स्वामी रामानन्द ब्रह्मलीन भए

१. देवघाटस्थित महेश संस्कृत गुरुकुल विद्यापीठका संस्थापक डा. स्वामी रामानन्द गिरिजी महाराज काठमाडौंको शंकराचार्य मठमा ब्रह्मलीन भएका छन्। उनी केही समयदेखि निमोनियाबाट पीडित भएर उपचारको लागि ग्राण्डी अस्पतालमा भर्ना भएका थिए। उनी ७१ वर्षका थिए। उनको इच्छाअनुसार देवधाटमा जल समाधि गर्न त्यस तर्फ लगिएको थियो।

२. स्वामी रामानन्द गिरि बाल्यावस्थादेखि प्रतिभावान थिए। पढ्नमा कुशल मानिएका उनले २०४१ मा जनक दर्शन जस्तो गहन विषयमा पी.एच.डी गरेका थिए। पी.एच.डी. गरे पश्चात् २०४७ सालमा उनी सन्यासी भए। उनलाई १००८ स्वामी महामण्डलेश्वर महेशानन्द गिरीजी महाराजले सन्यासी बनाएका थिए। त्यहाँदेखि उनी निरन्तर त्यस क्षेत्रमा अगि बढ्दै रहे।

३. देवघाटमा पुगेपछि उनले त्यहाँ धेरै सुधार गरे। उनले त्यहाँ धार्मिक भावना जागृत गराए भने भौतिक सुधार पनि गरे। महेश संस्कृत गुरुकुल विद्यापीठको स्थापना गरेपछि उनको उचाईमा अरु वृद्धि भयो। उनको विद्यापीठमा कक्षा ६ देखि आचार्य (एम.ए.) सम्मको पर्ढाई हुन्छ। त्यहाँ करिब ३०० जति विद्यार्थी छन्। विद्यार्थीहरुलाई निःशुल्क आवास र भोजनको व्यवस्था छ।

४. उनले देवघाटको वातावरण नै परिवर्तन गरेका थिए। त्यहाँबाट उनको नाम पूर्व पश्चिम उत्तर दक्षिण फैलिँदै गएको थियो। सनातन धर्म तथा वेदान्त दर्शनका व्याख्याताका रुपमा उनले युरोप र अमेरिकासम्म पुगेर  वैदिक सभ्यता र वाङ्मयको व्याख्या गरेका थिए। उनको व्याख्यालाई मन्त्रमुग्ध भएर सुनिन्थ्यो।

५. उनी देवघाटको आश्रममा मात्र सीमित भएर रहेनन्। उनी बनेपा जाँदा सर्वसाधारणको मागअनुसार त्यहीँ आश्रम बनाए भने काठमाडौँका अनुयायीहरुका लागि काठमाडौंमा आश्रम बनाए। उनले कास्की जिल्लाको पुरुञ्चौर काउरेस्थित प्राचीन अम्वरेश्वर गुफा र त्यसको निकटवर्ती पश्चिम गोतामेथोकमा पनि आश्रम बनाएका छन्। पोखराको अन्य आश्रमहरुसँग पनि उनी सम्बन्धित छन्।

६. पोखरा उनको विशेष प्रभाव क्षेत्र हो। यहाँ उनको आगमन बराबर हुने गर्दथ्यो। पोखराको प्रख्यात विन्ध्यवासिनी मन्दिरमा उनले धेरै पटक प्रवचन गरेका थिए। उनले आफ्नो प्रवचनमा संस्कृत र संस्कृतिको रक्षार्थ सधैं आव्हान गर्ने गर्दथे। मानौँ उनको जीवन नै त्यसैका लागि भएको थियो।

७. उनी सरल र शिष्ट थिए। घमण्ड र अहंकार उनमा पटक्कै थिएन। सवैसँग प्रष्ट बोल्ने उनको प्रवृत्ति थियो। उनी उच्च्ा तहको सन्यासी भएर पनि साधा जीवनयापन गर्दथे। उनी वास्तवमा नै साधा जीवन उच्च विचारका थिए। देशमा धेरै राजनीतिक उथल पुथल भए। देश हिन्दू अधिराज्यबाट धर्मनिरपेक्ष भयो। तर ती परिवर्तनहरुले उनलाई स्र्पर्श गरेनन्। उनी ती सबैभन्दा माथि योग, वेदान्त र विद्वताको अभ्यासमा निरन्तर लागिरहे। उनको निधनबाट यस क्षेत्रमा ठूलो क्षति भएको छ।