमा मानवअधिकारको उलङ्घन झण्डै दोब्बर भएको देखाएको छ।

इन्सेक पश्चिमाञ्चल संयोजक शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रलेख अधिकृत गणेश भण्डारीले स्वागत र कार्यक्रम संयोजक गणेश श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी, मानवअधिकारकर्मीलगायतको सहभागिता रहेको थियो।

- अादर्श समाज सम्वाददाता