हाम्रो विशेषताः समन्वयवादी संस्कृति

१. सिर्जनशील लोकतान्त्रिक पोखराले मंगलबार पोखरामा आयोजित सामयिक सर्न्दर्भ र नेपालीपनको विकास नामक अन्तरक्रियामा राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र काठमाडौंका कार्यकारी निर्देशक संस्कृतिविद् जगमान गुरुङले नेपालको संस्कृति भनेको समन्वयात्मक संस्कृति भएको उल्लेख गदै इतिहासमा यहाँ हिन्दू धर्म र बुद्ध धर्म बीच तथा आर्य र मंगोलहरुबीच समन्वय भएको बताएका थिए।

२. उनले वर्तमान नेपालको विकसित अराजक स्थिति र प्रायोजित धर्मको बढ्दो प्रभावप्रति असन्तोष व्यक्त गदै नेपालीपन हराउँदै गएको उल्लेख गरे। उनले वर्तमान परिप्रेक्षमा राष्ट्रिय एकीकरण र नेपाली नेपालीबीचको मानसिकतामा समीकरणको आवश्यकता भएको तथ्यप्रति ध्यानाकर्षण गराउँदै भ्रातृत्व भावको संस्कृति हुकाउनु पर्ने कुरामा जोड दिए। उनको समन्वयवादी विचार यहाँका बुद्धिजीवीहरुमा चर्चाको विषय भएको छ।

३. केही वर्षदेखि यहाँ धार्मिक र जातीय सद्भाव खजमजिएको छ। एकको विरुद्धमा अकोर्ले प्रचार-प्रसार गर्ने गरेबाट समाज विखण्डनको अवस्थामा पुगेको छ। यही अवसर छोपेर विदेशीहरु धर्म, संस्कृति र सहयोगका नाममा नेपालमा आएर आफ्नो धर्म, संस्कृति र संस्कारहरु स्थापना गर्नमा तल्लीन छन्।

४. पञ्चायत कालमा एक भाषा, एक धर्मको नीति अंगालेर यहाँका जनजाति आदिवासीका धर्म, संस्कृति र भेषभूषालाई हतोत्साह गर्ने काम गरियो। आफ्नो जात, जाति, भाषा, धर्म, संस्कृतिका लागि काम गर्नेहरुलाई साम्प्रदायिक र विखण्डनकारी भनेर आरोप लगाइयो। गणतन्त्र आएपछि पनि सर्वस्वीकार्य भएको नेपाली राष्ट्रिय पोशाकलाई अपहेलना गरियो। एक पछि अर्को गरी आफ्नो पन छोड्दै विदेशीपन ल्याउन मानिसहरु तल्लीन भए।

५. धर्मका सम्बन्धमा पनि त्यस्तै भएको छ। नेपालमा जन्मेका भगवान बुद्ध र बुद्धले प्रतिपादन गरेको धर्मलाई पनि यहाँ वास्ता गरिएन। बुद्धको दर्शन शान्ति, मैत्री र अहिंसाको दर्शन हो। वास्तवमा भन्ने हो भने यो नेपाल र नेपालीको मौलिक दर्शन हो। बुद्ध धर्म र दर्शनको यति धेरै महत्व भएता पनि यसलाई धेरै नेपालीले आत्मसात गरेका छैनन्। यस्ता धेरै कुरा छन्।

६. नजिकको तीर्थ हेलाँ भने जस्तै बाहिर जानु र बाहिरका कुरा ल्याउनुलाई नै हामीले आफ्नो पुरुषार्थ सम्झ्यौं। विशेषता सम्झ्यौँ। हाम्रो यस्तै प्रवृत्तिले नेपाल र नेपालीको विशेषता लोप हुँदैछ। नेपालीपन हराउँदै गएको छ। यस्तो बेलामा सिर्जनशील लोकतान्त्रिक पोखराले आयोजना गरेको अन्तरक्रिया विशेष महत्वको छ र समसामयिक पनि छ।

७. वास्तवमा नै हामीले नेपालीपन जगेर्ना गर्नको लागि फेदैदेखि सोच्नु पर्दछ। वषौर्ं वषौर्देखि हामीले अपनाएका कुराहरु यसो हेर्दा हाम्रो जस्तो लाग्छन्। तिनीहरुप्रति हाम्रो आसक्ति छ। तर तिनीहरु हाम्रा हुन् कि होइनन्, खुट्याउनु पर्दछ। हाँसले दूध र पानी छुट्याएझैं छुट्याउन सक्नु पर्दछ। त्यसो बेलामा पूर्वाग्रह राख्नु पनि हुँदैन। राष्ट्र र राष्ट्रियतालाई एक मात्र मापदण्ड मानेर काम गर्न सक्नु पर्दछ।