सामाजिक काम गर्दै घाचोकका रविलाल

ढिकुरपोखरी, १८ पुस। सामाजिक काम गर्नु चुनौतीपूर्ण छ। व्यक्तिगत आवश्यकता परिपूर्र्ति गर्नतर्फ ध्यान नदिई सामाजिक आवश्यकताको बोध गर्दै निस्वार्थ र त्यागको भावना कसमा पलाउँछ र?

त्यही त्याग र निस्वार्थताका ज्वलन्त उदाहरण बनेका छन्, घाचोक-१ का रविलाल पोखरेल। घाचोकवासीले सामाजिक कार्यको पर्यायका रूपमा रविलाललाई लिने गरेका छन्।

उमेरले ५७ वर्ष पुगिसकेका रविलाललाई २०/२२ वर्षको उमेरदेखि नै सामाजिक कार्य गर्नुपर्दछ भन्ने लागेछ। तीन वर्षअघि मात्रै ३२ वर्षसम्म स्थानीय शुक्ला गण्डकी उच्च माविमा अध्यापन गर्दासमेत उनले सामाजिक काम गर्ने गरेको छिमेकीहरू बताउँछन्।

अर्मपर्म, मेलापात, दुखसुख, हाँसो रोदन सबैमा सबैलाई साथ दिन्छन् उनी। उनी घाचोकका विभिन्न सङ्घसंस्थामा समेत आबद्ध भई समाजप्रतिको दायित्व निर्वाह गरेका छन्।

गिद्घ संरक्षण तथा व्यवस्थापन समिति घाचोकका संयोजक, तल्लो लस्ती खोला भलाबोट सिचाइँ कुलो निर्माण समिति संयोजक, एक्यापअन्तर्गत विभिन्न सात गाविसको अनुगमन समितिका उपाध्यक्ष, हेमजा हुँदै सिक्लेस जोड्ने माछापुच्छे्र मोडल टे्रक व्यवस्थापन समितिका उपाध्यक्ष, सृजना साहित्य सदन घाचोकका संरक्षक एवम् भवन निर्माण समितिका अध्यक्ष, शुक्ला गण्डकी उच्च माविमा २० वर्षसम्म अध्यक्षसरहको जिम्मेवारी उनले पूरा गरिसकेका छन्। त्यसका अलावा घाचोक उपस्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य, समिबगर मिलनचोक तातोपानी सडक निर्माण समितिका संस्थागत सचिव, पुरुन्चौर हँदै घाचोक जोड्ने बाटो समितिका अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी घाचोक शाखाका आजीवन सदस्य, गाउँ शिक्षा समिति घाचोकका सदस्यसमेत भई रविलालले सामाजिक जिम्मेवारी निर्वाह गरिरहेका छन्।

यतिमात्र नभई उनी घाचोकलगायत छिमेकी गाविसका विभिन्न अन्य सङ्घसंस्थाहरूमा समेत आबद्घ रहेका छन्। आखिर मरेर लैजानु नै के छ र, नाङ्गै आयो नाङ्गै गयो, त्यसैले दिल खोलेर सकेसम्म आफ्नो गाउँठाउँलाई चिनाउने, सुधारका गतिविधि गर्ने, अन्धविश्वास र रुढिवाद हटाउने तथा विकासका पूर्वाधार गाउँगाउँसम्म पुर्‍याउनपर्दछ भन्ने सोचका साथ बिहान उठेसँगै नसुतेसम्म मनमा तर्क वितर्क गर्ने गरेको बताउँछन्, रविलाल। उनको जीवनबाट सबैले पाठ सिक्नुपर्ने घाचोक प्रहरी चौकीका हवलदार नारायण थापाको भनाइ छ।

आफुहरूले उहाँको जीवनबाट धेरै भन्दा धेरै पाठ सिक्न बाकी रहेको घाचोकलाई स्वच्छ, सुन्दर र हिंसारहित गाविस बनाउने आफ्नो एक मात्र लक्ष्य रहेको पोखरेलले बताए।

- अादर्श समाज सम्वाददाता