हाम्रो राजनीतिमा समाजवाद

१.  नेपाली राजनीतिमा फेरि एक पटक समाजवाद शब्द सुनिन थालिएको छ। नयाँ संविधानमा समाजवाद शब्द उल्लेख गरिएको छ। संविधान अनुसार नेपाली समाज समाजवादतिर उन्मुख हुनुपर्दछ। राजनीति गर्नेहरुका लागि यो प्रिय शब्द पनि हो। त्यसैले राजनीतिक नेताहरुले आफ्नो भाषणमा समाजवादको प्रयोग धेरै गर्ने गर्दछन्।

२. समाजवादलाई अग्रगामी सोंच र चिन्तनको प्रतीकका रुपमा पनि लिने गर्दछन्। समाजवाद प्रगतिशीलताको परिचायक पनि हो। त्यसैले नेताहरुले आफूलाई प्रगतिशील र अग्रगामी सोंच भएको मनाउन आफ्नो भाषण र घोषणा पत्रहरुमा समाजवाद शब्द प्रयोग गर्ने गरेका छन्। खास गरेर कम्युनिष्ट र काँग्रेसको घोषणा पत्रमा यो शब्द झन धेरै प्रयोग भएको पाइन्छ।

३. एमाले र माओवादी गठबन्धनले चुनावमा स्पष्ट बहुमत प्राप्त गरे पछि र तिनीहरुका बीच सहमतिको कुरा गर्दा समाजवाद साझा शब्द भएको छ। अरु नीति र विचारमा तिनीहरुबीच विवाद भए पनि समाजवाद सम्बन्धमा विवाद छैन। समाजवाद तिनीहरु दुवैको साझा चौतारी भएको छ र यो साझा चौतारीमा बसेर तिनीहरुले अगाडिको योजना र कार्यक्रमको खाका तैयार गर्न सक्दछन्।

४. समाजवाद यत्ति प्यारो छ तापनि यस अनुसार सरकारमा बस्नेहरुले काम कुरा गरेका छैनन्। तिनीहरुले समाजवादलाई एउटा आदर्श व्यवस्थाको रुपमा लिने गरेका छन्। तर त्यतातिर जाने प्रयास गरेका छैनन्। तिनीहरुको त्यस्तो व्यवहारले गर्दा अरुले तिनीहरुलाई आलोचना गर्ने विषय पनि यही भएको छ।

५. समाजवाद काँग्रेसको लागि पनि प्यारो काँग्रेसले वी.पी.को पालादेखि नै समाजवाद भन्दै आएको हो। वी.पी. लाई प्रजातान्त्तिक समाजवादको प्रवर्तक पनि भनिन्छ। तर त्यो पार्टीले पनि वी.पी. पछि कहिल्यै समाजवादलाई व्यवहारमा प्रयोग गरेको देखिएन। त्यसका नेताहरुले दुःख पर्दा समाजवाद भनेर भन्ने गरेका छन्।

६. हेर्दा समाजवाद सबैको साझा शब्द जस्तै छ। तर यसको व्याख्या र विवेचनामा धेरै विवाद छ। नेपालमा मात्र होइन अन्य देशहरुमा पनि समाजवादलाई आ-आफ्नै किसिमले व्याख्या गरिएको पाइन्छ। देश, काल, परिस्थिति अनुसार यसलाई व्याख्या गर्ने भएकाले यो व्यवस्था यस्तै हो भनेर स्थूल आकारमा यसलाई देखाउने गरिएको छैन।

७. नेपालको संविधानमा समाजवाद उल्लेख गरिएको छ। त्यो उल्लेख गरिएकाले अब हाम्रो गमन लोकतान्त्रिक समाजवादतिर हुनुपर्दछ। यसमा विवाद छैन। तर समाजवादको व्याख्या के कसरी गर्ने र त्यसलाई व्यवहारमा के कसरी लागु गर्ने त्यो प्रष्ट छैन। त्यसको लागि पार्टीरुबीच विशद व्याख्या हुनुपर्दछ। अहिले सम्म समाजवादलाई अन्धाहरुले हात्ती छामेर हात्तीको आकार बताए झैं भएको छ। त्यस्तो नहोस्। समाजवादले मूर्तरुप पाओस्, यही हाम्रो आग्रह छ।