स्थापित पदमुक्त

१. तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित लामो समय आफ्नो पदमा स्थापित हुन सकेनन्। उनी करिब नौ महिनामै आफ्नो पदबाट विस्थापित भए। उनी २०७४ माघ २९ गते मन्त्री भएका थिए। उनी काठमाण्डौ निर्वाचन क्षेत्र नं. ६ (क) बाट नेकपा एमालेका प्रत्यासीका रुपमा प्रदेश सभामा निर्वाचित भएका थिए।

२. उनले प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेललाई अभद्र व्यवहार गरेको आरोपमा मुख्यमन्त्री पौडेलले उनलाई पदबाट हटाएका हुन्। मुख्यमन्त्री पौडेलले उनलाई पद अनुसारको आचरण नगरेको तथा मन्त्रीको हैसियतमा राम्ररी काम गर्न नसकेको आरोप लगाएका छन्। उनले त्यसरी हटाउनु पूर्व आफ्ना पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री के.पी. ओलीसँग पनि परामर्श गरेका थिए।

३. केशव स्थापित कुनै बेला काठमाण्डौ महानगरपालिकाका मेयर पनि बनेका थिए। काठमाण्डौको मेयर भएको बेला केही उल्लेखनीय काम गरेर उनी चर्चामा पनि आएका थिए। उनले त्यसबेला जनताको पक्षमा निर्णयहरु गरी लोकप्रियता पनि कमाएका थिए।

४. त्यसपछि केशव स्थापितलाई आफ्नो पार्टीका ल्याउन नेताहरुले प्रयास पनि गरेका थिए। त्यसबेला उनको भाउ बढेको थियो। उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि काठमाण्डौको मेयर बनाएका थिए। उनले केही पार्टीका आउने जाने पनि गरे। पछिल्लो पटक उनी एमालेमा रहेर चुनाव लडेका थिए।

५. केशव स्थापित जानेका बुझेका र विकल्प दिन सक्ने व्यक्तिका रुपमा पनि चर्चित छन्। तिनै कुराहरुलाई मनन गरेर प्रदेशका मुख्यमन्त्री पौडेलले उनलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका थिए। उनको मन्त्रालयलाई सर्वाधिक धेरै बजेट प्रत्यायोजन पनि गरेका थिए। तर त्यहाँ उनले खास काम गर्न नसकेको आरोप मुख्य मन्त्रीको छ।

६. उनको र मुख्यमन्त्री पौडेलको बीच विवाद बढ्दै गएको बेला अहिले विश्वव्यापी फैलिएको मी टु अभियान अन्तर्गत केही महिलाहरुले उनी मेयर भएको बेला आफूमाथि यौन दुर्र्व्यवहार गरेको आरोप पनि लगाएका छन्। उनी नेपालमा त्यसरी आरोपित पहिलो व्यक्ति हुन्। केही देशमा त्यसरी आरोपित धेरैले पद गुमाएका छन्।

७. आम निर्वाचन पश्चात संघीय सरकार बन्यो। सातै प्रदेश सरकार गठन भएका छन्। त्यस्तो सरकारबाट पहिलो पटक पदमुक्त भएका व्यक्ति उनी भएका छन्। यसले उनको राजनीतिक भविष्य माथि पनि प्रभाव पार्ने सम्भावना छ। त्यो जे भए पनि पदमुक्त हुनु पनि उनको लागि ठूलो सजायँ भएको छ।