श्रीमान् बेपत्ता पारिएका महिला आर्थिक हिंसामा

बागलुङ, १८ पुस। विगतको सशस्त्र द्वन्द्वका बेला राज्य र व्रि्रोही पक्षद्वारा श्रीमान् बेपत्ता पारिएका यहाँका महिला आर्थिक हिंसामा परेका छन्।

श्रीमान् बेपत्ता भएपछि आर्थिकरुपमा हिंसाजन्य व्यवहार झेल्नुपरेको उनीहरूले बताएका छन्। द्वन्द्वपीडितले भोग्दै आएको हिंसामध्ये आर्थिक हिंसा पनि एक हो।

एकातिर घरव्यवहारको जिम्मेवारी अकोर्तिर न्यायको लागि वर्षौसम्म भौँतारिनु पर्दा जटिल आर्थिक समस्या सहनुपरेको महिलाको भनाइ छ।

बागलुङमा १० महिलाका श्रीमान् अहिले पनि बेपत्ता छन्। त्यस्ता महिला समाज र परिवारभित्रैबाट पनि आर्थिकरुपमा हिंसाजन्य व्यवहार सहन बाध्य हुनुपरेको बेपत्ता परिवार समाज बागलुङकी अध्यक्ष जसोदा शर्माले बताइन्।

पीडित महिलामाथि नै झन आर्थिक तथा व्यवहारिक समस्याहरू थपिएपछि अवस्था दयनीय बन्दै गएको शर्माको भनाइ छ। ‘श्रीमान् बेपत्ता हुँदाको पीडा त छँदैछ, त्यसमाथि आर्थिकरुपमा हामीले झेल्नुपरेका समस्या निकै कहाली लाग्दा छन्’-शर्माले भनिन्। उनका श्रीमान् सूर्यप्रसाद शर्मा २०५८ साल माघ १ गते राज्यद्वारा बेपत्ता पारिएका हुन्। श्रीमान् बेपत्ता पारिएपछि शर्माजस्तै अन्य महिलाले पनि आर्थिक चुनौती खेप्नुपरेको छ। परिवारमा एक्लो भएर बाँच्नुपर्दा महिलाले गाउँघरमा ऋण पनि नपाउने अवस्था रहेको उनी बताउँछिन्। आर्थिकरुपमा कमजोर भए पछि समाजले पनि हँेलाको दृष्टिले हेर्ने गरेको उनको भनाइ छ।

त्यस्तै बागलुङ नरेठाँटीकी छमकुमारी बस्नेतले श्रीमान्को नाममा रहेको सम्पत्ति आफ्ना नाममा बनाउन सकेकी छैनन्। कानुनतः व्यक्ति बेपत्ता भएको १२ वर्षसम्म उसको नाममा रहेको सम्पत्ति अरूको नाममा सार्न नमिल्ने व्यवस्था भए पनि द्वन्द्व पीडितको अवस्था मध्यनजर गरी विशेष व्यवस्था गरिनुपर्ने पीडित बस्नेतको माग छ। उनले पटकपटक जग्गा आफ्नो नाममा बनाउन खोजे पनि मालपोतले १२ वर्ष नपुगी दिन नमिल्ने भन्दै फर्काएको बताए। बुँगादोभानकी लालकुमारी खत्रीको पनि श्रीमान् बेपत्ता भएको १० वर्ष बितिसक्यो। श्रीमान् बेपत्ता भएपछि घरको मूली र जीवनको साहाराबाट वञ्चित भएकी खत्रीले पनि श्रीमान्को नाममा रहेको सम्पत्ति रेखदेख गर्न कठिन भएको बताइन्।

‘मलाई जग्गाजमिनको साँधबाज, लालपूर्जा केही थाहा छैन’-खत्रीले भनिन्-’छिमेकीले साँध मिचेको मिच्यै छन् मेरो पक्षमा बोल्ने मान्छे कोही छैनन्।’ अहिले पशुपालन र खेतीकिसानीबाट गुजारा चलाउँदै आउनुभएकी खत्रीलाई साथमा रहेको छोराको लालनपोषण र भविष्यको चिन्ताले पिरोलिरहन्छ।

हटिया गाविस-३, कि डम्बर साहानीको पीडा पनि उस्तै छ। घरजग्गाको लालपूर्जा साहानीको नाममा नहुँदा बिजुलीबत्ती पनि उहाँको नाममा जडान भएको छैन। जेठाजूको नाममा रहेको बिजुली प्रयोग गर्न बाध्य हुनुपरेको उनले बताइन्। एउटै बत्ति बाल्दा पनि महिनामा सयौँ रुपैयाँ शुल्क तिर्ने गरेको साहानीले गुनासो गरिन्। देवी सिउँठानीमगर पनि न्याय र राहतको खोजीमा भौँतारिरहेकी छन्। बेपत्ता श्रीमान्को अवस्था थाहा पाउँ भनी हिँडेको वषौ बित्यो तर न श्रीमान् न उचित न्याय, उनी सधँै पीडा र चोट सहेर बाँच्न बाध्य छन्। राहत दिलाइदिन्छु भन्दै कति व्यक्तिले त पैसा पनि माग्ने गरेको मगरले बताइन्। राहत लिने क्रममा पनि समस्या झेल्नुपरेको महिलाहरू बताउँछन्। महिला भएकै कारण प्रशासनमा पनि अनावश्यक झन्झट व्यहोर्र्नु परेको उनीहरूको गुनासो छ। घरदेखि सदरमुकाम र अन्य ठाउँहरूमा जाँदा पनि साथमा सहयोगी लिएर हिँड्नुपर्दा खर्च बढी हुने गरेको महिलाले बताएका छन्।

श्रीमान् बेपत्ता पारिएका महिलाको अवस्था अरूको भन्दा जटिल रहेकोले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने वकालत मञ्च धौलागिरिका अध्यक्ष राम शर्माको तर्क छ। राहत प्राप्त गर्ने प्रक्रियादेखि घरव्यवहारको काममा समेत त्यस्ता महिलाले ठूलो चुनौती झेल्नुपरेको शर्माले बताइन्। १० औँ वर्षदेखि श्रीमान् बेपत्ता भएका महिलाको आर्थिकस्तर दयनीय अवस्थामा पुगेको शर्माको भनाइ छ।

शर्मा, बेपत्ता श्रीमान्को नाममा रहेको सम्पत्ति महिलाले चाहेको खण्डमा आफ्नो नाममा बनाउन पाउनुपर्ने बताउनुहुन्छ। सरकारले बेपत्ताको अवस्था सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि सार्वजनिक हुन सकेको छैन।

घरमूलीको बेपत्तापछि आर्थिकरुपमा कमजोर अवस्थामा पुगेका त्यस्ता परिवार र विशेषगरी महिलाको आर्थिक, सामाजिक व्यवहारलाई सहज बनाउन सराकारवाला सबैको ध्यान जानु आवश्यक छ। रासस

- (रामबहादुर थापा)