स्वतन्त्र पत्रकार संघका मागहरु

१. स्वतन्त्र पत्रकार संघ, नेपालले सञ्चार क्षेत्रमा देखिएका विविध समस्याको निराकरणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। गत सोमवार संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी सो ध्यानाकर्षण गराएको हो।

२. प्रतिनिधि मण्डलले हालै पाल्पा तानसेनमा सम्पन्न संघको सातौँ वाषिर्क साधराण सभामा पारित सरकारसँग सम्बन्धित मागहरु उल्लेख गरी ज्ञापन-पत्र बुझाएको हो। ज्ञापनपत्रमा स्थानीय तहमा दिइने सरकारी विज्ञापनलाई स्थानीय पत्रपत्रिकाहरुलाई प्राथमिकता दिएर वितरण गर्न आग्रह गरिएको छ।

३. ज्ञापनपत्रमा श्रमजीवी पत्रकार ऐनको अक्षरशः पालना गर्न गराउन, पत्रकारहरुलाई स्वाभिमानपूर्वक बाँच्ने आधार तय गर्न, समानुपातिक विज्ञापन नीतिको तत्काल कार्यान्वयन गर्नका लागि जोडदार माग गरिएको छ। साथै लोक कल्याणकारी विज्ञापनको सुविधा रकम शतप्रतिशत वृद्धि गर्न पनि माग गरिएको छ।

४. ज्ञापनपत्रमा स्वतन्त्रपत्रकार संघका सांगठनिक गतिविधिहरुलाई जीवन्तता दिनका लागि मुलुकमा रहेका पत्रकारहरुको अन्य संघसंस्थाहरु सरह राज्यकोषबाट यस संघलाई सुविधा दिने काम गरियोस् भनेर पनि माग गरिएको छ। स्वतन्त्र पत्रकार संघले अझसम्म सरकारी सुविधा आदि केही पनि पाएको छैन।

५. नेपालमा पत्रकारहरु राजनीतिक पार्टीका भ्रातृ संगठनजस्तै गरी विभिन्न संघहरुमा विभाजित छन्। त्यसरी विभाजित पत्रकारहरुले पत्रकारहरुको मूल मर्म विपरीत आफू सम्बद्ध पार्टीर सिद्धान्त विशेषमा झुकाउ राखी समाचार सम्प्रेषण गर्ने गर्दछन्। उनीहरुले निष्पक्ष समाचार दिनमा कञ्जुस्याईँ गर्ने भएकाले कहिलेकाँही पाठकहरु अन्यौलग्रस्त हुने र अलमलिने गरेका छन्।

६. पत्रकार स्वतन्त्र हुनुपर्दछ भन्नेमा विवाद छैन। त्यो राजनीतिक नेताहरु र पत्रकारहरु सबैले भन्ने गर्दछन्। तर व्यवहारमा सबै राजनीतिक पार्टीरुले माझीले माछा मार्न पानीमा जाल फाले झैं आ-आफ्नो जालरुपी संस्था गठन गरेका छन् र पत्रकारहरु पनि त्यही संस्थामा आबद्ध हुन चाहन्छन्।

७. स्वतन्त्रता पत्रकारहरुको विशेषता हो। तर यो विशेषता कायम राख्न पत्रकारहरुलाई धौ-धौ भएको छ। तैपनि केही पत्रकारहरुले अनेक आकर्षण र प्रलोभनलाई परित्याग गरेर स्वतन्त्र पत्रकार संघमा आबद्ध भएका छन्। त्यो ठूलो कुरा हो। जिल्ला जिल्लामा स्वतन्त्र पत्रकारहरुको संख्या र संस्था बढ्दै छन्। यो प्रेरणाप्रद कुरा हो। त्यसरी प्रेरणा दिने सबैलाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। भविष्य स्वतन्त्र पत्रकारको हो भन्ने कुरामा हामी विश्वस्त गराउन चाहन्छौँ।